२१ चैत्र २०८१, बिहिबार | Fri Apr 4 2025


त्रासको घुम्टो


0
Shares

-रिश्मा थापा

मनमा कुरा खेल्दै थिए । भेट्ने वित्तिकै के भनुँ अनि के ,बोलुँ ? नमस्कार सुवास जी भनुँ कि हाइ ? बडो दोधारमा परेँ ।
सुवास चैं मेरो मङ्गेतर….
हिजो मात्रै हाम्रो विहेको कुरा छिनिएको ..

उसकै विशेष अनुरोधमा  घर देखि अलिक परको रेष्टुरेन्टमा कफिका लागि जाँदै थिए । चर्को घाम लागिरहेको थियो । छाता ओढेर बाटोको किनारै किनार हिंडीरहेकी थिए । त्यहीँ बेला अगाडिबाट एउटा माइक्रो बत्तिएर आयो । हुईकिएर मेरो छेउबाटै अगाडि बढ्यो । गाडिको वेगले मैले ओढेको छाता उडाइदियो …झण्डै मैलाई उडाको …. खै कसोकसो छेलिए । सात्तै गयो नी । कम्तीमा दश पटक त आमालाइ सम्झिदैं आम्मानी भने हुँला…अनि पटक पटक राम राम….

वेगले आएको माइक्रो अलिक अगाडि गएर रोकियो । परिचालक पनि झरे ,ओइ दिदी मर्ने मन छ ? उनले कडा स्वरले भने ।
मलाई ठिक छ की छैन, भनेर सोध्न आएका होलान् भन्ठानेकी थिए तर उनको त्यो आक्रामक रुप र स्वरले मलाई पनि झनक्क रिस उठ्यो अनि भन्दिए, ‘यो लाउँला खाउँला भन्ने उमेरमा मलाई मर्न मन छैन भाई, बरु तिम्लाई चै मार्न मन छ ,की क्या हो ? ’
मैले पनि भाइ भन्दिए ..
तर त्यो भाई म भन्दा दोब्बर उमेरको जस्तो देखिन्थ्यो ।

ती भाइले अरु के के भन्दै थिए खासै बुझिन । बुझ्ने चेष्टा पनि गरिन मैले । आफ्नो होस ठाउँमा थिएन । चिट्चिट पसिना आएको थियो । आम्मा कककक .. राम राम कककक शब्द त मेरो ओठमै झुण्डिएको थियो ।
त्यत्तिकैमा ड्राइभर दाई चिच्याए , ए कान्छा आइज, अर्कोले उछिन्छ फेरी । परिचालक भाइ पनि दौडिएर जाउँ जाउँ गुरुजी भन्दै गाडिको ढोका बजाउन थाले  ।
म त थ्याच्च बसें । अहो ! झण्डै बाँचियो । यदि मलाई केही भैदिएको भए !

मसँग जीवन विताउँछु भनेर सोचेको सुवासको हालत के हुन्थ्यो होला । जो अहिले कफिका लागि मलाई रेष्टुरेन्टमा कुरिरहेको छ । आमा त बाँचुञ्जेल अर्धचेत अवस्थामा मै हुन्थिन् होला । तिहारमा दाइको निधार खालि हुन्थ्यो अनि मखमलि यत्तिकै ओइलिएर सुक्थ्यो ।

धन्यवाद भगवान् यो जीवन दानको लागि । कसम पटक पटक भगवान्लाई सम्झिए अनि गन्तव्य तिर लम्किए ।
यो घटनाले केही दिन अगाडिको अर्को घटनाको याद दिलाई दियो
 मेरी साथि मीरा हतारिदै मेरो घरमा आइकी थिई । उसलाई देखेर म त छक्क परे । अनुहार र कपडा त कालै ।  अनि कपडा भरी हिलैहिलो  ।
हाँस्दै भने – “ओई रोपाँईबाटै सिधै यता आइस कि क्याहो ? ”

बिचरा खाँटि कुरो त अर्कै पो रहेछ । नौ बजे तिर चिटिक्क परेर कार्यालयका लागि हिडेकी रहिछ ऊ । सेतो सर्ट र कालो स्कर्टमा । आधी बाटो नपुग्दै उसलाई त बसको धुँवाले गर्नु गरेछ । उकालो बाटोमा पुरानो बसले निकालेको कालो धुँवाले मेरी साथीको रङ्ग नै बदलिएछ । त्यसै माथि हुइकिएर आएको अर्को बसले नजिकैको खाल्डोको पानी छ्यापि दिएछ ।
हतारमै थिई मीरा । छिटो छिटो कपडा फेरेर ऊ कार्यालयका लागि हिंडि ।

मैले मनमनै सोचेँ ‘होइन यी गाडिवालाहरुको के हो के चाला ? ’ बाटोमा हिड्दै गरेका मान्छेलाई त मान्छे नमान्ने !
यो घटना सम्झिदै गर्दा म रेष्टुरेन्ट नजिकै पुगि सकेकी थिए ।

न मन स्थिर थियो न त शान्त नै थियो । केही बेर सम्मको आवेग पछि , ममा ती गाडि चालकप्रति केही सद्भाव पनि जागेर आयो धन्य , मलाई मारेनौ ।  हुन त अनेक किसिमबाट मान्छेलाई ठक्कर दिएर र किचेर मारेका अनेकौं घटना सुन्दै र देख्दै पनि आएकी थिए ।

परश्न गर्न मन लाग्यो ती गाडि चालकलाई , किन तिमीले यमराजको जस्तो वितण्डा सडकमा मच्याइरहन्छौ ? किन बारम्बार मान्छेको ज्यान लिन्छौ ? किन अङ्गभङ्ग गरिदिन्छौ ? यमराज भएर सडकमा निस्कन्छौ, नियम तोड्दै आतंक मच्चाउछौ अनि काल भएर सर्वसाधारणको जीवनमा अपूर्णनीय क्षति पुर्‍याउँछौ किन?

के तिमीहरुलाइ कानुन लाग्दैन ? के तिमीहरुले जे गरे पनि हुन्छ ? तिमीहरुको कुनै सामाजिक सम्मान र दायित्व छैन ? कानुनको सामान्य ज्ञान पनि छैन या मानवीय समवेदना ?  
उत्ताउला  चालक माथिका घृणाभावका प्रश्नले घेरिएर म त्रासको घुम्टोमा आजसम्म बेरिएकी छु ।