१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


स्वीडेनलाई हराउँदै इटाली नकआउट चरणमा


0
Shares

काठमाडौं, असार ४ । स्वीडेनमाथि कठीन जित निकाल्दै इटाली फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा इटालीले स्वीडेनलाई १–० ले हराएको हो । जितसँगै इटाली समूह चरणको एक खेलअघि नै अन्तिम १६ मा प्रवेश गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको ८८औं मिनेटमा इडरले गरेको गोल नै इटालीको जितमा निर्णायक बन्यो ।

यो जितसँगै इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेले अपराजित यात्रालाई १२ खेलसम्म पुर्‍याएका छन् ।

समूह ‘इ’को खेलमा पहिलो चरणमा इटालीले बेल्जियमलाई २–० ले हराएको थियो ।

इटालीसँग पराजित भए पनि पहिलो खेलमा आयरल्यान्डसँग १–१ को बराबरीमा चित्त बुझाएको स्वीडेनले अर्को चरण प्रवेशको सम्भावना भने कायमै राखेको छ । यो समूहमा अंकविहीन बेल्जियम पुछारमा छ ।