९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विराटनगरका चर्चित तीनजना डाक्टर पक्राउ


0
Shares

मोरङ, असार ३ । विराटनगरका र्चिचत तीनजना चिकित्सकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफगार्ड अस्पतालका वरिष्ठ चिकित्सककोरुपमा काम गर्ने डा. जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत् डा. सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत् डा. अब्दुल कलाम हक रहेका छन् ।

मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले विराटनगरका तीनजना चिकित्सकलाई शुक्रबार पक्राउ गरिएको पुष्टि गरे ।

उनले भने–‘सीआइबीको विशेष टोलीले आज उनीहरुलाई अस्पतालबाटै पक्राउ गरेको हो ।’

माथिको निर्देशनअनुसार पक्राउ गरिएकाले कारण थाहा नभएको प्रहरी प्रमुख एसपी भण्डारीले बताए ।

‘हाल तीनैजना चिकित्सकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । सम्भवतः उनीहरुलाई शनिबार नै काठमाडौं लैजाने तयारी हुँदैछ’–भण्डारीले भने ।

प्रहरीले चिकित्सकलाई पक्राउको कारण खुलस्त नखुलाए पनि तीनैजना चिकित्सकको नक्कली शैक्षिक प्रमाणपत्र रहेको बताइएकाले पक्राउ गरिएको अनुमान गरिएको छ ।

उनीहरुलाई काठमाडौं लगी अनुसन्धान गरेपछि थप कुरा खुल्ने र प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारीसमेत गरेको छ । रासस