
काठमाडौं, असार ३ । भूकम्प पीडितलाई ‘जापान पठाइदिन्छु’ भनी ठगी गर्ने दुईजनालाई काठमाडौंको न्यूरोडबाट महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जापानी नागरिक हिरोसी मोरिकवा र काठमाडौं महानगरपालिका–२ लाजिम्पाट बस्ने बज्र गुरुङ छन् ।
उनीहरुले जापानमा पासोना नामको मल्टिनेसनल कम्पनीको मेनेजर आफ्नो विगत ४५ वर्षदेखिको साथी भएकाले रु आठ लाखमा जापान पठाउने र प्रतिमहिना रु तीनदेखि चार लाख कमाइ हुने भनी गोरखा घर भएका जनकराज ढकाललगायत १२ जनाबाट रु ११ लाख ३० हजार लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मोरिकवाले आफूलाई जापानी नागरिक बताउने तर साथमा राहदानी नभएको, उनले डि–इम्यानुअल कन्सल्टेन्सीको सीइओ तथा जापान फ्युचर सिटी इनिसिएटिभको प्रतिनिधिको आइडी कार्ड बनाइ काम गर्ने गरेको र गुरुङले उक्त कन्सल्टेन्सीको ‘डाइरेक्टर हुँ’ भनी बताउँदै भूकम्पपीडितलाई भूकम्पप्रतिरोधी घर बनाइदिने भनी दोलखाको सिंगटीमा भूकम्पप्रतिरोधी घर निर्माण गर्ने तालिम सन्चालन गरेको खुल्न आएको छ ।
तालिम सम्पन्न पश्चात सजिलो गरी जापान जान सकिने भन्दै विभिन्न पीडितसँग उनीहरुले ठूलो मात्रामा रकम लिएको हुनसक्ने देखिएकाले थप अनुसन्धानकार्य जारी रहेको महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्