
अनिल तिवारी (इमेज)
वीरगन्ज, असार ३ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले वीरगन्जका आठजना चिकित्सकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने चिकित्सकहरुमा कुशराज गिरी, सरोज सिंह, पन्नालाल पटेल, अरुणकुमार गुप्ता, दिनेश साह, रहुल्लाह खान, इरसाद उल्हक र निमेषरमण पाल छन् ।
काठमाडौंबाटै आएको सीआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको पक्राउको कारणबारे प्रहरीले केही खुलाएको छैन ।
तर, नक्कली सर्टिफिकेटककै कारण उनीहरुलाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
पक्राउ परेका चिकित्सकहरुलाई लैजाने तयारी भइरहेको पनि बुझिएको छ । चिकित्सकहरु पक्राउ परेको विरोधमा वीरगन्जस्थित सबैजसो अस्पतालमा शुक्रबार ओपीडी सेवा बन्द गरिएको छ ।
उनीहरुलाई वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेज र विभिन्न नर्सिङ होमबाट शुक्रबार बिहान पक्राउ गरिएको हो ।
आक्रोशित चिकित्सकहरुले तत्काल यसबारे चित्तबुझ्दो जवाफ नआए शुक्रबारैदेखि आकस्मिक सेवा पनि बन्द गर्ने चेतावनी दिएका छन् ।
यता, चितवनका प्रहरी प्रमुख एसपी राजबाबु श्रेष्ठले भने आफूलाई कुनै जानकारी नदिएर केन्द्रबाट आएको टोलीले यो कारबाही चलाएको हुनाले यसबारे केही प्रतिक्रिया दिन नसकिने बताए ।
पक्राउ परेका चिकित्सकहरु नेपालकै मान्यताप्राप्त शिक्षण संस्थाबाट उत्तीर्ण भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्