७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


भट्टराईको युद्ध अपराध नयाँ शक्तिले पखाल्छ


0
Shares

-हरिविनोद अधिकारी

तत्कालीन नेकपा माओबादीका एक भाष्यकार तथा रक्तरञ्जित १० बर्षे जनयुद्धका एक होनहार इन्जिनियर डाक्टर बाबुराम भट्टराईको संयोजकत्वमा नयाँ शक्ति पार्टीको उदय भएको छ जेठ ३० गते । साइत पनि गजबको जुराएर घोषणा गरिएको छ पूर्व निरङ्कुश राजा महेन्द्रको जन्म जयन्ती पारेर । स्मरणीय रहोस् पूर्व राजा महेन्द्रको जन्म विक्रम सम्वत १९७७ साल जेठ ३० गते भएको थियो । २०७२ साल असोजमा अवधारणामा आएको र धेरै लामो समयको सांगठनिक तयारी पछि घोषणा गर्नका लागि नै यो दिन रोजिएको थियो । नेपाली राजनीतिमा काँग्रेसबाहेक अरु राजनीतिका खेलाडीहरुलाई नेपाली राजनीतिमा पहिचान बनाउनका लागि राजा महेन्द्रको योगदान थियो भन्ने कुरा जगजाहेर छ । जसलाई बीपीले कमरेड अदितले इन्डोनेसियामा गरेको जस्तो अडिट फर्मुला भनी नामाकरण गर्नु भएको थियो । कम्युनिज्म कार चढेर आउँदैन भन्दै राजा महेन्द्रले  कम्युनिस्टहरुलाई पञ्चायतको खोलभित्र लुकाएर कम्युनिस्टको संगठन गराएका थिए । तिनै राजा महेन्द्रको जन्मदिन पारेर नयाँ शक्ति पार्टीको उदय भएको छ औपचारिक रुपमा दशरथ रङ्गशालाबाट ।

नयाँ शक्ति पार्टीको जन्म बढो तामझामका साथ गरियो । कसैको वारेमा सुरुमै नकारात्मक टिप्पणी गर्नु जरुरी छैन । बहुलवादी समाजमा गतिशीलताको नाम नै नयाँ नयाँ दलहरुको ,विचारहरुको उत्पती हो र तिनको सेवाले समाजको सेवा हुनु हो । दूर अतीतमा रक्तरञ्जित तरबारका धनी सम्राट अशोकले पनि घोर पश्चाताप पश्चात् बुद्धको काखमा भावनात्मक शरण लिएका थिए र झन्डै झन्डै जोगीको रुपमा समाजमा मान्यता पाएका थिए । नेपालमा आएर अशोक स्तम्भ पनि बनाएका थिए । त्यसो हुनुमा उनको हिँसाप्रतिको विमोह थियो । हिँसालाई राजनीतिमा राजाले सीमा बढाउनका लागि पनि प्रयोग गर्दथे र उनले त्यही गरेका थिए र पनि उनमा हिँसाप्रतिको विमोहले नयाँ समन्वयको राजनीति भारत बर्षमा फैलिएको थियो । त्यो पश्चातापको तापले सेकिएको थियो र उनमा बुद्धत्वको ज्योतिले निस्पृहता जागेको थियो । सांसारिक मोहबाट विमुक्ति उनको चाहना थियो । त्यसैले उनमा आएको पश्चातापलाई आज पनि संसारले गर्वसाथ उदाहरणीय मानेको छ । नयाँ शक्ति पार्टीको बाबुराम प्रभुतिको पश्चातापको स्तर बकुल्लोले खुट्टा उचालेर समुद्रमा तपस्या गरे जस्तै हो कि साँच्चै नयाँ सोचको उदय हो, बिस्तारै थाहा होला तर जुन संकेत सुरुमै देखियो , त्यसले भने नयाँ विचारभन्दा पनि प्रचण्डलाई देखाउनका लागि नयाँ स्वरुपको नकाब चढाएको जस्तोमात्र देखियो ।

देशमा प्रजातन्त्र पुनस्र्थापना भएकै थियो र मुलुक सामाजिक न्यायप्रति समर्पित हुनका लागि बामे सर्दै थियो । अनि बाबुरामसहितका तत्कालीन क्रान्तिकारीले प्राप्त प्रजातन्त्रका विरुद्ध धाबा बोले , धाबामात्र बोलेनन्, मुलुकलाई पचास वर्ष पछि धकेले । अहिले २५ वर्षमा मुलुकको मुहार फेर्ने कुरा आएको छ । अहिले हिजोको नाहकमा नेपालीहरुको हत्यामा पश्चाताप गरेको पाइँदैन् । करोडौँको नोक्सानी गरेकोमा पश्चाताप पाइँदैन् । लाखौँ अपाङ्ग भएकोमा कुनै क्षमा मागेको देखिँदैन् । अर्बौँको क्षतिमा कुनै क्षतिपूर्तिको कुरा पाइँदैन् । बरु तत्काल सरकारमा जानका लागि जस्तोसुकै रणनीति अपनाउन तयार रहेको देखिन्छ ।  आगामी निर्वाचनमा नै सरकारमा आउने वैकल्पिक शक्तिको रुपमा उभ्याउन सकिने आकांक्षा समेटिएको पाइन्छ तर त्यसका लागि कुनै ठोस आधार देखिँदैन् । निरासामा खेलेर नयाँ वैकल्पिक शक्तिको रुपमा उदाउने महत्वाकाँक्षा पलाएको छ र त्यसका लागि रणनीत अपाउन सकिने आभार पाइन्छ । किनभने यस दलमा हिजोका कतिपय युद्ध अपराधी, बदमासहरुको बाहुल्यता छ, हाली मुहाली छ ।

पश्चातापबाट खारिएको राजनीतिले नयाँ स्वरुप देखाएर नयाँ वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा आफूलाई उभ्याउन सके नेपालका लागि गुन नै हुने थियो । तर सुरुको तामझाम र संगठित पात्रहरुको परिचय देख्दा के हुने हो अहिले नै भन्न सकिने अवस्था छैन । तर शब्दमा किन कन्जुस्याँई गरौँ, नयाँ माओबादीको अवतार नबनोस् । झन्डाको स्वरुप र मिठा मिठा कुराले झझल्को त त्यही दिन्छ , होइन र ? जे होस् नयाँ दलले नेपाली समाजमा तामझामका साथ पदार्पण गरेकोमा स्वागत गर्नैपर्छ । कम्तीमा पनि माओबादीको हिजोका गल्तीहरुलाई हामीले भन्दा नयाँ शक्तिले नै स्पष्ट पारोस् ।

तत्कालको विवेचनाले के स्पष्ट हुन्छ भने नयाँ शक्तिले पहिलो निसाना भनेको माओबादी केन्द्रलाई नै ताकेको छ । त्यसपछि राजनीतिमा बहुलवादी सोचका कारणले र लोकतान्त्रिक प्रक्रियालाई अपनाउने मिठो बोलीले एमालेलाई नै विस्थापित गर्ने लक्ष्य देखिन्छ जबकि भित्री डरलाई पचाउँदा पचाउँदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेबाहेकलाई धक्का दिने उद्घोष गरेका थिए । खासगरी नयाँ शक्तिले नेपाली काँग्रेसलाई भने कुनै असर पार्ने छैन तर मधेस केन्द्रित दलहरुलाई यसले प्रत्यक्ष असर पार्ने छ किनभने नयाँ शक्तिले मधेसमा आफ्नो पकड बलियो बनाउने सम्भावना देखिन्छ । प्रजातन्त्रवादीहरुको न्यून उपस्थितिका कारणले वैकल्पिक प्रजातान्त्रिक शक्तिभन्दा वाम शक्तिको रुपमा उदाउन सक्ने सम्भावनलाई नै उल्टो र पालिसे भाषामा ओलीले आफ्नो त्रासलाई देखाउने जमर्को गरेको कुरा बुझ्न सकिन्छ ।

बडो तामझामका साथ नेपाली समाजमा प्रवेश गरेकाले धेरै खाले टिका टिप्पणी भए पनि एमाले र माओबादी केन्द्रका लागि विस्थापित गर्ने लक्ष्यसाथ आएको नयाँ शक्ति नेपाल भन्ने दल आगामी दिनमा वामशक्तिकै रुपमा एउटा चुनौती हुन पनि सक्छ तर सुरुका क्रियाकलापले भने आपसी अन्तर संघर्षको रापमा पिल्सिन सक्ने पनि अनुमान गर्न थालिएको छ । हेगमा उभिनका लागि मानसिकरुपमा तयार हुनुपर्ने र युद्ध अपराधीका रुपमा उभिनु पर्नेहरुको ठूलो जमातले नयाँ शक्तिको रुपमा देखिनु पनि ठूलै साहस हो भन्ने पर्यवेक्षकहरु पनि छन् ।