८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


५० जना मारिने गरी ओर्ल्यान्डोको रात्रि क्लबमा ‘आक्रमण गर्ने’ को हुन् उमर मतिन ?


0
Shares

काठमाडौं, जेठ ३१ । संयुक्तराज्य अमेरिकाको ओर्ल्यान्डोस्थित पुरुष समलिंगी रात्रि क्लबमा ५० जना मारिने गरी भएको आक्रमण गर्ने संदिग्ध आक्रमणकारी अफगान मुलका अमेरिकी नागरिक उमर मतिन हुन् ।

न्यूयोर्कमा जन्मिएका २९ वर्षीय मतिन ओर्ल्यान्डोको दक्षिणी सेन्ट लुसी काउन्टीको फोर्ट पियर्समा बसोबास गर्थे ।

‘एफबीआइ’का प्रवक्ताले मतिन कट्टरपन्थी इस्लामिक विचारधाराबाट प्रभावित भएको हुनसक्ने बताएका छन् ।

तर, यो आक्रमण घरेलु या अन्तर्राष्ट्रिय आतंकवादसँग सम्बन्धित विषय के थियो भन्ने स्पस्ट भैसकेको छैन ।

एफबीआइले उमर मतिनले आक्रमणअघि इमरर्जेन्सी नम्बर ९१९ मा फोन गरेका थिए भने ‘आइएस’ समूहसँग पनि कुरा गरेको पुष्टि भएको छ ।

पछिल्ला तीन वर्षमा एफबीआइले सम्भावित आतंकवादीसँग सम्पर्क रहेको आशंकामा उनीसँग तीनपटक सोधपुछ गरेको थियो ।

यसक्रममा सिरियामा सन् २०१४ मा भएको आत्मघाती आक्रमणमा संलग्न अमेरिकी नागरिकसँग साँठगाँठ रहेको आशंकामा उनलाई सोधपुछ गरिएको थियो ।

मतिनका बाबु मीर सादिकले आक्रमणको धर्मसँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

मतिनकी पूर्वपत्नीले भने उनी मानसिकरुपमा अस्थीर भएको बताएकी छन् ।

मतिनले फ्लोरिडाको संघीय संरचनाहरुमा सुरक्षा दिने ब्रिटिस बहुराष्ट्रिय कम्पनीमा सुरक्षा गार्डकोरुपमा काम गरेका थिए ।

उक्त रात्रि क्लबमा पसेर आइतबार बिहान उमर मतिनले अन्धाधुन्द गोली प्रहार गर्दा ५० जनाको मृत्यु भएको थियो । घटनामा ५३ जना घाइते भएका छन् ।

मतिन पनि प्रहरीको जवाफी कारबाहीमा मारिएका थिए । (एजेन्सी)