
-रिश्मा थापा
उकालो उकालो बाटो थियो । समय त ठ्याक्कै ठम्याउन सकिन । सिमसिमे पानीले भिजाइरहेको अनुभूति गरिरहेकी थिए । म बाबालाई अँगालो मारेर रोइरहेकी थिए । ताकी उँहासँगको साथ नछुटोस् । बाबाले पनि मेरो टाउकोमा हात राखेर मुसारिरहनु भएको थियो । त्यो सुम्सुम्याइ मार्फत आशिर्वाद वर्षीरहेको मैले महशुस गरिरहेकी थिए । अनि उँहाको काखमा बसेर आँशु बगाउँदा लागिरहेको थियो की हरेक दुःख आँशुसँगै बगिरहेका छन अनि विलिन पनि हुने क्रममा छन् । हामी बिचमा कुनै सम्वाद थिएन तर अनुभूति थुप्रै थिए ।
केही समयमै बाबाले मेरो हातमा समाउँदै मुसुस्क मुस्काउनु भो म पनि मुस्काउन लाग्दै थिए बाबा विलिन हुनुभो । एक्लो महसुस गरे । बाटैमा चिच्याइ चिच्याइ रोइरहे … रोइरहे …
मोबाइलमा अर्लाम बज्यो… झसङ्ग ब्युझिँएछु । सिरानी आँशुले भिजेको अनि शरिर चाँही पसिनाले । न म त्यो बेला सडकमा थिए न यता उता बाबा नै …
ओ माई गड सपना पो रहेछ …..
छटपटी भए जस्तोे भयो । जुरुक्क उठेर आँगनमा पुगे । सिरसिर बतास चलिरहेको थियो । अकस्मात मेरा आँखा आकाशको जुन र तारामा पुगे । जून र ताराका बिचमा त्यत्ति धेरै दुरी त थिएन तर पनि एक अर्कालाई भेट्न सकिरहेका थिएनन् । बादलले ढाक्दै गरेको जून त्यसको नजिकै रहेको मधुरो तारा । मात्रै हेरिरहेका थिए ।
धेरै बेर तिनै जून तारा हेरेर टोलाइरहे । खोइ किन मैले त्यो तारामा आफूलाई र जूनमा बाबाको प्रतिबिम्ब देखे । दुवै एक अर्कालाइ भेट्न आतुर छन तर सकिरहेका छैनन् । छोरीले आफ्नो सफलता बाबालाई सुनाउन पाइरहेकी छैन अनि बाबाले सफलतामा स्यावास र बधाई दिन सकिरहेका छैनन् । असफलताको समयमा छोरी मुस्कान सहितको सहानुभूती चाहान्छे तर बाबुले सुमसुम्याउदै सहि मार्ग दर्शन दिन सकिरहेका छैनन् । सुख ,दुःख, हाँसो र रोदन सँगै बसेर बाड्न सकिरहेका छैनन् ।
टाढैबाट जूनले तारालाई शितलता दिन खोजीरहेको छ तर ताराले त्यो शितलतामा मात्र मन बुझाउन सकिरहेको छैन, सामिप्यताको अभाव महसुस गरीरहेको छ । केवल मलिन मुद्रामा टाढैबाट हेरिरहेका छन मात्र हेरिरहेका छन् एक अर्कालाई ।
बाबा र म जस्तै ….
यत्तिकैमा मोबाइलमा घण्टी बज्यो …. हेलो… अफिस जानु पर्छ उठ…
मन नलागि नलागि कार्यालयका लागि तयार भएँ । कार्यालय जाँदै गर्दा आकाश तिर हेरेँ । त्यी जून र तारालाइ देखिन । सायद फेरी भेट्ने आशामा कतै गएका होलान् । विगतमा फर्किएछु । मेरो चुलबुले बानी, चुलबुल भन्दा धेरै बोल्ने बानी, जिद्धि, भनेको हुनै पर्ने , नभए रिसाइ दिए पुग्ने , कहिले तल्लो घर कहिले माथिल्लो घर ।
कोटको गोजीबाट सुटुक्क पैसा चोर्दा पनि नदेखे झैँ गरिदिने, पसलबाट कपि चोरेर त्यसका हरेक पन्नाको गुराँस किन्दा पनि नरिसाइदिने ,किशोरावस्थामा पुग्न लागेकी छोरीले घोडा बनाएर हट हट घोडा भन्दै हिडाउँदा पनि नझर्किने हजुरको बानी..
बाबा यी सबै कुरा सम्झिदा घरीघरी म निशब्द हुँन्छ अनि भक्कानिन्छु ।
थाहा छ बाबा जब घरमा पुग्छु रातो रङ्ग विनाको पहिरनमा आमालाई देख्छु । झन धेरै हजुरलाई मिस गर्छु । मेरो भन्दा पनि आमाको अनुहारमा हजुरको अभाव खड्किएको देख्छु ।एक दिन आँट गरेर आमालाई मुखै फोरेर भने , आमा रातो पहिरन लगाउनुस न , चुरा र पोते लगाउनुस न , हजुरको मुहारको चमक हरायो, घर अध्याँरो भयो । यस्तो पुरानो परम्परामा किन अड्कीनु भएको ? जमना कहाँबाट कहाँ पुगिसक्यो….
मैले त्यति भन्दै गर्दा आमाका आँखा रसाइसकेका थिए । ओठ कपाउदै आमाले भन्नु भयो , के सम्झेकी काली तैले ? समाजको डरले गर्दा मैले रातो पहिरन नलगाएकी हुँ ?
म त अवाक् भए ..
नजिकैको सन्दुक ( काठको बाकस) देखाउँदै आमाले भन्नु भयो , यी तिम्रा बाबाले तीजको छेको पारेर ल्याइदिएका रातो सारी, चुरा र पोते । म यी लगाएर फटाल्न चाहान्न । मैले हतारमै भने अरे आमा यी फाटे अरु नयाँ आइहाल्छन । आखिर राखेर के गर्नु हुन्छ ?
उहाँले थप्दै जानु भयो , बजारमा महङ्गा र धेरै राम्रा सारी होलान् तर ती सारी र फुलबुट्टे चोलीमा तिम्रो बाबाको माया र स्पर्ष छैनन् । ती त केवल कपडा मात्र हुनेछन् । केवल कपडा त म अहिले पनि दिनहुँ पहिरीरहेकी छु । त्यसैले त मेरो मुहारमा चमक छैन होला । तर म उहाँका स्पर्षले भरीएका मेरा रंगिन चोली र सारीलाई सम्हालेर राख्न चाहान्छु । म बाचुञ्जेलसम्म …
आमाका यी कुरा सुन्दा हजुरहरुको प्रेम र आमाको समर्पणलाई मनै मनले सलाम गरिरहेकी थिए । थाहा छ बाबा , हजुरहरु दुबैको भूमीका निभाउन आमाले कुनै कसरत बाँकी राख्नु भएकै छैन तर पनि हजुरको अभाव खड्किन्छ । हजुरको झुसे दाह्री यी कोमल गालामा दलेर रुवाएको , आमाले गाली गर्दा हजुरसँग कुरा लगाइदिएको, पसिनाको बासना आउने हजुरको कोट सिरानी बनाएको, बजारबाट आउँदा सुकावाला चक्लेट ल्याइदिएको सम्झिएर घरीघरी भावविवह्ल हुन्छु ।
बाबा हजुरको प्राण मेरो काखमै गएको थियो । त्यो बेला राम्ररी बुझेकी थिए की मान्छेले जन्मसँगै मृत्यु पनि लिएर आएको हुन्छ । तर यो सब जान्दाजान्दै पनि मन सम्हाल्न सक्दिन । लाग्छ अझ बालखैमा अभिभावक गुमाएका ती सानासाना नानीबाबुलाई झन् मायाको अभाव कति खड्कीदो हो । जसले आमाबाबुको मायाको अनुभूती नै गर्न पाएनन् । यत्तिकैमा नजिकै आएको मोटरसाइकले टिटिट गर्दै हर्न बजायो ।झस्किए अहो.. कार्यालय नजिकै पो आइपुगिछु ।
प्रतिक्रिया दिनुहोस्