
वाई.पि. आचार्य-
नेपालमा अहिले नयाँ शैक्षिकसत्र अन्तर्गत विद्यालय भर्ना अभियान सकिएको छ । यो प्रत्येक बर्ष चल्छ । यस अभियानमा राज्यले आम सञ्चारका साधनलाई प्रचारको माध्यम बनाउँछ र शिक्षक, कर्मचारीलाई खटाउँछ । सामुदायिक विद्यालयले भर्ना खुल्यो है भनेर कानमा तेल हालेर बस्छन् । संस्थागत विद्यालयहरु एउटै विद्यार्थीका लागि हानथाप, तानातान र लुछाचुँडी गर्छन् । यिनीहरु हदैसम्मको प्रलोभन देखाउन पछि पर्दैनन् । लाग्छ, त्यो या त हाटबजार हो वा बसपार्क, जहाँ ग्राहक र यात्रु तान्न मरिहत्ते गरेका छन् । यिनीहरु पैसावालसँग आकर्षित हुन्छन्, पैसा नहुनेलाई तान्ने कुनै चुम्बक यिनीहरुसँग छैन ।
आगामी असारदेखि सबैका लागि शिक्षा कार्यक्रम (२०००–२०१५) समाप्त हुँदैछ । विद्यालय क्षेत्र सुधार कार्यक्रम सकियो । यिनीहरुको लक्ष्य पुरा भएन । अहिले पनि ३.४ प्रतिशत विद्यालय उमेरका बालबालिकाहरुले विद्यालयको अनुहारसमेत देखेका छैनन् । यी विद्यालय बाहिर रहेका बालबालिकालाई कसले तान्ने हो ? कसले लोभ्याउने हो ? कसले भर्ना गर्ने हो ? यो अनुत्तरित बनेको छ । सम्भवतः यही अनुत्तरित खेलमा कतिपय गैर सरकारी संस्थाहरु खेलिरहेका छन् । आफ्नो अभिष्ट पूरा गरिरहेका छन् ।
प्रत्येक शैक्षिक सत्रको सुरुवातसँगै पाठ्यपुस्तक अभाव भयो भन्ने शीर्षकका समाचारहरु आउँछन् । अहिले पनि आए । यो बिषयले सधै झैँ आम सञ्चारका माध्यमलाई मसला दियो । शिक्षाविदलाई खुराक दियो । राजनीतिज्ञलाई माग दियो । सामान्यरुपमा हेर्दा संस्थागत विद्यालयमा पाठ्यपुस्तक अभाव नहुने सामुदायिकमा हुने, किन ? शैक्षिक सत्र सुरु र अन्त्य निश्चित छ तर पाठ्यपुस्तकको तयारी किन निश्चित छैन ? एक बर्षसम्म जनक शिक्षा सामाग्री केन्द्र के गरेर बस्छ ? सरोकारवाला कहाँँ सुत्छन् ? राजनीतिज्ञको मुखमा के अड्किन्छ । सम्भवतः यहाँँ शैक्षिक माफियाहरुको जाल छ । राज्यका अधिकारीहरुलाई माल छ । निजी क्षेत्रलाई कमाल छ । विद्यार्थीको बेहाल छ ।
प्रत्येक बर्ष आउने अर्को समाचार हो ‘यार्चागुम्बा टिप्न जाँदा विद्यालय बन्द’ । कर्णाली, खासगरी हिमाली भेगमा पाइने जडिबुटी यार्सागुम्बा बहुमुल्य र बहुउपयोगी छ । त्यहाँका कतिपय जनताको आयश्रोत नै यार्सागुम्बा हो । कतिपय विद्यार्थीका लागि २–३ महिना यार्सा टिप्नु र बाँकी महिना खाने र पढ्ने आधार पनि त्यही हो । कतिपय शिक्षकलाई त्यो विकट ठाउँमा पढाउन जाने र टिकिराख्ने आधार पनि त्यही यार्सागुम्बा हो । तर यार्सागुम्बा टिप्ने कार्यलाई रचनात्मक ढङ्गले उपयोग गर्न नसक्दा ठुलो शैक्षिक क्षति भएको छ ।
नेपालको शिक्षा क्षेत्रमा तमाम विकृती छन् । शैक्षिक क्षतिको त लेखाजोखा नै छैन । ती सबै विकृती र क्षतिको एकैसाथ चर्चा गर्न सम्भव पनि छैन । यो लेख तीनवटा पक्षहरु: विद्यार्थी भर्ना अभियान, पाठ्यपुस्तक र यार्सागुम्बा सम्बन्धी समस्यालाई कसरी रचनात्मक ढङ्गले समाधान गर्ने र यस सम्बद्ध चुनौतीहरुलाई कसरी सम्भावनामा बदल्ने भन्ने कुरामा केन्द्रित रहने छ ।
राज्यबाट बजेट छुट्याएर वर्षमा एकपटक ब्यानरसहित, सुटबुट लगाएर राष्ट्रिय भर्ना अभियान सञ्चालन गरिन्छ । यसमा सञ्चारका साधन प्रयोग गरिन्छ । हाइफाइका साथ प्रचार गर्दै हिडिन्छ । यस्तो तरिकाले अभियान चलाउँदा एकातिर लक्षित समुहसम्म पुग्न सकिदैन भने अर्कोतिर गरिब कामदार, सुकुम्वासी, पिछडावर्ग, शरणार्थी आदी ती सुकिलामुकिलासँग झनै भाग्ने सम्भावना रहन्छ । त्यसैले यो अभियानको असफलता त यसको सुरुवातसँगै भएको देखिन्छ । तसर्थ लक्षित समुहका बच्चालाई विद्यालयमा भित्र्याउने वैकल्पिक मार्गहरु अपनाउन जरुरी छ । चीनमा बच्चालाई विद्यालय पठाउने जिम्मा अविभावकलाई दिएको छ । जसले बच्चा जन्माउँछ, उसले पढाउन पठाउनै पर्छ, राज्यले सहयोगमात्रै गर्छ । अमेरिकामा तिमी बच्चा जन्माउमात्र म तिनीहरुलाई पढाइदिन्छु भनेर राज्यले जिम्मा लिन्छ । फ्रान्समा राज्यले विद्यालय खोलिदिन्छ, अविभावकले त्यहाँ अनिवार्य रुपमा पढ्न पठाउनु पर्छ । त्यो पनि राज्यले तोकेको विद्यालयमा । मंगोलियामा बच्चालाई विद्यालयमा ल्याउने जिम्मा सम्बन्धित शिक्षकको हो ।
नेपालमा विद्यालयमा बच्चा ल्याउने विशेष जिम्मा कसैले पाएन, थोरै पाएकाले पनि पुरा गरेनन् । शिक्षकले किताब पढाउनेमात्र आफ्नो कर्म सम्झियो । विद्यालय व्यवस्थापन समिति राजनीति गर्नमै अल्झियो । अभिभावक विचरा बने । राज्यले भरपर्दो विकल्पहरु दिएन । त्यसैले नेपालले अब प्रयोग गर्न सक्ने विकल्प भनेको पहिलो –शिक्षकलाई जिम्मा दिने । सम्बन्धित क्षेत्रभित्रका विद्यालय नपुगेका बालबच्चा सम्बन्धि जानकारी शिक्षकलाई हुन्छ । राज्यको तलब खाएका शिक्षकहरुलाई क्षेत्र तोकेर जिम्मा दिन सकिन्छ । जिम्मेवारी पुरा नगरे जागिर खोस्न सकिन्छ । शिक्षकले पहल गर्दा पनि विद्यालय नआए अर्काे विकल्प खोज्न सकिन्छ । दोस्रो– उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई परिचालन गर्ने । तेस्रो– विद्यार्थी संगठन र राजनीतिक दलका कार्यकर्तालाई परिचालन गर्ने । चौथो– लक्षित समुहको सामाजिक आर्थिक परिस्थितिको विश्लेषण गरि जड पत्ता लगाउने । बच्चाले घर कुरेर बावु आमालाई काममा पठाउनु पर्ने, घरको काम गर्नुपर्ने वा अरुको घरमा काम गर्नुपर्ने भए विद्यालयको तालिका लचक बनाई काम र पढाइ सँगसँगै लैजान सक्ने बनाउने । उनीहरुको आवश्यकता अनुसारको पाठ्यक्रम बनाउने । घुम्ती विद्यालयको व्यवस्था गर्ने । पाँचौ– चीनमा जस्तै राज्यले सहयोग गर्ने र अविभावकले नै प्रमुख जिम्मेवारी लिने । फ्रान्समा जस्तो बच्चा स्कुल नपठाए अभिभावक दण्डित हुने बाटो अपनाउने । यी उल्लेखित उपायहरुमध्ये कुनै विकल्प अपनाउन सकिन्छ । यसो गर्दा धेरै खर्च गर्नु पर्दैन, तामझाम चाहिँदैन, निरन्तर प्रक्रियाकै रुपमा अगाडी बढ्दछ ।
पाठ्यपुस्तक शिक्षाको साधनमात्र हो, साध्य त सिकाई उपलब्धि हो । साध्य प्राप्तिका बहुसाधनहरु हुन सक्छन् । प्रकृतीवादीहरु पुस्तकीय ज्ञानको खरो विरोध गर्छन् । प्रयोजनवादीहरु क्रियाकलापको माध्यमबाट सिक्ने भन्छन् । उत्तर आधुनिकवादीहरु सिकाइका बहुमाध्यम हुन्छन् भन्छन् । इभान इलिचले निर्विद्यालयीकरणको वकालत गर्छन् । पाउलो फ्रेरेले बैकिङ्ग शिक्षाको विरोध गर्दछन् । यी उल्लेखित दृष्टिकोणहरु किताबी ज्ञानको विरोधी हुन् । हाम्रा शिक्षकहरु यी अवधारणहरु पढेर प्रमाणपत्र लिइ जागिर खाएका हुन् । तर व्यवहारमा उनीहरु किताब विना पढाउँदैनन् । पाठ्यपुस्तक आइपुगेन भनेर विद्यालय बन्द गर्छन् । चर्को स्वरमा सरकारको आलोचना गर्छन् । अप्रत्यक्ष रुपमा यसैलाई ठग्ने काइदा ठान्छन् । वैकल्पिक तरिकाको बारेमा सोचेर टाउको दुखाउन चाहदैनन् । राज्यको तलब खाएर राज्यकै विरुद्धमा राजनीति गर्ने शिक्षक संगठनहरु तिनै ठग शिक्षकलाई ओट लगाउँछन् । निरिह शिक्षा मन्त्रालय टुलुटुलु हेरेर बस्छ । शिक्षामा यस्तो दुर्दशा लामो समयदेखि हुँदै आएको छ र अझै हुनेवाला छ ।
पाठ्यपुस्तक नआइपुग्दासम्म विद्यालय बन्द होइन वैकल्पिक र रचनात्मक बाटो अपनाउनु बुद्धिमत्तापूर्ण हुन्छ । वैकल्पिक उपाय हुन सक्छ पहिलो– भर्खर माथिल्लो कक्षामा गएका विद्यार्थीका किताब अनिवार्य रुपमा जम्मा गर्ने र नयाँलाई बाँड्ने । दोस्रो– बर्षौं पढाएको शिक्षकले पाठ्यक्रम र पाठ्यबस्तुका बारेमा जानेकै हुनुपर्छ । उनीहरुको अनुभवका आधारमा पढाउनुपर्छ । पुस्तकलाई नै पाठ्यक्रम, शिक्षण सामाग्री, शिक्षण विधी र मुल्यांकनको साधन मान्ने कुबुद्धिलाई शिक्षकको मस्तिस्कबाट झिकिदिनुपर्छ । तेस्रो– जोन डिवेले भनेजस्तो क्रियाकलाप गराएर सिकाउनुपर्छ । खेल र नाचगानबाट सिकाउनु पर्छ । किलपेट्रिकले भनेजस्तो परियोजना कार्यबाट सिकाउनु पर्छ । प्रकृतीवादीहरुले भने जस्तो प्रकृतीसँगको अन्तरक्रियाबाट सिकाउनु पर्छ । विद्यानाथ कोइरालाको भाषामा ढुङ्गा, माटो, काठ, घाँसपात आदिबाट विज्ञान, गणित, अर्थशास्त्र, समाजशास्त्र आदि सिक्ने तरिका अपनाउनु पर्छ । चौथो– सामान्यतया जहाँका विद्यार्थी त्यहीँका शिक्षक छौँ । त्यसैले शिक्षकलाई त्यो समाजको परिवेश थाहा छ, वातावरण थाहा छ, समस्या थाहा छ । पाठ्यपुस्तक नआउञ्जेल त्यही परिवेश, वातावरण, समस्या आदिका बारेमा विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन सकिन्छ । पाँचौ–विद्यालयमा अतिरिक्त क्रियाकलापहरु गर्नै पर्ने व्यवस्था छ । यस्ता अतिरिक्त क्रियाकलापको आयोजना गरी किताब नपाउँदाको समय सदुपयोग गर्न सकिन्छ । छैंठौ– शैक्षिक सत्र देशभर एकैपटक सुरु र अन्त्य नगरेर फरक–फरक पार्न सकिन्छ । अब प्रान्त÷प्रदेश अनुसार फरक पार्न सकिन्छ । साथै पुस्तक छाप्ने जिम्मेवारी प्रान्तीय सरकारलाई दिन सकिन्छ ।
यार्सागुम्वा प्रकृतीको देन हो । यसको महत्व वैज्ञानिक उपयोग हो । यसलाई टिप्न जानु, बेचविखन गर्नु अर्थशास्त्रीय प्रयोग हो । यसको खोजिमा जाँदा विद्यालय बन्द हुनु एउटा बाध्यता हो, अर्काे लापरवाही हो । यो शैक्षिक प्रणालीको त्रुटी पनि हो । यार्सागुम्वा भोली पनि उम्रने छ, विद्यार्थी शिक्षक टिप्न जानेछन्, विद्यालय बन्द हुनेछ । त्यसैले यसलाई समस्या भनेर तात्कालिक समाधान खोज्नुभन्दा पनि अवसरको रुपमा प्रयोग गर्ने गरी दिर्घकालिन वैकल्पिक बाटो खोज्नु बुद्धिमानी हुन सक्छ ।
वैकल्पिक बाटो हुनसक्छ, पहिलो– शैक्षिक सत्र परिवर्तन गरी यार्सागुम्वा टिप्ने बेला शैक्षिक सत्र ठिक अन्त्य गर्ने गरी मिलाउने । दोस्रो– यार्सागुम्वा र अन्य जडिबुटीको संकलन, प्रशोधन, उपयोग, विक्री वितरण आदी सम्बन्धि बिषयवस्तु समेटेर स्थानीय पाठ्यक्रम तयार गर्ने । यसो गर्दा विद्यार्थीले व्यवहारिक रुपमै सिक्ने अवसर पाउने छन् । तेस्रो– शिक्षक र विद्यार्थी नै यार्सागुम्वा टिप्न जाने हँुदा उतै समय मिलाएर पढ्ने व्यवस्था गर्ने । चौथो– यार्सागुम्वाको वैज्ञानिक महत्व बुझाउने, बेचविखन गरी अर्थोपार्जन गर्ने कला सिकाउने । सामुहिक कार्य गर्न सिकाउने । यसो गर्न पहिले शिक्षकले सिक्ने उसले विद्यार्थीलाई त्यही सिकाउने ।
विद्यालय भर्ना निरन्तर प्रकृया हो । यसका लागि बर्षकोे एकपटक झाँकी निकाल्न जरुरी छैन । सम्बद्ध सरोकारवालाहरुलाई जिम्मेवार बनाउन सकियो भने सबै बालबच्चा विद्यालय पुर्याउन सकिन्छ । पाठ्यपुस्तकका सवालमा प्याराडाइम सिफ्टको जरुरी छ । शिक्षक रचनात्मक बन्न सके केही समयको पाठ्यपुस्तक अभाव समस्या नै होइन बरु विद्यालयीय र किताबी ज्ञानभन्दा माथि उठ्ने अवसर हो । यसको भरपुर उपयोग गर्नु पर्छ । यार्सागुम्वा शैक्षिक क्षतिको कारण होइन बरु यो वैज्ञानिक व्यवसायिक र व्यवहारिक शिक्षाको साधक बन्न सक्छ । यो नै जीवनोपयोगी शिक्षाको साधन बन्न सक्छ । विकल्प खोजौं, शिक्षण सिकाई बन्द नगरौं ।
(लेखक त्रि.वि.शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत छन्)
प्रतिक्रिया दिनुहोस्