१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


युरोकपमा इंग्ल्याण्डका फुटबल समर्थक चिन्ताको विषय


0
Shares

पेरिस, जेठ २८ । विश्व फुटबलमा इंग्ल्याण्ड भन्ने बित्तिकै तिनका समर्थकले मच्चाउने हर्कत सबैका आँखा अगाडी आइहाल्छ । इंग्लिश समर्थक पनि के कम ? मैदानमा खेलाडीले बल दौडाउन भ्याएको हुन्न, उनीहरुको उदण्ड व्यवहार आयोजक मुलुकमा प्रवेश गरेदेखि नै शुरु भैसकेको हुन्छ ।

त्यसैले त जब–जब विश्वस्तरीय फुटबलको आयोजना गरिन्छ, आयोजकलाई सबैभन्दा टाउको दुखाईको विषय बन्छ इंग्लिश फुटबलका समर्थक । उनीहरुलाई कसरी सम्हाल्ने भन्नेमा आयोजकले आधा समय खर्चनु परेको हुन्छ ।

यस पटक पनि यस्तै गरिसकेका छन्, आज रातिबाट शुरु हुने युरोकप फुटबलमा आफ्नो देशको टोलीलाई समर्थन गर्न फ्रान्स पुगेका इंग्लिश समर्थकले ।

बिहीबार राति मार्सेली शहरको बारमा मादक पदार्थ सेवन गरी मात्तिएका सयौं इंग्लिश समर्थकले इस्लामिक अतिवादी संगठन ‘आईएस’ कहाँ छ भन्दै नाराबाजी गरेपछि फ्रेन्च प्रहरीको हैरानी बढेको हो । इंग्लिस समर्थकहरुले बारमा तोडफोड गर्दै मार्सेलीको सडकमा हिंसात्मक गतिविधि गर्न थालेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको छ ।

इस्लामिक समुदायको बाहुल्यता रहेको मार्सेली शहरमा इंग्लिस समर्थकले स्थानीय बासिन्दालाई आईएस भन्दै नाराबाजी गरेपछि शहरका स्थानीय युवाहरु इंग्लिस समर्थकमाथि जाइ लाग्न खोजेका थिए । परिस्थिति झडपतर्फ उन्मुख भएपछि स्थिति नियन्त्रण गर्न हस्तक्षेप गर्नुपरेको फ्रेन्च प्रहरीले जनाएको छ ।

शनिबार राति रसियासँग खेल्दै इंग्ल्याण्डले युरो कप २०१६ को यात्रा थाल्दैछ । सन् १९९८ मा पनि फ्रान्सले नै आयोजना गरेको विश्वकपमा यसै शहरमा इंग्ल्याण्ड र ट्युनिसियाका समर्थकबीच दुई राष्ट्रको खेल शुरु हुनु पूर्व नै हिंसात्मक झडप भएको थियो । फेरि त्यस्तै अप्रिय घटना दोहोरियोस् भनेर फ्रेन्च प्रहरी भने सतर्क देखिएको छ ।