९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सत्ताको भैरवनाँच


0
Shares

नरेन्दराज पौडेल

प्राध्यापक कृष्ण खनालको शब्द पैंचो लिएर भन्ने हो भने हिजोआज प्रधानमन्त्री केपी ओलीको ओलीगार्की रामैसँग जरा गाडेर मौलाएको छ । आउँदो ७४ माघमा नयाँ संसदको निर्वाचन गराएरमात्रै आफूले पद छोड्ने उनको घोषणाले बजेटप्रस्तुत भएपछि प्रधानमन्त्री बन्ने प्रचण्डको सपना थारै रहने पक्कापक्की भएको छ । प्रधानमन्त्रीको हठी र अधिनायकवादी कार्यशैलीबाट सरकारका सहयोगी प्रचण्डमात्र होइन, एमालेकै वरिष्ठ नेताहरु समेत विरोधमा उत्रिएका छन् र तीनबुँदे भद्र सहमति नाउँको पासो फाल्दै भद्राघडी कुरिबसेका छन् । प्रधानमन्त्री भने सत्ता परिवर्तनको विषयमा सहमति त के, ख्यालठट्टा, हाँसखेलसम्म पनि भएकै छैन भनेर ठोकुवा गरिरहेका छन् । आफ्नो पार्टीको हैकमअनुसार नचली देशको ढुकुटी एक्लै सुम्ठ्याएको र दुईचार आसेपासे चक्लेटी विशेषज्ञ साथ लिएर प्रधानमन्त्रीले मनपरीतन्त्र चलाएकोमा उनीहरुका नेत्र बलेका स्पष्टै बुझ्न सकिन्छ ।

उता साठीबर्षे राजनीतिक अनुभव, समाजवादी बिपीवादी चिन्तन र विचारबाट निर्देशित नेपाली कांग्रेस अहिले सांसद कोषमा केन्द्रित लोभीपापीहरुको सिङ्गो जमातझैं बन्न पुगेको छ । आफ्नै नेतृत्वको सरकारछँदा घोषणा भएको नयाँ संविधान लागू गर्ने दायित्व भुलेर केही समययता दिनानुदिन विचलित, अकर्मण्य र पलायनवादी बनेको छ । हुन त पञ्चायतपछिको झन्डै दुई दशक अवधिमा कांग्रेस नै सत्ताको केन्द्रमा रहेको थियो । त्यसै अवधिमा शिक्षा, स्वास्थ्य, संचार, कृषि, पशु व्यवसाय र यातायातजस्ता विकासनिर्माणका क्षेत्रमा देशले लामै फड्का मारेकै पनि हो । तर जनतामाझ गएर राम्रा कामको जस लिन नसक्ने अनि समय घर्किसकेपछि पुर्खौली गौरवगाथाको गुड्डी हाँक्ने कांग्रेसको जन्मजात रोगभने झन्झन् बल्झिदै आएको छ । अहिले विपक्षमा रहँदा पनि विनाप्रयोजनका कुरामा विरोध गरेझैं देखाउने तर खासखास राष्ट्रिय प्रयोजन र जनताका सरोकारहरुमा निसोखी बनेर बेवास्ता गर्ने प्रवृति कांग्रेसभित्र हावी हुँदैछ । संसदमा सबैभन्दा ठूलो संख्या लिएर प्रतिपक्षमा रहँदासमेत सरकारका ज्यादतीहरुको डटेर सामना गर्ने हुति हराउँदै गएको छ । मुगु, हुम्ला, बाजुरा र जाजरकोटका अधिकांश दुर्गम गाउँहरु लामो खडेरीले यतिबेला अनिकाल र भूखमरीको मारमा परेका छन् । सरकारले ती गाउँसम्म खाद्यान्न पठाउन सकेको छैन । अझ राजधानीका छेउमै पर्ने कोराक सिद्दी लोथर, राङसिराङजस्ता दुर्गम चेपाङबस्तीहरुमासमेत अनिकाल व्याप्त हुँदैछ । लामो खडेरीको कारणले ती गाउँवरपर नगुरो, तरुल, गिठ्ठा, भ्याकुरसमेत उत्पादन हुन नसकी पाखापखेरा खलपत्रै खाली रहेका छन् । बिहान गिठ्ठा, भ्याकुर खोज्न हिँडेका घरमूलीहरु बेलूकीसम्म नफर्किदा वा रित्तो हात घर फर्किदा बृद्धबृद्धा तथा बालबालिका ओठ मुख सुकाएर भोकभोकै दिनरात काटिरहेका छन् । ती अनाथ भोका नाङ्गाहरुको बिपत्तिलाई मजाकमा उडाएर सरकार भने विदेशीले सहायता दिएको लाखौं क्विन्टल चामल गोदामभित्र सडाउँदै जमिनमा गाड्ने बहादूरी देखाउँदै छ ।

उता भूकम्पपीडितहरुका आपदविपदका काहानी आफ्नै प्रकारका छन् । प्लाष्टिकका छाप्राभित्र शीर ओत्याएर जीवननिर्वाह गर्दैआएका शिशु बृद्धहरुको अवस्था झन्झन् कठिन बन्दै गएको छ । स्वयं प्रधानमन्त्रीकै हातबाट चौतारामा शिलान्यास गरिएको घरसमेत बन्न नसकेर पुन प्लाष्टिककै छाप्रोमा रुपान्तरण हुन पुगेको छ । खाद्यान्न, इन्धन, ग्यास र ऊर्जाआपूर्तिको संकटमा कालोबजारी तस्करीको हालीमुहाली बढेर उपभोक्ता मार्ने काम दिनप्रतिदिन बढी नै रहेको छ । ओली सरकार भने तस्कर कालोबजारियाको मतियार बनेर महँगी अभाव थप्दै ठूलठूला सपनाका आइभोरी टावरमा अवोध जनतालाई डुलाई रहेको छ । उता प्रमुख प्रतिपक्षको बिल्ला भिरेको नेपाली कांग्रेस भने अर्थमन्त्रीले बजेटको सूचना चुहाएको विषयमा एक दिन संसद अवरुद्ध गरेर आफूले निकै ठूलो बहादूरी गरेको देखाउन लालायित छ । (बजेटको सूचना चुहाउने काम स्वयं कांग्रेसकै पालामा पनि भएको हेक्का रहनुपर्ने हो) । बाघ बूढो भएपछि फट्यङ्ग्रा मार्छ भन्ने उखान यतिबेर चरितार्थ भएको छ । नयाँ संविधान बनेर पनि कार्यान्वयन हुन नसकि अनेकौं बखेडा खडा भैरहेका अनि भोक रोग र अशिक्षाको मारमा परेका करोडौं नेपाली जनताका सरोकारका विषयहरु के कांग्रेसले पहिचान गर्न सकेको छैन ? भए तिनलाई लिएर सरकार समक्ष के कति दवाव, प्रभाव पार्ने कामहरु भए ? गम्भीर प्रश्न खडा हुन आएको छ ।

राष्ट्रिय महत्वका बृहत आयोजनाको निर्माणपक्षमा पनि कांग्रेस दिग्भ्रमित र अनुत्तरदायी बन्दै गएको छ । मेलम्ची सिक्टा तामाकोशी जस्ता आयोजनाको ढिलाइमा कांग्रेस कुनै सरोकार नभएझै कानमा तेल हालेर बसेको छ । सम्वन्धित संसदीय समितिका आफ्नो पक्षका सांसद विशेषज्ञ र प्राविधिकहरुलाई निरन्तर पर्यवेक्षण अवलोकनमा खटाएर निर्माताकम्पनी र सरकारमाथि आवश्यक दवाव सिर्जना गर्नु पर्नेमा त्यो हुन सकिरहेको देखिँदैन । मधेसकेन्द्रित आन्दोलनलाई छिटोभन्दा छिटो व्यवस्थापन गरेर एकीकृत राष्ट्रिय शक्ति निर्माण गर्दै नयाँ संविधान कार्यान्वयन गराउने र त्यसले परिकल्पना गरेको सामाजिक न्यायमा आधारित संघीय समावेशी समतामूलक राष्ट्रनिर्माणमा लाग्नुपर्ने अवस्थामा कांग्रेस खाली औपचारिकताका दुइचार झिँगे दाउ र हल्का बतासे शब्दमा सीमित रहेको छ । उदार प्रजातन्त्रमा विश्वास राख्ने र हिजोसम्म मत दिँदै आएको जनताको ठूलो मास कांग्रेसी अकर्मण्यता र विचार स्खलनको भड्खारो देखेर तर्सिन थालेको छ । वर्तमानको क्षयोन्मुख आदत र भविष्यको जगेर्ना गर्न नसकी युवा कांगे्रसहरु वैचारिक दिवालिया हुने मार्गमा अग्रसर रहेका छन् । उपयुक्त स्कूलिङ र तालिम प्रशिक्षणको अभावमा उदीयमान नयाँ पिँडी झनै विचारशून्य, नकारात्मक र पथभ्रष्ट बन्ने सम्भवाना बढ्दै गएको छ । आफ्नो राजनीति बलियो पर्नकैलागि अरवौं अरवको सांसद कोष खडा गरी तिनै बेराजगर युवावर्गलाई पेशेवर राजनीतिक भिजिलान्ते बनाएर मस्सल ग्याङ तयार गर्ने कार्यमा कांगे्रस अग्रसर बनेको छ, जुन कुरा पजातान्त्रिक समाजवाद र स्वरोजगारमूलक चिन्तनकालागि भयानक खतरा मानिन्छ ।

बजेट प्रस्तुतिका लागि पूर्वतयारी चल्दैगर्दा प्रम केपी ओलीले तराइ काठमाण्डू जोडने दू्रत मार्ग सरकार आफैँले बनाउने घोषणा गरेका थिए । (बजेटमा ५ अरव छुट्याइयो पनि ।)तर उनको बोली खस्न नपाउदै कांग्रेस सभापति देउवाले द्रूत मार्ग नेपाल सरकारले आफै बनाउनै सक्तैन, सक्तै सक्तैन भन्दै टक्टकिएर आवेशयुक्त प्रतिकिया व्यक्त गरे । नेपाली सेनाद्वारा ६२ किमि कच्ची बाटो खन्ने कामसमेत भइसकेको राष्ट्रिय गौरवको मानिआएको आयोजनालाई पार्टी सभापतिले नै नेपाल सरकारले बनाउनै सक्तैन भन्दै हिड्नु कतिसम्म उचित थियो, समयले मूल्य खोज्ने नै छ । टिष्टा काँगडा र गङ्गा नदीसम्म विजय गर्दै नेपालको सरहद विस्तार गर्ने बहादूर पुर्खाका सन्तानहरु आजै यतिसारो पराश्रयी पङ्गू र निकम्मा किन भए ? ०७ सालको क्रान्तिदेखि ३६, ४६, ६२ र ७२ को नेपालको परिवर्तनमा सधैँ नेतृत्वदायी भूमिकामा रहँदै आएको कांग्रेस आजै यतिसारो कमजोर, स्खलित र निरीह किन भयो ? जटिल प्रश्न खडा भएको छ । लोकतन्त्रको २५ बर्षे कालमा दुई दशक शासन सत्ता संचालन गर्ने पार्टीका सभापतिको हुतिहारा अभिव्यक्तिले सिङ्गो कांग्रेसको बौद्धिक र नैतिक स्खलनमात्र देखाउँदैन, अपितु राष्ट्रियताको विचलन र सार्वभौम नेपाली जनताको अपमान समेत प्रतिध्वनित भएको छ ।

जनसंख्या र भौगोलिक हिसावले नेपालजत्रै देश उत्तर कोरियाले आफ्नै खुट्टामा टेकेर उभिने साहसमात्र गरेको छैन, आणविक हतियारले सुसज्जित बनेर संसारकै महाशक्ति राष्ट्र अमेरिकालाईसमेत थर्काइरहेको छ । अनेकथरी नाकाबन्दी थोपरेर विश्वसंस्था (सयुक्त राष्ट्रसंघ ) ले समेत खोइरो खन्दै विरोध गर्दा पनि उसले आफ्नो लक्ष्य र हठधर्मितामा कुनै नरमी र घुँडा टेक्ने प्रवित्ति देखाएको छैन । तर नेपालमा २५ वर्षको अवधिसम्म शासन चलाएको कांग्रेस आफूभित्र त्यो हिम्मत जागाउन किन सक्षम भएन ? प्रश्न अनुत्तरित नै छ । इतिहासका अनेकौं कालखण्डहरुमा भारतसामु सधैँ निउरीमुन्टी गर्दै आएका गणतन्त्रवादी नेताहरुमा भारतीय नाकाबन्दीका विरुद्ध थप हिम्मत जाग्न सकेको छैन । उल्टै बाघको सामु घोडा लम्पसार परेको शैलीमा आफ्नो बुता बर्कत र क्षमताको समग्र अस्त्र सुम्पने ढोगी कायर प्रवृत्ति हावी हुँदैगएको छ । कुन बेला के बोल्ने के नबोल्ने र कुन बोलीको के असर पर्छ भन्ने हेक्का नभएका नेताले कसरी कांग्रेसको अस्तित्व जोगाउन सक्छन ? ‘पुर्खाले घिउ खाएथे मेरो हात सुङ’ भन्ने पुरानो उखानको पाराले नयाँ युवाजगतलाई आकर्षित गर्न किमार्थ सकिन्न भन्ने यथार्थ राम्ररी बुझ्नु पर्छ ।

सांसद कोषको नाममा जथाभावी राजश्व छर्ने काममा कांग्रेस मातियारमात्र रहेन, कारिन्दा नै बन्न पुग्यो । जसबाट देशको २१ अरव राजस्वमा चूना लागेको छ । सरकारले फाष्टट्रयाक निर्माणको लागि छुट्टयाएको ५ अरवमा यो रकम थपिदिए २६ अरब पुग्ने थियो, जुन रकम खर्च गर्दा नेपाली सेनाले खन्न बाँकी १२ किलो मिटर चट्टानी भाग पनि समाप्त पार्ने थियो र कच्ची रुपमै भएपनि वर्ष दिनभित्रै दुतमार्ग तयार हुने थियो । तर यसतर्फ कांगे्रसको दृष्टि शोच कौर्न पुगेन । त्यस्तै भूकम्प र नाकाबन्दीको मारमा परेर पिल्सिएका आम नेपालीहरुलाई कालो बजारी र महँगीको मारले थिलथिलो बनाएको छ । तर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस यी विषयहरुमा उदासीनमात्र छैन, मूल्यवृद्धि अपचलन, तस्करी र कालोबजरीको साक्षी बनेर आनन्दले बसेको छ । मानो उसकालागि जनताले भोग्नु परेका यावत पीडादायी अवस्थाहरु कुनै महत्वपूर्ण विषय नै होइनन् ।
–सीपापोखरे ८, सिन्धुपाल्चोक