५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


‘गीत लेख्न बस्छु गजल भइदिन्छ’


0
Shares

काठमाडौं, जेठ २७ ।
‘जिब्रो पड्काएर मिठै छ की सुनेर पिएँ,
बानी थिएन कसम नाँकै थुनेर पिएँ’

युवा गजलकार अशोक दवाडीले कुराकानीका क्रममा यस्तै एउटा गजलको सेर सुनाए । लमजुङमा जन्मिएर चितवनमा हुर्किएका अशोक हिजोआज काठमाडौंका सडकमा दौडिरहेछन् । उनलाई गजल लेखनको भूतले काठमाडौंमा व्यस्त गराएको छ ।

गजल लेखनमा लत बसेपछि अशोकलाई एल्बम निकालेर आफ्ना गजलको मिठास स्रोतालाई चखाउने सौख छ । यही सौख पुरा गर्न पहिलो म्यूजिक भिडियो यूट्यूबमा सार्वजनिक गरेर उनले गजल यात्रा प्रारम्भ गरिसकेका छन् ।

अशोकले सिर्जना गरेको ‘पल पलमा गार्‍हो होला प्रिय’ गजललाई मनोज चौंलागाईंले संगीत भरेर राज सिग्देलले स्वर दिएर यूट्यूबमा सार्वजनिक भएपछि उनलाई थप उर्जा मिलेको छ । आफैं पनि मोडलका रुपमा देखिएका अशोकको पहिलो म्यूजिक भिडियोले राम्रै तारिफ पाएको छ ।

अन्य ६ वटा गजललाई रुपक डोटेल, शिव परियार, राज सिग्देल, मनोजराज जस्ता चर्चित गायकहरुले स्वर दिने भएपछि अशोकलाई अझै हौसला मिलेको छ । उमेरले २५ बसन्त पार गरेका उनले गजल र निबन्ध लेखेरै ‘स्टार’ बन्ने सपना साँचेका छन् । ‘म गीत लेख्न बसें भने त्यो गजल बनिदिन्छ, त्यसैले मेरो लेखन यात्रालाई गजलमै समर्पित गरिरहेको छु, उनले आफ्नो योजना सुनाए ।

भावुक शैलीका गजल लेख्न रुचाउने अशोकलाई मोहमत रफि, जगजित सिहं, शिव परियार लागायतका हस्तीहरुबाट आफू प्रभावित भएको सुनाउँछन् । समकालिन युवा गजलकार मणी खतिवडाको संगतले गजलमै दोहोरी र घम्साघम्सी गर्दै हिडेका अशोकले जीवनमा अनेकौं हन्डर र ठक्करहरु खाएका छन् ।

‘म मेरै जीवन भोगाइका पलहरुलाई गजलमा उतारेर भएपनि स्रोतालाई भावुक बनाउन सक्छु, उनले भने–‘ मेरो जीवन–भोगाइहरु अरुसँग मेल खाँदा रहेछन्, अनि आफ्ना लागी पनि गतिलो पाठ हुने रहेछ ।’ संगीतकार मनोज चौंलागाइको साथ पाएका अशोकले नयाँ एल्बमका लागि गजलहरु रेकर्ड गराइरहेका छन् । सार्वजनिक रुपमै गजलयात्राको आरम्भ गरेका उनले कुराकानीको अन्तिममा अर्को सेर सुनाए:

‘खाँटी कुरो उसको वातमा थियो,
मारेकै हो प्रमाण हातमा थियो ।
विचरा कति अवोध थिइ होला कुनी,
सायद, यो अपराध मध्यरातको थियो ।’