
कश्मिर, जेठ २६ । नेपालमा भएको १० वर्ष लामो सशस्त्र जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याएको विषयलाई भारतमै पृथकतावादीमाथि अनुशरण गर्न दबाब बढेको छ ।
भारतको जम्मु कश्मिरकी मुख्यमन्त्री महबुबा मुफ्तीले केन्द्र सरकारसमक्ष यस्तो माग गरेकी हुन् । उनले नेपालमा माओवादी जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याएकै शैलीमा कश्मिरी पृथकतावादी आन्दोलनलाई शान्ति प्रकृयामा ल्याउन केन्द्रीय गृहमन्त्री राजनाथ सिंह समक्ष आग्रह गरेकी हुन् ।
भारतीय संचारमाध्यमका अनुसार उनले गत साता केन्द्रीय गृहमन्त्री सिंहसँग भेटवार्ता गरेकी थिइन् । उनले शान्ति प्रकृयालाई मजबुत बनाउन र शान्ति तथा मेलमिलाप प्रकृयालाई पुनर्जीवन दिन विश्वासिलो वातावरण बनाउनुपर्नेमा समेत जोड दिएको बताइन्छ ।
सशस्त्र प्रशिक्षणका लागि सीमापार गएका कश्मिरी युवाको पुनर्वास सुविधाजनक र सहज बनाउन जोड दिनुपर्ने उल्लेख गर्दै मुफ्तीले भनिन्, ‘सशस्त्र प्रशिक्षण लिइरहेका युवालाई समाजमा पुनर्स्थापना गरी सामान्य जीवन बिताउन प्रेरित गर्नुपर्दछ ।’
मुख्यमन्त्री मुफ्तीले पाकिस्तानमा रहेका कश्मिरी युवकलाई समाजमा पुनर्स्थापना गर्नका लागि नेपालको शान्ति प्रकृयाकै शैलीमा वैध बाटो खोल्नुपर्नेमा जोड दिएकी थिइन् ।
राज्य सरकारका प्रवक्ता नईम अख्तरका अनुसार केन्द्रीय गृहमन्त्री सिंहले जवाफमा पाकिस्तान अधिनस्थ कश्मिरमा पुगेका भारतीय कश्मिरी युवालाई फिर्ता ल्याई समाजमा पुनर्स्थापित गराउनका लागि नेपालको शान्ति प्रकृयाकै शैली अनुशरण गर्नेबारे सरकारले विचार गर्ने बताएका थिए ।
अख्तरले भने, ‘आखिर उनीहरु पनि हाम्रै नागरिक हुन् । हिंसाको बाटो छोडेर समाजमा सामान्य जीवन बिताउन चाहने कश्मिरी युवालाई मानवीय आधारमा सहज बाटो बनाउनु पर्छ ।’ (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्