२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


डाँको छोडेर किन रोएका थिए अम्बर गुरुङ ? च्यातिदिएका थिए चाँदनी शाहको गीत


0
Shares

रमेश लम्साल (रासस)
काठमाडौं, जेठ २५ । नेपाली गीत–संगीत क्षेत्रको ‘सगरमाथा’ आज नेपालीमाझ छैन । उनको सिर्जना हाम्रो सामु छ तर भौतिक शरीरले विश्राम लिएको छ । धेरैका आँखा रसाएका छन् । धेरैले आफूलाई टुहुरो भएको अनुभव गरेका छन् ।

जीवनका कालखन्डमा अनेकौं हन्डर र ठक्कर बेहोरेका र स्पातिलो बनाएका व्यक्तित्व अम्बर गुरुङको भौतिक शरीरले अन्तिम श्वास फेर्दा धेरैलाई पत्यार लागेको थिएन ।

तर, जुन पत्यार लागेको थिएन आखिर भइदियो त्यही । गुरुङ भौतिकरुपमा हाम्रो माझ छैनन् । तर, उनको सिर्जनाले नेपाली मात्रलाई युगौंयुगसम्म सम्झने बनाइदिएको छ ।

‘यो नेपाली शिर उचाली’ जस्ता राष्ट्रवादी गीत नै किन नहोस्, पछिल्लोपटक नेपाली राष्ट्रगान बनाउन उनले दिएको योगदान अविस्मरणीय रहेको छ ।

गीतकार, कवि तथा उनको जीवनकालमा सहयात्रा गरेका धेरैले उनलाई नेपाली गीत–संगीतको सगरमाथाको विशेषण दिएका दिएका छन् । उनलाई महारथीकोसमेत पदवी अर्पण गरिएको छ ।

राष्ट्रगानका रचनाकार व्याकुल माइलाले उनलाई नेपाली संगीत क्षेत्रको शिखर पुरुषको संज्ञा दिँदै भन्छन्–‘वि.सं. २०६४ को जेठ महिनाको अन्तिमसाता वरिष्ठ संगीतकार अम्बर गुरुङले आफ्नो निवासमा बोलाउनुभयो । मलाई सोध्नुभयो माइला लौ यस्तो हुने भयो है संगीत ।’

माइलाले रासससँग भने–‘उहाँले मलाई हार्मोनियम बजाएर गीत सुनाउनुभयो । मलाई लाग्यो यति मीठो र मधुर संगीत कसरी बन्यो होला । खुसीको कुनै सीमा नै थिएन ।’

‘मुलुक गणतन्त्रमा प्रवेश गरेको अवस्थामा सरकारले नयाँ राष्ट्रगानको माग गर्‍यो म पनि सहभागी भएको थिएँ, सफल हुन्छु/हुन्नभन्दा पनि सहभागिता जनाउने कुरा नै महत्वपूर्ण थियो’–माइला स्मरण गर्छन् ।

गुरुङ छनोट समितिमासमेत थिए । उनले विभिन्न १४ ओटा धुन बताएका थिए । त्यसमध्ये तीनओटा धुन उत्कृष्ट ठहर गरिएको थियो ।

‘मेरो गीत छनोट भएको त्यसमाथि उहाँजस्तो संगीतमर्मज्ञले संगीत गर्ने कुराले ममा खुसीको सीमा थिएन’–माइलाले भने ।

नेपाली गीत–संगीत क्षेत्रले एउटा भीमकाय हस्ती गुमाएको माइला ठान्छन् । उनले भने–‘यति उच्चकोटिको सर्जक पाउन मुस्किल छ, नेपाली सांगीतिक क्षेत्र र मलाई आज असाध्यै पीडा भएको छ ।’

कवि तीर्थ श्रेष्ठको एउटा धोको बाँकी रह्यो गुरुङसँग । दुईओटा गीतमा संगीत गराउने इच्छा उनको निधनसँगै सेलाएको छ ।

रासससँग कुरा गर्दै श्रेष्ठले भने–‘वि.सं. २०६८ मा उनको निवासमा गीतको कुरा भइरहेको बेला लौ तीर्थ, तिम्रो गीत देऊ संगीत गर्नुपर्‍यो भन्नुभयो । मैले उहाँलाई दुईओटा गीत सुनाए । उहाँले लौ अब तत्कालै संगीत गर्नुपर्‍यो भन्नुभयो । उहाँको स्वास्थ्य अवस्थाका कारण त्यो सम्भव हुनसकेन । मेरा लागि ठूलो धोको बाँकी रह्यो ।’

गुरुङलाई सुनाएको गीतको एक अंश श्रेष्ठले राससलाई पनि सुनाए । ‘कतै टाढा जानु थियो सँगै जान्छौ कि, जाने मन हुँदाहुँदा लाजै मान्छौ कि ।’ कवि श्रेष्ठले उनलाई अर्को गीत पनि सुनाएका थिए । त्यो गीत यस्तो थियो–‘तिमीले नसम्झदैमा म तिमीलाई कहाँ भूल्छु र..।’

नेपालको राष्ट्रिय सद्भाव खल्बलिएकामासमेत गुरुङ चिन्तित थिए । नेपालयले नेपालगन्जमा आयोजना गरेको ‘पलेटी’ शृंखलापछि उनी ‘डाँको छोडेर नै रुनुभएको थियो’–कवि श्रेष्ठ स्मरण गर्छन्–‘गीत–संगीत र रचना तीनओटै क्षेत्रमा उहाँ सर्वज्ञ हुनुहुन्थ्यो । एउटै मान्छे तीनओटै विधामा पोख्त हुने कुरा सामान्य मान्छेका लागि सहज नहुनसक्छ तर गुरुङको हकमा भने सामान्य थियो ।’

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य भएर गुरुङसँगै काम गरेका यज्ञबहादुर उपाध्याय आफ्नो स्वाभिमान कुनैपनि अवस्थामा डगाउन नचाहने व्यक्तिकोरुपमा उनलाई स्मरण गर्छन् ।

गीतकार चाँदनी शाहको गीतलाई गीत नै नभएको भनेर च्यातिदिनसक्ने क्षमता गुरुङमा थियो भन्छन्, उपाध्याय ।

गीतकार शाहको गीतमा संगीत भर्ने र गाउने होडबाजी चलेको बेला दरबारका सचिवकै अगाडि गीत च्यातिदिएको आफूहरुसँग गुरुङले बताएको स्मरण गर्दै उपाध्यायले भने–‘राजा महेन्द्रले दार्जिलिङबाट ल्याउनुभएको भए पनि दरबारको शक्ति र प्रभावमा कहिल्यै नपरेको र भेटघाट पनि त्यति धेरै नगरेको हामीलाई उहाँले पटक–पटक सुनाउनुभएको थियो ।’

एउटै प्रतिष्ठानले गीत–संगीत, कला क्षेत्रमा योगदान गर्न सक्दैन भन्दै उनले नीति–निर्मातालाई पटक–पटक सचेत गराएका थिए ।

वि.सं. २०४२/४३ देखि नै उनको माग थियो–‘प्रज्ञा प्रतिष्ठानलेमात्रै सबै क्षेत्रमा योगदान दिन सक्दैन । विधागत् विकास हुनसक्दैन ।’ उनको यो मागले २०६७ वैशाखमामात्रै साकाररुप पाउन सक्यो ।

‘उहाँले गीत–संगीतलाई व्यवसाय बनाउनु भएन, सस्तो गीत पनि बनाउनुभएन’–उपाध्याय भन्छन्–‘गीतलाई व्यवसाय नबनाएका कारण उहाँ जीवनको उत्तरार्धमा चेलाको सहयोगमा बाँच्नुपर्ने अवस्थामा पुग्नुभएको थियो । पैसा कमाउनु भएन नाममात्रै कमाउनुभयो ।’

गीतलाई सस्तो बनाएको भए चलचित्रमा पनि संगीत गरेर राम्रै पैसा कमाउन सक्थे तर गुरुङको स्वभावले दिएन ।

त्यसैले उनले संगीत गरेको ‘नौ लाख तारा उदाए’ भन्ने गीतजस्तै जीवनबाट उनी अस्ताए । भौतिकरुपमा अस्ताए पनि नेपाली गीत–संगीत क्षेत्रले उनलाई कहिल्यै अस्ताउन दिने छैन ।