२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


अम्बर गुरुङः नेपाली संगीतको ‘सगरमाथा’


0
Shares

दीपेन्द्र सापकोटा (रासस)
काठमाडौं, जेठ २५ । ‘नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ..।’ वि.सं. २०१८ मा कलकत्तामा रेकर्ड भएको यो गीत त्यसताका दार्जिलिङतिर निकै प्रसिद्ध थियो ।

साहित्यकार अगमसिंह गिरीद्वारा रचित यो गीतका संगीतकार सो समयमा संगीत विधामा संघर्ष गरिरहेका युवा अम्बर गुरुङ थिए ।

यसअघि फाट्टफुट्ट केही गीतमा संगीत भर्ने गुरुङ आफैंले गाएको यो पहिलो गीत थियो । यो गीत दार्जिलिङमा यति ‘हिट’ भयो कि सबै पेसा र वर्गका मान्छेले गुनगुनाउन थाले ।

अन्ततः यो गीत अल इन्डिया रेडियोले प्रतिबन्ध लगायो । सो गीत भारतीय एकताविरोधी भन्दै प्रतिबन्ध लगाइएको थियो ।

मंगलबार बिहान सबेरै निधन भएका वरिष्ठ संगीतकार गुरुङ उही युवा अम्बर गुरुङ हुन् । उनको जन्म १९९४ फागुन १४ गते भारतको दार्जिलिङस्थित लालढिकीमा भएको थियो ।

‘नौ लाख तारा उदाए’ गीत गाएपछि तत्कालीन राजा महेन्द्रले उनको प्रतिभाको कदर गर्दै नेपाल झिकाएको भनिन्छ । तर, जेहोस्, उनी २०२४ सालमा नेपाल आएको भने सत्य हो ।

राजा महेन्द्रकै चाहनाबमोजिम गुरुङले २०२६ देखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा संगीत निर्देशककारुपमा काम गरेका थिए ।

उनी २०२७ सालमा गोरखा दक्षिणबाहुले विभूषित भए । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बाँध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उनले संगीतबद्ध गरेका थिए ।

त्यस्तै ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीतिनाटक ‘मालती मंगले’ र ‘मुनामदन’लगायतमासमेत उनले संगीत भरेका थिए ।

सबैगरी उनले करिब एक हजार गीतमा संगीत भरेका थिए भने त्यसमध्ये ६/७ सय गीत उनकै स्वर र शव्दमा रहेका छन् ।

गीत–संगीतका अध्येता प्रकाश सायमी भन्छन्–‘उहाँ गीतकार, संगीतकार र गायक तीनै विधामा उत्तिकै पोख्त हुनुहुन्थ्यो ।’

राष्ट्रगान ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ तथा सैनिकगान ‘रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो’का संगीतकार गुरुङ पछिल्लो समयमा ‘राष्ट्रगायक’को उपाधि पाउने चर्चामा थिए ।

गायिका कुन्ती मोक्तान गुरुङलाई नेपाली संगीत क्षेत्रकै सर्वाधिक उच्च व्यक्ति मान्छिन् । मोक्तानलाई यस्ता उच्च व्यक्तित्वसँग धेरैपटक भेट्ने मौका पाएपनि सँगै काम गर्न नपाएकोमा भने अलि थक्थक लागेको छ ।

‘उहाँसँगका खुसीका क्षण धेरै छन्, ‘त्यतिबेला ‘राष्ट्रगान’मा उहाँसँग काम गर्ने मौका पाइनँ, अहिले उहाँ बित्नुभएपछि भने ठूलो कुरा गुमाएजस्तै लागिरहेको छ ।’

गुरुङले संगीत गरेको नारायणगोपालले गाएको ‘पोखिएर घामको झुल्का भरि संघारमा’, तारादेवीले गाएको ‘हराएझैं केही लाग्छ’, अरुणा लामाले गाएको ‘सबैले भन्थे’, ‘पोहोर साल खुसी फाट्दा’, आफ्नै आवाजको ‘किन किन तिम्रो तस्बिर (पुरानो)’, अरुणा लामा र रुक्मिणी गुरुङले गाएको ‘ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न’ जस्ता कालजयी र अमरगीत छन् ।

गुरुङका दौंतरी उमेरका साहित्यकार बैरागी काइँला भन्छन्–‘उहाँले राम्रा गीत लेखेर, गाएर र संगीत भरेर नेपाली संगीत क्षेत्रलाई नै विश्वस्तरको प्रतिस्पर्धामा लान सफल हुनुभयो ।’

गुरुङले आफैंले संगीत गरेर गाएका गीतमा ‘जसै साँझ पर्‍यो’, ‘ए फूल वसन्त’, ‘मेरो जीवनलाई’, ‘क्षितिज आकासले’, ‘दिल त म’, ‘कहीँ आफ्नो भूमरीमा आफैं पर्‍यौ कि’, ‘म अम्बर हुँ तिमी धर्ती’, ‘उकाली चढ्दा’, ‘सोधुँ सोधुँ लाग्छ’, ‘कैले लहर’ आदि लोकप्रिय छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले केही हप्ताअघिमात्र गुरुङलाई गरिएको एउटा सम्मान कार्यक्रममा भनेका थिए–‘अम्बर गुरुङ नेपाली संगीतको सगरमाथा हुनुहुन्छ ।’