२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन


0
Shares

काठमाडौं, जेठ २५ । वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ । राष्ट्रिय गानका संगीतकार गुरुङको ७९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको ग्रान्डि अस्पतालमा आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको हो ।

स्वासप्रश्वासमा समस्या देखिएपछि वरिष्ठ संगीतकार गुरुङलाई सात दिनअघि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि शुक्रबार बिहान उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । उनमा स्वासप्रश्वाससँगै भोजन नलीमा समस्या, मधुमेह तथा उच्च रक्तचापलगायतका समस्या थियो ।

उनी भारतको मेदान्त अस्पतालमा उपचार गरी गत चैत १७ गते नेपाल फर्किएका थिए । दार्जिलिङमा १९९४ फागुन १४ गते जन्मिएका उनको पुर्ख्र्यौली घर गोर्खाको रिसिङ हो । उनका तीन छोरा र एक छोरी छन् ।

संगीतकार गुरुङले ९ सय ९४ गीतमा संगीत दिएका छन् । २०१८ सालमा अगम सिंह गिरीको शब्दमा ‘नौलाख तारा उदाए’ बोलको गीत आफ्नै संगीतमा गाएर उनले सांगीतिक यात्रा शुरु गरेका थिए । यो गीत भारतविरोधी भन्दै अल इन्डिया रेडियोले प्रतिबन्ध लगाएको थियो ।

२०२१ सालमा दार्जिलिङबाट नेपाल आएका संगीतकार गुरुङले काठमाडौंमा रुपरेखा साँझ नामक सांगीतिक कार्यक्रम गरेका थिए । नेपाल आएलगत्तै उनलाई तत्कालीन राजा महेन्द्रले राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशकको रुपमा नियुक्त गरेका थिए । वरिष्ठ संगीतकार गुरुङलाई २०५६ सालमा ईमेज च्यानलले ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरेको थियो ।

वरिष्ठ संगीतकार गुरुङलाई २०५४ सालको जगदम्बाश्री पुरस्कार, २०२८ सालमा गोरखा दक्षिण बाहु चौथो, २०३८ सालमा इन्द्रराज्यलक्ष्मी पुरस्कार, २०४७ सालमा छिन्नलता गीत पुरस्कार प्रदान गरिएको थियो । नेपाली सेनाको सैनिक गीतमा संगीत दिएका गुरुङलाई सेनाले मानार्थ महासेनानीको उपाधि दिएको छ ।

अम्बर गुरुङलाई सन् २०१४ मा हङ्कङमा हिमालयन टोन्स म्युजिक एकेडेमीले महासंगीतकारको उपाधि दिएको थियो । त्यस्तै उनी सन् १९९४ मा गिरी पुरस्कार गुठी दार्जिलिङबाट सम्मानित भएको थिए ।

गुरुङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । उनको आजै तीन बजेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस