
काठमाडौं, जेठ २४ । भूकम्प र नाकाबन्दीबाट शिथिल बनेको नेपालको पर्यटन क्षेत्रमा युवा तथा महिला सहभागिता बढाउने उद्देश्यले आगामी भदौ १० गते काठमाडौंमा ‘मिस टुरिजम २०१६’ आयोजना गरिने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजक मिडिया प्वाइन्टले दिएको जानकारीअनुसार सरकारले घोषणा गरेको आन्तरिक ‘घुमफिर वर्ष २०७३’को प्रर्बद्धन गर्ने एवं पर्यटन क्षेत्रमा युवा र महिला सहभागितालाई थप सशक्तिकरण गर्ने उद्देश्यले मिस टुरिजम आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा सहभागी हुनका लागि असार ५ गतेबाट देशभर आवेदन खुल्ला गरिने बताइएको छ ।
आवेदन दिनेहरुलाई काठमाडौं, पोखरा तथा चितवनलगायतका पर्यटकीय स्थलमा अडिसन लिइने बताइएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार रुपैयाँ नगदसहित मिस टुरिजम अवार्ड प्रदान गरिने बताएको छ ।
यस्तै, फस्ट रनरअप तथा सेकेन्ड रनरअपलाई क्रमश ३० हजार र २० हजार नगदसहित पुरस्कृत गरिने आयोजक मिडिया प्वाइन्टका प्रबन्ध निर्देशक नवीन काफ्ले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्