७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


राष्ट्रियता के र कहाँ ?


0
Shares

-आदित्यमान श्रेष्ठ

नेपालमा राष्ट्रियताको नाउँ लिने वित्तिकै मदभेद र असमझ्दारी सुरु हुन्छ । किनभने आफुलाई राष्ट्रिय नसम्झने कोई हुँदैन । सबैले आफुलाई शुद्ध किसिमको राष्ट्रिय सम्झन्छन् । त्यसैले अरुलाई कट्टर राष्ट्रवादी, उग्र राष्ट्रवादी, महेन्द्र राष्ट्रवादी, जडवादी राष्ट्रवादी आदि भन्ने गरेका छन् । आखिर हाम्रो राष्ट्रवाद के हो र कस्तो हुनु पर्छ भत्रे सबैको चासोको विषय भएको छ ।

नेपाली शब्दकोषमा राष्ट्रियतालाई यसरी बयान गरिएको छ । ‘राष्ट्रप्रतिको आस्था वा राष्ट्रिय हितको भावना, राष्ट्र प्रेम, राष्ट्रको स्थिति वा आफ्नो पन ।’ राष्ट्रवादः ‘आफ्नो राष्ट्रको उन्नति र हितलाइ सर्वोपरि मान्ने सिद्धान्त वा राष्ट्र र राष्ट्रियता प्रतिको विशेष भक्ति भावना । मध्ययुगीन सामन्ती निरङ्कुशताका विरुद्धमा राष्ट्रिय स्वतन्त्रताको आवाज उठेको, पूँजीवादी चिन्तन वा बिचारधारा ।’ नेपालमा राष्ट्रियताबाट के बुझिनु पर्छ भनेर सार्वजनिक छलफल हुनु आवश्यक देखिन्छ । यही उद्देश्यबाट प्रेरित भएर यो प्रयत्न गरिएको छ ।

सबभन्दा पहिला बुझ्नु पर्ने कुरा के भने राष्ट्रियताका विभिन्न पक्ष छन् । भित्री पक्षः व्यक्तिगत धारणा र चरित्र र वाह्य पक्षः व्यापक प्रादेशिक धारणा । १. भित्री पक्षः व्यक्तिगत धारणा र चरित्रसित सम्बन्त्र राख्ने गुणहरु हुन्ः  ईमान्दारी, दक्षता, सदाचार आदि । बेइमानी, घुसखोरी, भ्रष्टाचार, दुराचार, नालायकी राष्ट्रियतालाइ नास गर्ने अवगुण हुन् । अर्को प्रश्न उठ्छ राष्ट्रियता कहाँ छ ? असल शिक्षामा छ । असल स्वास्थ्यमा छ । असल चरित्रमा छ । असल व्यवहारमा छ । असल इमान्दारीमा छ । असल योग्यता र दक्षतामा छ । असल सेवामा छ । यसैसित गाँसिएको प्रश्न छ राष्ट्रियता काहाँ छैन ? हिंसामा छैन । मारकाटमा छैन । आवेगमा छैन । शत्रुतामा छैन् । गालीगलौजमा छैन । कसैलाइ शत्रु घोषणा गर्ने काममा छैन । नारामा छैन ।

यसको वाह्य पक्षमा मुख्यतया एउटा व्यापक प्रादेशिक धारणा पाइन्छ । बसाइँ सराई, विदेश घुमाई, विदेशी भाषा सिकाई, विदेशीसित घुलमिलाई नेपालीको चरित्र हो । नेपालीको यिनै गुणमा टेकेर नेपालको राष्ट्रियताको अवधारणा बनाउनु पर्ने भएको छ । नेपालको भावनात्मक सिमाना विश्वव्यापी हुँदै गएको छ । नेपालीहरु पहिले र अहिले आर्थिक प्रयोजनको लागि विदेसिने गर्द छन् । नेपालीहरु बाहिरिने क्रम जारि नै छ र रहने छ । अब देखि नेपालीहरु राजनैतिक लक्ष लिएर बाहिर जाने गर्नु पर्छ भत्रे धारणा आउँदै छ । यो अवधारणालाइ आत्मसात गर्नु पर्द छ । यस धारणा अन्र्तगत नेपाल विश्वको एक भाग भए जस्तै विश्वलाई पनि नेपालको एक भागको रुपमा मान्नु पर्द छ । यो अवधारणाबाट हाम्रो राष्ट्रियता बलियो हुन्छ भनेर मानेर राष्ट्रिय नीति बनाइनु पर्द छ । देश छाडेर जाने बित्तिकै राष्ट्रियता मर्दैन । त्यो झन् जाग्द छ । देश प्रति माया बढ्छ । आफ्नो संस्कृतिप्रति आकर्षण बढ्छ ।

नेपालको इतिहासले यस धारणालाई बल पु¥याएको छ । बुद्धले विदेशिएर ज्ञान प्राप्त गरे । अरनिकोले चीनमा गएर नाउँ कमाए । भृकुटीको नाउँ पनि देश बाहिर गएर नै रह्यो । संसारमा आफ्नो देश छाडेर जाने चलन छ । आइरिस आप्रवासीहरु अमेरिकाका राष्ट्रपति भएको गर्व गर्दछन् । ओबामा राष्ट्रपति भएकोमा केनियामा खुशियाली मनाइन्छ किनभने उनका बाबु केनिया मूलका थिए । भारतीय र चिनीयाहरु संसारभर फैलिएका छन् । उनीहरु राष्ट्रप्रेमी नभएर गएका होइनन् । उनीहरुले आ—आफ्ना जन्मभूमिको विकासमा प्रत्यक्ष र परोक्षरुपमा सहयोग गरेका छन् ।

नेपालीहरुले पनि यस्तै काम गरिरहेका छन् । देश छाड्ने वित्तिकै राष्ट्रियताको भावना बिलाउँछ भनेर मात्रु सरासर गलत हो । विश्वसितको सम्बन्धमा नेपालीहरुले सहयोग माग्ने होइन सहयोग दिने कुरा गर्नु उचित हुन्छ । नेपालले विभिन्न मुलुकको सुरक्षामा सहयोग गरिरहेका छन् र अरु धेरै गर्न सक्द छन् । भारतमा नेपाली बहादुरहरुले साँच्चिकै सुरक्षाको काम गर्दै छन् । त्यसलाइ हेय दृष्टिबाट नहेरेर गर्वको रुपमा हेर्नु पर्दछ । विश्वलाई अनेक प्रकारको सेवा चाहिएको छ जुन नेपालीहरुले सजिलै दिन सक्छन् । यसलाई पनि राष्ट्रियताको कडि बनाउनु जायज हुन्छ ।

राष्ट्रियतालाई के कुराले सघाउने गर्दछ र के कुराले नाश गर्ने गर्दछ भनेर विवेचना गर्नु आवश्यक छ । सबभन्दा पहिला सघाउने कुराहरुको चर्चा गरौं । यसको लागि हामीले केही पुराना संस्कृतका उक्तिहरु उपयोगी पाउन सक्छौं । जस्तोः उद्यमः साहसं धैर्यं बुद्धिः शक्तिः पराक्रमः । षडेते यत्र वर्तन्ते तत्र देवः सहायकृत् ।। सुभाषित भाण्डागार । उद्योग, साहस, धैर्य, बु्द्धि, शक्ति र पराक्रम – यी ६ गुण जो सित छ उसलाई देवताले सहयोग गर्द छ । यसमा कसैको दुईमत छैन । त्यसतै अर्को उक्ति छः आचारः कुलमाख्याति देशमाख्याति भाषणम् । सम्भ्रमः स्नेहमाख्याति वपुराख्याति भोजनम् ।। चाणक्य ३—२ । आचरणबाट कुल कस्तो रहे छ भनेर बुझिन्छ । कुराकानीबाट देशको चरित्र बुझिन्छ । आदरले प्रितिलाई दर्शाउँछ । शरीरले खानपानलाई प्रष्ट्याउँछ । त्यसकारण हामीले राष्ट्रको ईज्जत राखेर कुराकानी गर्नु पर्ने हुन्छ ।

त्यसैगरी हामीले तलका उक्तिबाट यस सम्बन्धमा केही महत्वपूर्ण पाठ लिन सक्छौं । अश्वं नैव गजं नैव व्याघ्रं नैव च नैव च । अजा पुत्रं बलिं दद्याद् दैवो दुर्बलघातकः ।। घोडा होइन, हाथी होइन, बाघ पनि होइन, बलि दिन मानिसहरु बाख्राको बच्चा खोज्छन् । दैवले दुर्बललाई नै बलि चढाउँने गरेको छ । भनेपछि हामी जति कमजोर भएर जान्छौं उति धेरै हेपिएर बस्नु पर्द छ । जति बलियो भएर जान्छौं उति धेरै ईज्जत बढदै जान्छ ।
अर्को श्लोकले भन्छः आत्मवर्गं परित्यज्य परवर्गं समाश्रयेत् । स्वयमेव लयं याति यथा राज्यमधर्मतः ।। चाणक्य ११—२ । आफन्तलाई त्यागेर अरुसित सहारा लिने व्यक्तिले स्वयंको नास गर्द छ । त्यसै गरी अन्याय र अधर्म गर्दा राज्यको नास हुन्छ । यो झन् नेपालको वर्तमान स्थितिमा मिलेको देखिन्छ । राजनैतिक क्षेत्रमा लागेका मानिसहरुको गतिविधि हेर्दा यो भत्र सकिन्छ कि व्यक्तिगत र राष्ट्रिय स्तरमा यो चरितार्थ भएको पाइन्छ । फलस्वरुप नेपाल र नेपालीको अस्मिता गिर्दो देखिएको छ । हामीलाई चाहिएको यसैको सुधार हो ।