८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


९६ वर्षमा बीए पास गरेर सिगेमीले बनाए नयाँ विश्व कीर्तिमान


0
Shares

टोकियो, जेठ २२ । एकजना जापानी नागरिकले ९६ वर्षमा बीए पास गरेर बीए पास गर्ने विश्वको सबैभन्दा बढी उमेरको व्यक्तिको नयाँ कीर्तिमान राखेका छन् ।

उनले जापानको क्योतो विश्वविद्यालयबाट हालैमात्र सेरामिक कला विषयमा स्नातक पास गरेका थिए ।

९६ वर्षमा स्नातक गरेका उनलाई गिनिज वर्ल्ड रेकर्डले हालैमात्र संसारको सबैभन्दा पाको उमेरमा स्नातक गर्ने व्यक्तिकारुपमा प्रमाणपत्र प्रदान गरेको शनिबारका जापानी सन्चारमाध्यमले लेखेका छन् ।

जापानका ९६ वर्षीय नागरिक सिगेमी हिराताले क्योतो विश्वविद्यालयबाट सबैभन्दा पाको उमेरमा स्नातक पास गरेकाले उनलाई गिनिज वर्ल्ड रेकर्डले प्रमाणपत्र दिएको हो ।

उनी सन् १९१९ मा हिरोसिमामा जन्मिएका हुन् । उक्त विश्व रेकर्डपछि खुसी भएका उनका साथीहरुले उनलाई सोही कलेजमा स्वागत् गरेका थिए ।

उनले योमियुरी समचारपत्रमा भने–‘मलाई बधाइज्ञापन गर्न को साथी आए मैले चिनिनँ तर मलाई आज निकै नै खुसी लागेको छ ।’

त्यस रेकर्डले आफूलाई निकै ठूलो उर्जा दिएको उनले सो पत्रिकालाई बताएका छन् । उनलाई सो कोर्ष पूरा गर्न ११ वर्ष लागेको बताइएको छ ।

आफ्नो जागिरबाट सेवानिवृत्त भएका उनले ११ वर्षअघि सो विश्वविद्यालय भर्ना भएका थिए ।

उनले आफू कम्तीमा पनि १०० बाँच्ने इच्छा भएको र त्यति समयसम्म बाँच्ने धारणा राखे । आफूले केही न केही नाम राखौं भनेर नै यो काम गरेको उनले बताए ।

‘हुन त म सक्षम र सबल नै छु तरपनि यो उमेरमा क्याम्पस जाँदा भने एक हिसाबले हाँसोको पात्र हुने गरेको छ’–उनले भने ।

सामान्यतया जापानी नागरिकहरु विश्वका अन्यको तुलनामा बुढेसकालमा पनि सक्रियरुपमा काम गरिहरने हुन्छन् । रासस/एएफपी