
काठमाडौं, जेठ २२ । कोपा अमेरिका फुटबल प्रतियोगिता शनिबारदेखि अमेरिकामा सुरु भएको छ । शनिबार बिहान अमेरिकाको क्यालिफोर्नियामा भएको समूह चरणको पहिलो खेलमा कोलम्बियाले विजयी सुरुवात गरेको छ ।
कोलम्बियाले आयोजक अमेरिकालाई २–० ले हराएको हो । कोलम्बियाको जितमा क्रिष्टियन सापाटा र कप्तान जेम्स रोड्रिग्वेजले एक एक गोल गरे । ८ औं मिनेटमा सापाटाको गोलबाट कोलम्बियाले सुरुवाती अग्रता लियो । ४२ औं मिनेटमा रोड्रिग्वेजले कोलम्बियाको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र कोलम्बिया २–० ले विजयी भयो । दक्षिण अमेरिका बाहिर पहिलो पटक भएको प्रतियोगितामा अमेरिका र कोलम्बिया रहेको समूह एमा कोस्टारिका र पाराग्वे पनि छन् ।
घरेलु दर्शकको साथ पाएको अमेरिकाले गोल गर्ने केही राम्रा मौका गुमाएको थियो । अमेरिकालाई हराए पनि कोलम्बियाले उत्कृष्ट प्रदर्शन भने गर्न नसकेको फुटबल विश्लेषकले बताएका छन् ।
अमेरिकाले कोलम्यिालाई खेल अवधिभर दबाबमा राख्न भने सफल भएको थियो । अमेरिकाले समूहको दोस्रो खेलमा आउँदो बुधबार कोस्टारिकासँग खेल्ने छन् । यस्तै कोलम्बियाले पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा सहभागी १६ अमेरिकी देशलाई चार समूहमा विभाजन गरिएको छ । विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता शुरु भएको एक सय वर्ष पुगेको अवसरमा भएको प्रतियोगितामा पहिलो पटक अमेरिकामा भएको छ ।
डिफेन्डिङ च्याम्पियन चिलीले आउँदो मंगलबार अर्जेन्टिनासँग खेल्ने छ । अर्जेन्टिनाको टिममा स्टार स्ट्राइकर लियोनल मेस्सी छन् । पाँच पटकको विश्व विजेता ब्राजिलले सन् २००७ देखि कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन ।
८ पटक कोपा अमेरिकाको उपाधि जितेको ब्राजिल यसपटक बार्सिलोनाका स्टार स्ट्राइकर नेइमार बिना खेल्दै छ । ब्राजिलमा आउँदो अगस्टमा हुने रियो ओलम्पिकसको तयारीका लागि नेइमारले कोपा अमेरिका नखेल्ने भएका हुन् ।
यस्तै ब्राजिलको टिममा राफिन्हा मांशपेसीको चोटका कारण टिममा छैनन् । यस्तै काका पनि यो प्रतियोगितामा उपलब्ध छैनन् । ब्राजिलले आइतबार इक्वेडरसँग आफ्नो पहिलो खेल खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्