
काठमाडौं, जेठ २० । भारतको अहमदावादस्थित विशेष अदालतले सन् २००२ मा गुजरातमा भएको मुस्लिमविरोधी दंगामा संलग्न २४ जनालाई विहीबार दोषी ठहर गरेको छ ।
३६ जना भने निर्दोष सावित भएका छन् ।
‘गुलबर्ग सोसाइटी’ हत्याकान्ड भनिने उक्त नरसंहारमा विश्व हिन्दू परिषद्का नेता अतुल वैद्य र कांग्रेसका पूर्वपार्षद मेघजी चौधरीसमेत दोषी पाइएका छन् ।
सन् २००२ को फेब्रुअरी २८ मा अहमदावादको गुलबर्ग हाउजिङमा पसेर उत्तेजित भीडले ६९ जनाको हत्या गर्नुका साथै आगजनी र लुटपाट मच्चाएको थियो ।
मारिनेमा कांग्रेसका पूर्वसांसद एहसान जाफ्रीसहित धेरै मुस्लिम थिए ।
गुजरातको गोधरामा साबरमती एक्सप्रेसमा ६० जना हिन्दू तीर्थयात्री मारिने गरी भएको आगजनीपछि उक्त घटना भएको थियो । गुजरात दंगामा एक हजारभन्दा बढीको मृत्यु भएको थियो । मारिनेमा धेरैजसो मुस्लिम थिए ।
आलोचकहरुले त्यसबेला राज्यका मुख्यमन्त्री रहेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले दंगा रोक्न कुनै पहल नगरेको आरोप लगाउने गरेका छन् ।
तर, मोदीले भने आफूले कुनै गलत काम नगरेको भन्दै दंगाका सम्बन्धमा माफी मागेका छैनन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्