
प्रकाश लम्साल (इमेज)
बारा, जेठ १७ । बाराको बरियारपुरबाट अपहरणमा परेका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बारामा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्यायले नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा उद्योगी केडियालाई सकुशल मुक्त गर्न सफल भएको बताए ।
उनले केडियालाई आइतबार नै परिवारको जिम्मा लगाइएको जानकारी पनि दिए ।
अपहरणमुक्त केडिया तनावमा रहेकाले उनलाई पत्रकार सम्मेलनमा प्रस्तुत् नगरेको भन्दै प्रहरीले अपहरणको आरोपमा पाँचजनालाई नियन्त्रणमा लिइएको र अनुसन्धानका लागि उनीहरुलाई पनि सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।
यद्यपि, केडियामा अपहरणमुक्तपछि कुनै मानसिक र शारीरिक समस्या भने नरहेको चिकित्सकलाई उल्लेख गर्दै प्रहरीले जानकारी दिएको छ ।
पक्राउपर्नेहरुमा बारा, कबहीजब्दीका चन्चल पाण्डे, बरियारपुरका जियालाल यादव र पुष्कर सिंहको नाम भने प्रहरीले सार्वजनिक गरेको छ ।
घटनामा नेपाल र भारतका आपराधिक समूह र व्यक्तिहरुको संलग्नता रहेको र दुई महिनादेखि अपहरणको योजना बुनिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्