
इस्लामावाद, जेठ १७ । विश्वमा अनेक प्रकारका पुल छन् । तर तीमध्ये भिन्न तथा परम्परागत केही पुल छन्, जो आम जनजीवनको हिस्सा बन्नुका साथै जोखिमपूर्ण पनि छन् ।
हुसैनी पुल पाकिस्तानकै सबैभन्दा खतरापूर्ण पुलमध्येको एक हो । डोरी र काठबाट बनेको यो पुल गिल्गिट बालिस्तान क्षेत्रमा छ । यो पुल स्थानीयले नै आफ्नो जीवनशैलीमा सहजताका लागि निर्माण गरेका हुन् । तर यो पुलबाट यात्रा गर्नु कम जोखिमपूर्ण छैन । कयौं पर्यटक यो पुल हेर्नकै लागि पुग्ने गरेका छन् ।
कुन्हार नदीमा बनाइएको टार्जन पुल पनि जोखिमपूर्ण मानिन्छ । नारनस्थित यो पुल यति जोखिमपूर्ण छ कि, पुल पार गर्ने क्रममा नदीमा नहेर्न यात्रीलाई सचेत गराइन्छ ।
फलामे तार र काठबाट बनेको एस्टोर पुल गिल्गिट मै छ । यो पुल मानवका लागिमात्र प्रयोगमा ल्याइएको छ । फलामे तारमा काठका फल्याक बाँधेर बनाइएको यो पुल जोखिमपूर्ण मानिन्छ ।
दिओसाई पुल त्यहाँको निकुञ्ज जाने बाटोमा पर्दछ । यो पुल डोरीको मद्दतमा बनाइएको छ । यो पुल हुँदै साना सवारी साधनसमेत संचालन हुँदै आएका छन् ।
५० वर्ष अघि निर्माण भएको दनयोर पुल पनि खतरापूर्ण पुल हो । यो पुल गिलगित र डेनयोरलाई जोड्ने बाटोमा पर्दछ । यसलाई जिल्ला प्रशासनले खतरापूर्ण भन्दै सवारी साधनका लागि बन्द गरिदिएको छ । तर पैदलयात्री भने यो पुल हुँदै अझै यात्रा गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्