७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मोदी सवार विमानलाई आपतकालिन अवतरण गराइयो


0
Shares

जयपुर, जेठ १७ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सवार विमानलाई आइतबार राति आपतकालिन अवतरण गराइएको छ ।

कर्नाटकबाट दिल्ली आउने क्रममा विमानलाई जयपुर विमानस्थलमा आपतकालिन अवतरण गराइएको हो ।

अधिकारीहरुका अनुसार दिल्लीमा अचानक मौसम खराब भएपछि मोदी सवार विमानलाई जयपुरमा आपतकालिन अवतरण गराएर दुई घण्टा राखिएको थियो । विमानस्थलमा विमान अवतरण गरेपछि पनि मोदी विमानबाट बाहिर भने निस्किएनन् । उनले विमानभित्रै राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेसँग राजनीतिक भेटवार्ता गरेका थिए ।

मोदीलाई भेट्न मुख्यमन्त्री राजे विमानस्थलमै पुगेकी थिइन् । उनीसँगै राज्यका मुख्यसचिव सीएस राजन, केही मन्त्री पनि विमानस्थल पुगेका थिए । मोदीले विमानभित्रै भेटवार्ता गरेका थिए ।

जयपुरमा प्रधानमन्त्री सवार विमान आपतकालिन अवतरण गर्ने सूचना पाउनासाथ विमानस्थलका अधिकारीहरु र सुरक्षा अधिकारीहरु विमानस्थल पुगेका थिए । मोदी जयपुरमै बस्ने सम्भावनालाई समेत ख्यालमा राख्दै सहरको सुरक्षा बढाइएको थियो । तर मौसममा सुधार आएपछि दुई घण्टाको बसाइ सकेर मोदी दिल्लीतर्फ प्रस्थान गरे ।

दिल्लीमा आइतबार आँधी आउनुका साथै र वर्षा भएको थियो । खराब मौसमका कारण आधा दर्जन उडान डाइभर्ट गरिएको थियो । (एजेन्सी)