९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


मैत्रीपूर्ण फुटबलमा नेपाल र लाओस एक–एक गोलको बराबरीमा सीमित


0
Shares

काठमाडौं, जेठ १६ । नेपालले आज लाओससँग अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल बराबरीमा टुंग्याएको छ । लाओसको भियनतानस्थित राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे खेल सुरु भएको म्याचमा मध्यान्तरअघि गोरहित बराबरी खेलेका दुबै टिमले मध्यन्तरपछि एक अर्कामा दबाब सिर्जना गरेका थिए ।

७७ औं मिनेटमा नेपालका लागि विशाल राईले आकर्षक गोल गरेर टिमलाई अग्रता दिलाए । तर यो अग्रता दुई मिनेट पनि टिक्न सकेन । ७९ औं मिनेटमा लाओसले बराबरी गोल गर्‍यो ।

जापानी प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टोलीको जिम्मेवारी सम्हालेयता नेपालको यो पहिलो औपचारिक खेल हो । यसअघि उनको नेतृत्वमा नेपालले मलेसियाको २१ वर्ष मुनिको टोलीसँग मैत्रिपुर्ण खेल खेलेको थियो ।

अनिल गुरुङ्गको कप्तानीमा टिम मैदानमा उत्रने भनिए पनि विराज महर्जनको नेतृत्वमा टिम मैदानमा उत्रिएको थियो । गोलपोष्टको जिम्मा किरण चेम्जोङ्गले सम्हालेका थिए । यसअघि अनिल गुरुङ्गले कप्तानी सम्हाल्ने बताइए पनि पहिलो रोजाईमा उनी परेनन् ।

यसैगरी चर्चित खेलाडीहरु भरत खवास, किरण चेम्जोङ लगायतले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । लामो समयसम्म नेपाली राष्ट्रिय फुटबल टोलीले खेल्ने औपचारिक प्रतियोगिता नभएकाले अखिल नेपाल फुटबल संघ (एन्फा)ले मैत्रिपूर्ण खेललाई प्राथमिकता दिएको हो ।

विश्वकप छनोट र एसियन कप छनोटबाट बाहिरीसकेको नेपालले खेल्ने अर्को औपचारिक फुटबल प्रतियोगिता अर्को वर्ष बंगलादेशमा हुने साफ च्याम्पियनसिप हो ।