७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


अमेरिकामा पहिलो पटक भेटियो ‘सुपर बग’ ब्याक्टेरिया संक्रमित


0
Shares

वासिंटन, जेठ १४ । अमेरिकामा पहिलो पटक ‘सुपर बग’ ब्याक्टेरिया देखा परेको छ । एकजना अमेरिकी महिलामा ‘सुपरबग’ ब्याक्टेरियाको संक्रमण भेटिएको हो ।

संक्रमित महिलाको नाम भने सार्वजनिक गरिएको छैन । चिकित्सकहरुको विशेष निगरानीमा उनको उपचार भइरहेको अमेरिकी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार यो ब्याक्टेरियाले शरीरको प्रतिरोधात्मक क्षमताका लागि प्रयोग हुने कुनै पनि एन्टिबायोटिक असर राख्न दिँदैन । अमेरिकी वरिष्ठ स्वास्थ्य अधिकारी थोमस फ्रेडेनले यो ब्याक्टेरियाको रोकथामका उपाय पहिल्याउन ढिला भएमा एन्टिबायोटिकको असर छिट्टै समाप्त हुनेप्रति विश्वको ध्यान केन्द्रित गरेका छन् ।

अमेरिकामा देखा पर्नुभन्दा अगाडि ‘सुपर बग’ क्यानडा, दक्षिण अमेरिका, अफ्रिका र युरोपमा देखा परेको थियो ।

यसैबीच बेलायतका शोधकर्ताहरुको एक टोली ‘सुपर बग’ नियन्त्रणका लागि उपाय सुझाउन लागिपरेको छ । भारतको नयाँ दिल्लीको पानीमा ‘सुपर बग’ ब्याक्टेरिया भेटिएपछि शोध थालिएको बताउँदै बेलायती टोलीले उपाय पहिल्याउन बर्षौं समय लाग्नसक्ने बताएका छन् । (एजेन्सी)