२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

८०/८५ प्रतिशत जनताले धर्मनिरपेक्षता राख्नु हुँदैन भनेकै हो : डा. शेखर कोइराला


0
Shares

नेपालको राजनीतिक इतिहासको विभिन्न कालखण्डमा परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको नेपाली कांग्रेस अहिले प्रमुख प्रतिपक्षी भूमिकामा छ । संसदको सबैभन्दा ठूलो दल रहेर पनि प्रतिपक्षमा रहेको कांग्रेसले सरकार परिवर्तनको असफल प्रयास पनि गर्‍यो । संविधान कार्यान्वयनको गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने समयमा किन सरकार परिवर्तनको प्रयास गरियो ? कांग्रेसले आगामी दिनमा कस्तो भूमिका निर्वाह गर्नेछ ? के आम चर्चामा सुनिएझैं कांग्रेसले भारतीय स्वार्थ बोकिरहेको हो ? पार्टीभित्र गुटगत राजनीतिको अवस्था कस्तो छ ? यी र यस्तै समसामयिक विभिन्न विषयमा कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालासँग इमेजखबर डट कमका लागि ठाकुर बेलबासेसुदर्शन आचार्यले गरेको कुराकानी :

सरकार परिवर्तनका लागि नेपाली कांग्रेसले माओवादीलाई अघि सार्‍यो, यद्यपि त्यो प्रयास असफल भयो, कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्न नसक्ने भएर माओवादीलाई अघि सारेको थियो ?

नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न नसक्ने भन्ने होइन । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गरेको हो तर माओवादीले सबै पक्षसँग सहमति जुटाउन छलफल गरिसकेको भन्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्न आग्रह गरेपछि कांग्रेसले समर्थन जनाएको हो । पछि गएर प्रचण्डजीले नै ‘यु–टर्न’ गर्नुभयो ।

यसको अर्थ राजनीतिक अस्थिरता निम्त्याउन कांग्रेस नै लागेको हो ?

अहिलेको पद्धति नै त्यस्तै छ । यो कांग्रेसले निम्त्याएको कुरा होइन । सबै दलले यो पद्धतिमा समर्थन जनाएका छन् । संसदीय अभ्यासमा गइसकेपछि प्रक्रियाबाट सरकार परिवर्तन गर्नु सामान्य हो । अहिलेको पद्धतिमा बहुमत कुनै एउटा पार्टीको पुग्दैन, त्यस्तो अवस्थामा गठबन्धन सरकार बन्छ, गठबन्धन परिवर्तन भइरहन्छ । प्रतिपक्षी भएपछि जहिले पनि सरकारको नेतृत्वका लागि प्रयास गर्ने नै हो ।

तपाईले कुनै पनि दलको बहुमत नआउने प्रणालीको कुरा गर्नुभयो, यस्तो प्रणाली अपनाएर मुलुकले प्रगति गर्न सक्ला ?

नेपाली कांग्रेसले यस्तो प्रणालीमा जाऔं भनेको थिएन । हामीले मात्र भनेर पनि हुनेवाला थिएन । संविधान बनाउने क्रममा अन्य दलहरुको सुझाव आउने क्रममा अहिलेको निर्वाचन प्रणालीमा सबैको सहमति भयो ।

यसले देशलाई राम्रो गर्छ र ?

मेरो नजरमा त यो प्रणालीले देशलाई राम्रो गर्दैन । गठबन्धन संस्कार विकसित हुँदै गयो भने राम्रो गर्ला, तर त्यसका लागि समय लाग्न सक्छ । हामी भर्खर त्यस्तो संस्कारमा अघि बढ्दै छौं । चुनाव अघि नै गठबन्धन बनाएर जाँदा त्यसको महत्व र प्रभाव बढी हुन्छ ।

६–६ महिनामा सरकार परिवर्तन गर्ने चलखेल चाहीँ कहिलेसम्म रहिरहन्छ ?

यसको त केही उपाय नै छैन । या त हामी बहुमतीय प्रणाली मै जानुपर्छ । प्रत्यक्ष निर्वाचन प्रणाली मै गएमात्र यसको समाधान होला । समानुपातिक निर्वाचन प्रणाली अपनाउँदासम्म यस्तै हो ।

समानुपातिक निर्वाचन प्रणालीको यो कमजोरी हुँदा हुँदै यसलाई नै किन रोजिएको ?

यो प्रणालीलाई नेपाली कांग्रेसले मात्र रोजेको होइन । नेपाली कांग्रेसले त समानुपातिकलाई संसदको माथिल्लो सदनमा लैजाउँ भनेको पनि हो । तर अन्य दलहरु पनि छन्, कांग्रेसको मात्र त त्यहाँ केही चल्नेवाला थिएन । अन्य दलहरुले त्यसलाई स्वीकारेनन् । त्यसपछि हामी मिश्रित प्रणालीमा गयौं ।

अन्य दलले यो प्रणालीलाई किन रोजेजस्तो लाग्छ तपाईलाई ?

मेरो विचारमा देश अस्थिर भइरहोस्, सत्तामा पुग्न सकियोस् भन्ने नै मूख्य कारण हो । कम से कम ‘थ्रेस होल्ड’ राखेको भए पनि यो समस्या धेरै कम हुने थियो । ‘थ्रेस होल्ड’ राख्न पनि उहाँहरु मान्नु भएन ।

त्यसो भए यो संविधानले देशलाई राजनीतिक अस्थिर बनाइरहन्छ ?

म त्यो भन्दिनँ । सुझबुझका साथ अघि बढ्यौं, निर्वाचनभन्दा अघि नै गठबन्धन बनायौं, सिट बाँडफाँट मिलाउन सक्यौं भने समस्या समाधान हुन्छ ।

अहिलेको राजनीतिक चरित्रलाई हेर्ने हो भने दलहरुबीच त्यस्तो सहमति होला भनेर विश्वास गर्न सकिन्छ ?

त्यो त गाह्रो छ ।

त्यसो हो भने देशले अब राजनीतिक विचलनको सामना गर्नुबाहेक विकल्प छैन ?

होइन, सरकार बनाउने कुराले मात्र यसलाई नहेर्नुस् न । निर्वाचनभन्दा अगाडी हामीले त्यस्तै गठबन्धन बनाउन सक्यौं भने एउटा गठबन्धन पूर्ण बहुमतमा पुग्न सक्छ, जस्तो भारतमै त्यस प्रकारको अभ्यास छ । भारतमा निर्वाचन अघि नै त्यस्तो गठबन्धन बनिसक्छ ।

अहिले राष्ट्रियताको विषयमा पनि निकै बहस भइरहेको छ, राष्ट्रवादी र अराष्ट्रवादी भनेर कित्ताकाट हुन थालेको छ, यो कस्तो बहस हो ?

राष्ट्रियताको कुरा गर्दा हामीले हिमाल, पहाड, तराई–मधेसमा बस्ने हामी सबै नेपाली हो भन्ने भावना हुनु पर्‍यो । नेपालमा उग्रराष्ट्रवाद, अन्धराष्ट्रवाद, अतिराष्ट्रवादका कुरा गरेर राष्ट्रियता मजबुत हुन्छ भन्ने धारणा देखिन्छ । त्यसले राष्ट्रियता मजबुत हुने होइन, झन् कमजोर हुन्छ ।

हामी विभिन्न जाती, धर्म, वर्ण, लिङ्ग, क्षेत्रमा विभाजित भए पनि राष्ट्रका निम्ति एउटै सोच, एउटै बिचार भयो भनेमात्र राष्ट्रिय एकता, राष्ट्रियता र राष्ट्र बलियो हुन्छ । मधेसलाई हेर्ने दृष्टिकोण अहिले गलत छ । त्यसले अप्ठेरो परिस्थिति सिर्जना गर्दछ ।

त्यस्ता दृष्टिकोण भएका मान्छे कांग्रेसमा पनि होलान् नि ?

छन् त्यस्ता मानिस । यो राष्ट्र नेपालीको हो, मधेसको समस्या हाम्रो हो, हामीले नै समस्या समाधान गर्नुपर्छ भन्ने सोच विकसित हुनु पर्दछ ।

घरभित्रको कलहले उत्पन्न गराइदिएको राष्ट्रियता र अराष्ट्रियताको विषयले वैदेशिक हस्तक्षेप निम्तिदैंछ भनिन्छ, के यो सत्य हो ?

नेपालमा भारतको चलखेल भयो भनेर सँधै भनिएको छ, यसमा केही सत्यता पनि छ । चीनले पनि शान्त कुटनीति अघि बढाइरहेको छ । यता आएर चीन विश्वको दोस्रो शक्तिशाली मुलुकमा विकसित भइसकेको छ । उसको आफ्नै चाहना छन् । त्यो चाहनालाई परिपूर्ति गर्न उसले पनि बढी चलखेल गर्न थाल्यो ।

भारतमा छात्रबृत्ती पाएर पढ्न जानेलाई अराष्ट्रिय भन्न थालिएको छ, तर चीनमा पनि छात्रबृत्तीमा पढ्न जानेको संख्या कम छैन । चीनमा कति संख्यामा नेपाली पढ्न गएका छन् भनेर कसैले सोचेको पनि छैन । यस्ता आधारमा गरिने राष्ट्रियताका कुरा अतिराष्ट्रवाद हो । नेपालको सन्दर्भमा जति छिमेकी मुलुकलाई गाली गर्‍यो, त्यति राष्ट्रवादी भइन्छ र राष्ट्र बलियो हुन्छ भन्ने सोच हामीले विकसित गर्‍यौं । तर यो विल्कुल गलत हो । यसले नेपाललाई झन नराम्रो दलदलमा फसाउँछ ।

अहिले त भारतको सम्बन्धमा सरकारले नै प्रतिकार गरेको अवस्था छ, यसलाई कसरी हेर्ने ?

यसले राष्ट्रियता मजबुत हुँदैन । उहाँहरु राष्ट्रियता र सार्वभौमिकताको कुरा गर्नुहुन्छ, सार्वभौकितालाई विश्वमै नयाँ ढंगले परिभाषित गर्नुपर्ने आवश्यकता देखिएको छ । जलवायु परिवर्तन, आतंकवाद, मानवअधिकार उल्लंघनका कुरा र विश्व बजारिकरणले गर्दा सार्वभौमिकताको दायरा बढाइदिएको छ । अहिले सरकारमा रहेका साथीहरुले जसरी कुरा गर्दै हुनुहुन्छ, त्यसले हामीलाई विश्वबाट झन् अलग्याउँछ भन्ने मलाई लाग्छ ।

एकातिर उहाँहरु सार्वभौमिकताको कुरा गर्ने अर्कोतिर भारत सरकारलाई चार बुँदे दस्तावेज बुझाउने पनि उहाँहरु नै हो । नेपालको संविधानबारे भारतलाई चार बुँदे प्रतिबद्धता बुझाउँदा उहाँहरुको सार्वभौमिकता कहाँ गयो ? उहाँहरुको राष्ट्रियता कहाँ गयो ? त्यसैले सरकारले सोच्नुपर्ने कुरा, मधेस नेपालमा छ र मधेसको समस्या हामी नेपालीले समाधान गर्नुपर्छ भन्ने सोच विकसित गर्नुपर्छ । यो भएमा राष्ट्रियता आफैं मजबुत हुन्छ । कुनै देशलाई गुहार्नु पर्दैन ।

तर कांग्रेसले भारतको बुई चढेर सरकार परिवर्तन गर्न लाग्यो भनिदैंछ, कांग्रेसको यो भूमिका चाहीँ ठिक हो ?

यो विल्कुल गलत आरोप हो । संयोग भनौं, शेरबहादुरजी पत्नीको उपचारका लागि भारत जानुभएको थियो । उहाँ सरकार परिवर्तनका लागि पहल गर्न भारत जानुभएको भनेर हल्ला चलाइयो । सरकार परिवर्तन गर्न भारत जानै पर्दैन ।

संविधानले सुनिश्चित गरेका कतिपय मुद्दा युरोपेली युनियनको स्वार्थमा समावेश भएको हो भनिन्छ, एउटा संविधान पनि हामीले आफ्नो स्वार्थमा बनाउन नसकेका रहेछौं त ?

खुलेर भन्नुस् न, कुन विषयमा त्यस्तो भएको ?

धर्म निरपेक्षता, संघीयता जस्ता विषयमा राजनीतिक प्रणाली कै कुरामा पनि युरोपेलीहरुको स्वार्थमा संविधानमा व्यवस्था गरियो भन्ने सुनिन्छ नि त ?

पहिलो जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुनुभयो । त्यो बेला कांग्रेसकै नेतृत्वमा संविधान बनायौं । २०४७ सालको संविधान बनाउने क्रममा बेलायती प्रतिनिधिहरु यहाँ आएका थिए । उनीहरुले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भेट्दा धर्मनिरपेक्षताको कुरा उठाएका थिए । तर किसुनजीले तपाईको देशमा क्याथोलिक किन प्रधानमन्त्री हुन पाउँदैन भनेर उहाँहरुलाई प्रश्न गर्नुभयो । त्यसपछि उहाँहरु जवाफविहीन हुनुभयो ।

संविधानमा धर्मनिरपेक्ष राख्न त्यो बेलादेखि नै युरोपेलीहरुको प्रयास भएको हो । त्यतिबेला हाम्रा नेताहरुले सुझबुझ देखाउनु भयो तर अहिले त्यो सुझबुझ देखाएको पाइएन । यसमा धेरै पैसाको चलखेल भएको छ भनेर तपाईहरुले नै लेख्नु भएको हो । मैले त पढेकोमात्रै हो । त्यो कुरालाई मध्यनजर गर्दै हामीले अब सोच्नुपर्ने हुन्छ । हामीले आफ्नो निर्णय आफैं गर्न पाउने हो भने संविधानको मस्यौदामाथि जनमत संकलन त गरेकै थियौं नि ।

तपाईको भनाईमा धर्मनिरपेक्षता नेपाली समाजको मुद्दा होइन ?

मेरो भनाई प्रष्ट छ, नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रता भन्दै आएको हो । कांग्रेसको चार तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रता नै हो । अर्को कुरा, संविधानको मस्यौदामाथि गरिएको जनमत संकलनमा पनि त ८०/८५ प्रतिशतले संविधानमा धर्मनिरपेक्ष राख्नु हुँदैन भनेकै हो । त्यति हुँदाहुँदै पनि हामीले धर्मनिरपेक्षता राख्यौं ।

कतैबाट लादिएका मुद्दा थुपारिएको संविधान कसरी कार्यान्वयन होला त ?

धर्मनिरपेक्षताको सवालमा त संविधान कार्यान्वयनमा त्यति ठूलो अड्चन आउँदैन होला । किनभने धर्मको बारेमा दुई–तीनवटा कुरा प्रष्ट छ । जस्तो, सनातनदेखि चलिआएको धर्म र संस्कृतिको संरक्षण गर्ने भनिएको छ । कार्यान्वयनमा लैजादा सनातनदेखि चलिआएको धर्म के हो भन्ने कुरा प्रष्ट पारेर ऐन बनाउनु पर्छ । त्यस्तै गाई राष्ट्रिय जनावर हो भनिएको छ । राष्ट्रिय जनावर भनिसकेपछि गोवध गर्न पाइँदैन भन्ने प्रष्ट हुन्छ । त्यो कुरालाई पनि ऐन–कानुन बनाएर कडाईका साथ लागू गर्नुपर्छ । तेस्रो कुरा, प्रलोभनमा धर्म परिवर्तन गराउन पाइँदैन भनिएको छ । ऐन बनाउँदा के हो प्रलोभन भन्ने पनि प्रष्ट पारेर लेख्न सकियो भने त्यति ठूलो समस्या नआउला ।

पछिल्ला दिनमा कांग्रेस र मधेसवादी दलहरुबीच दुरी घटेको देखिन्छ, सरकार परिवर्तनका लागि कांग्रेसले मधेसवादी दललाई साथ लिन खोजेको हो ?

मधेसको लडाई पहिचान, प्रतिनिधित्व र पहुँचको लडाई हो । हामी खसआर्यहरुलाई ‘अन्य’ भनेर लेख्दा हामीलाई एकदम बिझेको थियो । हामीलाई हिनतावोध भएको थियो । किनभने हाम्रो पहिचान गुम्यो भन्ने हामीलाई लागेको थियो । त्यही पहिचान, प्रतिनिधित्व र पहुँचको लडाई मधेसीहरुले पनि गरिरहेका छन् । त्यसैले उहाँहरु समावेशी, समानुपातिक प्रतिनिधित्व राज्यको हरेक अंगमा हुनुपर्छ भन्ने माग उहाँहरुले उठाइरहनु भएको छ ।

संविधान त कांग्रेसकै नेतृत्वमा बनेको हो, यो कुरालाई कांग्रेसले संविधान निर्माणका क्रममा किन बेवास्ता गरेको ?

संविधान जारी हुनुअघि नै हामी पहिलो संशोधन गर्छौं भनेर पनि लाग्यौं । केही कुरा हामीले संशोधन पनि गरेकै हो । सीमांकनका कुराहरु संशोधन गर्न बाँकी छ । सीमांकनको विषयमा मधेसवादी दलहरुले भनेकै जस्तो हुनुपर्छ वा हामीले नै भनेको जस्तो हुनुपर्छ भन्ने होइन तर मिलाएर त लैजानु पर्‍यो नि । बेवास्ता गर्दै जाने हो भने देशले अर्को बाटो लिन्छ नै ।

सरकार परिवर्तनमा कांग्रेसको अबको भूमिका कस्तो हुन्छ ?

हामी प्रतिपक्षमा छौं, सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौं । सशक्त प्रतिपक्षको भूमिका भनेको सरकारमा जाने प्रयास गरिरहने नै हो ।

बजेटपछि कांग्रेसले सके आफ्नै नेतृत्वमा सरकार बनाउने, नसके माओवादी केन्द्रलाई सरकार सुम्पिदैंछ भन्ने आंकलन गरिदैंछ, यो सत्य हो ?

खै, मैले त अहिले नेताहरुसँग यसबारे छलफल नै गरेको छैन । यदि यो सत्य नै हो भने गलत भयो भनेर म भन्दिनँ । किनकि जसले जे भने पनि नेपाली कांग्रेसमात्रै एउटा डेमोक्रेटिक पार्टी हो, जसले अहिलेको समस्या समाधान गर्न सक्छ । लोकतान्त्रि पार्टीले मात्र समन्वयकारी भूमिका निर्वाह गरेर समस्या समाधान गर्छ ।

म तपाईलाई एउटा उदाहरण दिन्छु, पहिलो संविधानसभामा चार–चारजना प्रधानमन्त्री भए, तीमध्ये दुईजना एमालेबाट र दुईजना माओवादीबाट । तर उहाँहरु कसैले पनि समन्वयकारी भूमिका निर्वाह गर्न सक्नुभएन । त्यसैले संविधान जारी हुन सकेन । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बित्तिकै समन्वयकारी भूमिका निर्वाह गरियो र संविधान बन्यो । यस क्रममा केही कुरा हामीले त्याग्यौं । निर्वाचन प्रणालीका कुरामा हामीले आफ्नो अडान छोडेकै हो । समन्वयकारी भूमिका निर्वाह गर्दा केही छोड्नुपर्छ, केही पाइन्छ । यस्तो भूमिका एउटा लोकतान्त्रिक पार्टीले मात्र निर्वाह गर्न सक्छ । मधेसको समस्या पनि नेपाली कांग्रेसले मात्र समाधान गर्न सक्छ ।

त्यसैका लागि कांग्रेसलाई सरकारको नेतृत्व चाहिएको हो ?

हो, चाहिन्छ ।

माओवादीलाई सरकारको नेतृत्व गर्न नदिने त ?

अहिले देखिएका समस्या समाधान गर्न कांग्रेसको नेतृत्वमा मात्र सम्भव छ । तर संसदीय अभ्यासमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनै पर्छ । बहुमत जुटेमा कांग्रेसले सरकारको नेतृत्व गर्छ ।

आफ्नो नेतृत्वका लागि बहुमत जुटेन भनेमात्र कांग्रेसले माओवादीलाई अघि सार्ने हो ?

बहुमत जुटाउन पनि माओवादी चाहिन्छ नि । अहिलेको परिस्थितिमा बहुमत जुटाउन पनि माओवादी चाहिन्छ ।

अहिलेकै सरकारमा कांग्रेस सहभागी हुनुपर्छ भन्ने पनि तर्क सुनिन्छ नि ?

कांग्रेसमै पनि त्यस्तो भनाई राख्ने साथीहरु छन् । संविधान कार्यान्वयन गर्ने विषय पनि आएका छन् । मेरो बिचारमा हामीले संसदीय अभ्यासलाई अपनाइसकेका छौं । संसदीय व्यवस्थालाई अपनाइसकेपछि दुई ठूला दल एक ठाउँमा उभिनु हुँदैन । यस्तो अवस्थामा या त एमाले प्रतिपक्षमा बस्नुपर्छ या नेपाली कांग्रेस प्रतिपक्षमा बस्नु पर्छ ।

संविधान कार्यान्वयन गर्ने क्रममा कांग्रेस र एमाले एकै ठाउँ उभिनुपर्छ भन्ने तर्क छ । संविधान आइसक्यो, कार्यान्वयन गर्ने सवालमा कानुन बनाउने क्रममा कांग्रेसले सरकारलाई सहयोग गर्नुपर्छ । कानुन छिटोभन्दा छिटो बनाउन सरकारलाई दबाब दिनुपर्छ । त्यस्तै मधेसको मुद्दा छ, स्थानीय निकायको निर्वाचन छ । प्रादेशिक निर्वाचन गर्नुछ । यी कुरामा कांग्रेसले सरकारलाई सहयोग गर्छ तर सरकार संचालनमा प्रतिपक्षी चाहिन्छ ।

कांग्रेस पार्टी लामो समयसम्म गुट–उपगुटबाट ग्रसित रह्यो, अहिलेको कांग्रेस त्यसबाट मुक्त छ ?

सही कुरा गरौं ?

सही कुरा नै गर्नुस् न ।

सही कुरा गर्ने हो भने पार्टीभित्र गुट–उपगुट फेरि बढ्दै छ ।

कसले सुरु गर्दै छ ?

सभापतिजीले पनि सुरु गर्दै हुनुहुन्छ, अर्को पक्षले पनि गर्दैछ । गुटका बैठक हुन थालेका छन् । गुट अन्त्य गर्न त शेरबहादुरजीले नै पहल गर्नुपर्ने हो ।

पार्टी सभापतिको अहिलेसम्मको कार्यशैलीलाई कसरी हेर्नुभएको छ ?

अहिले समीक्षा गरिहाल्ने समय भइसकेको छैन । छिटोभन्दा छिटो केन्द्रीय कार्यसमितिको बैठक बसेर छलफल गरी सामूहिक रुपमा अगाडी बढ्न सक्यौं भने राजनीतिले एउटा बाटो लिन्छ । तर सभापतिजी केमा फस्नु भएको छ कुन्नि !

सबैलाई समेटेर अघि बढ्ने संकेत सभापतिजीले दिनुभएको छ ?

अहिले देशका सामू देखिएको समस्या शेरबहादुरजी एक्लैले समाधान गर्न सक्नुहुन्न । जसरी शेरबहादुरजीले सुशील जीलाई अप्ठ्यारो पार्नुभयो, यतिबेला शेरबहादुरजीले नेपाली कांग्रेसको नेतृत्व गर्न कति अप्ठ्यारो रहेछ भन्ने बल्ल बुझ्दै हुनुहुन्छ ।

त्यसो भए तपाईहरु उहाँलाई हिजोका पैंचो तिर्दै हुनुहुन्छ ?

होइन, त्यसो गर्नु हुँदैन । किनभने देश अत्यन्त नराम्रो मोडमा छ । एक ढिक्का भएको नेपाली कांग्रेसले मात्र देशको समस्या समाधान गर्न सक्छ ।