
-पेशल आचार्य
–संसारमा विविध अनुपम वैपरीत्य प्राकृतिक छटाले भरिएको देश नेपाल । तीन करोडभन्दा केही बढी परिश्रमी, मिलनसार र वीर एवम् बहादुरहरूको जनसंख्या भएको देश नेपाल । दक्षिण एसियामा सञ्चार क्षेत्रमा छोटो समयमै सबैभन्दा बढी विकास भएको देश नेपाल । प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरी समावेशी गणतन्त्रको अभ्यासमा आसातीत रूपले चलायमान देश नेपाल । विगत् दुई दसकयता दक्षिण एसियामा सबैभन्दा बढी चर्चा र चासोको केन्द्र बनेको नेपाल । ‘गृहयुद्ध’लाई शान्तिपूर्ण समाधानमा लगी विश्वलाई शान्तिको पाठ पढाउन सक्ने हैसियत भएको देश पनि नेपाल । सकारात्मक सोचले हेर्दा यी र यस्ता थुप्रै विशेषताहरूले नेपाललाई पुकार्न र नमन गर्न सकिन्छ । यो भयो आदर्श तर यथार्थमा देशमा जसजसलाई परिवर्तन चाहिएको थियो त्यसत्यसले परिवर्तनका एहसास पाए त ? यो प्रश्न पनि सँगसँगै उठ्न सक्छ । जसको जवाफ निकै कठिन र लामो छ ।
–भारत र चीनको बीचमा पर्नु नेपालका लागि सामरिक महत्वको विषय र अवसर पनि हो । तर यो देशले यो अवसरको कहिल्यै बुद्धिमत्तापूर्ण प्रयोग गर्न भने सकेन । देशले चीन र भारतका पछि लाग्नु पर्दैन । हुँदैन । ती दुवै देशलाई सफल कूटनीतिले खुसी मात्रै पार्न सक्नु पर्छ । भारतको सर्वाधिक चासो यहाँको राजनीतिक व्यवस्थामा हो । धर्म र बेपारमा हो । चीनको चासो पनि यहाँ हुने आफ्ना विरोधी देशीविदेशी गतिविधिले उसको राजनीतिक स्वार्थमा असर नगरोस् भन्ने नै हो ।
–भारत र चीन एकअर्काका शत्रु मात्र होइनन् परस्पर बेपारिक मित्र समेत हुन् । नेपाली शासक यो शताब्दीमा स्पाति भिजन र मिसनको भएको थियो भने उसले देशका पक्षमा अनेक तरक्की गर्दै यतिखेर नेपाल थाइल्याण्ड, सिङ्गापुर र मलेसिया भैसक्ने थियो । तर भएन । किन र कहाँनेर चुक्यो नेपाल ? अहिले नेपाल सोही आफ्ना सुस्त कूटनीतिक विशेषताका कारण आफ्नो राजनैतिक परिवर्तनको मूल्य छिमेकीद्वय र विदेशी शक्तिसामु किस्ताकिस्तामा चुकाइरहेछ । यस्तै शैलीमा नेपाली राजनीतिको गोलचक्कर घुमिरहने हो भने केही दसकसम्म नेपाल छिमेकीको पिछलग्गु भैरहने पक्का छ । नेपाली युवापुस्ता यस्तो खबरप्रति पक्कै बेखबर छैनन् । यो केही राहतको विषय हो –हामी नेपालीका लागि ।
– भारतीयहरू परापूर्व कालदेखि नै नेपालीहरूलाई हरेक प्रकारले ‘डोमिनेट’ गर्ने शैली अख्तियार गरिरहेका छन् । साम, दाम, दण्ड र भेद यी सबै खाले नीतिको प्रयोग गर्दै तिनीहरू अघि बढिरहेछन् । यस्तो चाला सात, सत्र, छत्तीस, छयालीस, बासठ्ठी/त्रिसठ्ठी र २०७२ सालमा समेत संविधान जारी गर्ने बेलासम्म पनि देखियो । भोगियो । सबैमा जगजाहेर छ ।
–नेपालको अस्थिर र संक्रमणकालीन राजनीतिक क्रियाकलापमा कहिले भारतीयहरूले खेल्ने मौका पाए भने कहिले चीनले खेल्न खोज्यो । अमेरिकालगायत आम पश्चिमाहरूको पनि नेपालमा ‘भाष्ट इन्ट्रेस्ट’ नभएको होइन । उनीहरू भारत र चीन कुनै पनि सवालमा नेपालमा हावी नहून भन्ने चाहन्छन् । अझ अमेरिकाको पनि यहाँ यो वा त्यो बहानामा तिब्बतलाई उकासेर चीनलाई ‘कुल’ बनाउने रणनीति थियो, छ । युरोपियन युनियन र अन्य देशहरू पनि नेपालमा आफूअनुकूल शासकले सोही अनुकूलमा शासन गरून भन्ने कामना गर्छन् । विगत्मा पनि गर्थे आज गदैछन् र भोलि पनि गर्नेछन् । विश्व परिवेशले यो भन्दैछ ।
–उठाउन खोजिएको कुरो अर्कै हो । यतिखेर नेपालमा एनजिओ र आइएनजिओहरूको बाढी आएको छ । नेपालमा मात्र होइन संसारमा जहाँजहाँ एनजिओ र आइएनजिओ पसेका छन् । तिनीहरू पसेको दुई या तीन दसकमा त्यो देशमा कुनै न कुनै प्रकारका विद्रोह, द्वन्द्व र हिंसाहरू अनायाशै भड्केका छन् । आइएनजिओ त जहाँजहाँ ऊ जान्छ पहिले त्यहाँको देश र समाजको सूक्ष्म पर्यावलोकन गर्छ । कुनकुन क्षेत्रमा केकस्तो सहयोगका नाममा समाजमा दरार फैल्याउन सकिन्छ सो कुरा विहंगावलोकन गर्छ । अनि मानिसलाई मोभिलाइजेसन गर्दै अनेक ग्रुपमा तालिम दिन थाल्छ । ऊ निर्देशकीय शैलीमा ‘मिसन मुभि’ बनाएर गरिबमाथि सपनाहरू बाँड्छ र आफू सफल नभए फुत्त निस्कन्छ । सफल भएमा आफू पसेको देश नै मटियामेट पार्छ । आइएनजिओको दर्शन भनकै यस्तै हो –संसारैभरि ।
–सन् १९७० तिर थाइल्याण्डको एटिसीमा पढ्दै गरेका नेपाली इन्जिनियरहरू र श्रीलंकाली इन्जिनियरमा सोकुराको गम्भीर र सघन विचार विमर्श हुन्छ । श्रीलंकाली इन्जिनियर ठोकुवा गरेर भन्छन् –‘जसरी श्रीलंकामा आइएनजिओको फ्लो यति धेरै संख्यामा भयो अब त्यहाँ केही न केही लफडा सुरू हुने वाला छ ।’ नभन्दै सन् १९८० को दसकतिर श्रीलंकामा तमिल जातिवादीहरूले बेगल राज्यको माग गर्दै गृहयुद्ध सुरू गर्छन् । करिब तीस वर्षको अन्तरालमा श्रीलंकामा एकलाख बीस हज्जार मानिसहरू सो गृहयुद्धबाटै मारिन्छन् । देश करिब विघटनको सँघारमा पुगेर बालबाल बँच्छ । युद्धका नाइके सरकारी भीडन्तमा मारिन्छन् । यो एउटा सरल दृष्टान्त मात्र हो । युरोप र मध्यपूर्वका देशको कहिरन झिक्ने हो भने लेख झन् लामो हुन्छ । त्यो वृथा यहाँ नगरौं ।
–नेपालमा पनि २०४६/२०४७ को परिवर्तन पछि एनजिओ र आइएनजिओको स्थापनामा ह्वात्तै बाढी आयो । यसरी संस्थाहरू खुल्ने काम भए कि गाउँगाउँमा तिनीहरू आफ्ना सिकन्जा पुर्याउन सफल भए । अनेक नाम र काम गर्ने अभिनयमा खुलेका एनजिओ र आइएनजिओले स्थानीय लेभलमा स्थानीय सरकारका सहयोगी भई काम गरे भने राष्ट्रिय स्तरमा सरकार कै लेभलमा सरकारलाई घुमाउरो पाराले निर्देशन दिने, नयाँनयाँ आयोजनाहरू दिने, उसका स्वार्थानुकूल सरकारले निणर्यहरू गर्नु पर्ने, सोबमोजिम नगरे सरकार असफल पार्ने सम्मका घिनौना खेलहरू पनि खेले । त्यो पनि देखियो ।
–चेतना बढाउने नाममा, शिक्षामा सुविधा दिने नाममा, मानवाधिकारका विषयमा, जातजाति, भाषाभाषी र सांस्कृतिक विविध विचारका मानिसहरूलाई चेतना दिने सर्तमा उल्टा उत्तेजनाहरू भर्न सिकाए । सिकाउन हुने कुरा सिकाए । सिकाउन नहुने कुरा पनि सिकाए । व्यक्ति, समूह, पार्टी, विचारका ससाना घेरामा आबद्ध हुनेका पनि एनजिओ र आइएनजिओ भए । खुले । अहिलेको नेपालमा हेर्ने हो भने नाम चलेका पार्टीका सदस्यहरूका कुनै न कुनै एनजिओ र आइएनजिओहरू देखिन्छन् । ती प्रायः केन्द्रीय स्तरमा खोलिएका छन् जसका शाखा वा क्षेत्रीय कार्यालयहरू अनेक नाममा जिल्ला वा प्रादेशिक रूपका राजधानी हुन सक्ने खालका ठूलाठूला सहरमा केन्द्रित छन् । अस्पतालका आवरणमा, शिक्षाका लाइन एजेन्सीका नाममा, गरिबलाई सहायता दिने संस्थाका नाममा, महिला र बालबालिकामा हुने घरेलु अन्य प्रकारका हिंसा अन्त्य हुने नाममा खोलिएका एनजिओ र आइएनजिओ अहिलेको समयमा नेपाली समाजलाई एकप्रकारले दूरगामी प्रभावका हिसाबले घाँडा सावित भएका छन् । सन्धानको खाँचो देखिएको छ ।
–सरकारी सेवा सुविधाभन्दा फरक सेवा सुविधा दिन खोलिएका त्यस्ता संघसंस्थाहरूले सरकारले भन्दा बढी सेवा सुविधामा मानिसहरूलाई काम दिएका, नवीन पद सिर्जना गरी रोजगारी उपलब्ध गराएजस्ता गर्ने गरेका छन् । धेरैजसो संस्थाहरू त चेतना अभिवृद्धि गर्न खोलिएका र तिनीहरू केवल र्याली, भाषण, फोटा संकलन गर्ने कार्यक्रमहरूमा मात्रै सिमित रहेका छन् । केहीले नयाँ काम गर्दै र समाज परिवर्तनका केही सकारात्मक योगदान दिनेजस्ता काम गरेका भए पनि तिनीहरूको अन्तिम उद्देश्य र गोलचाहिँ विदेशी प्रभुकै हित र भलाइ गर्ने खाले छन् । नाकाबन्दीका समयमा नेपालमा निकै व्यक्ति र संस्थाहरूको वास्तवविकता पर्दा बाहिरै खुलेर आयो । कैँयौँ नाम चलेका नेता, प्रशासक र पत्रकारहरू पनि विवादमा तानिएका समाचार सामाजिक सञ्जालमा एकाएक पोखिए । ठिनमिने समाजसेवी भनाउदाहरूका नाम पनि गाँसिएर आए । जे होस् सचेत जनताले सो कुराको भेउ पाउन सफल भए ।
–‘दस वर्षे ‘जनयुद्ध’ मा माओवादीले गाउँले जनतामा यति धेरै चेतनाको विस्तार गरे कि तिनीहरूमा चेतनाका स्थानमा ‘उत्तेजना’ पउल भरियो । त्यसको सही राजनीतिक सुव्यवस्थापन गर्न नसक्दा उसले जातीय मुद्दालाई समात्नु प¥यो । अहिले नेपालमा जातीय मुद्दाहरू यति विकराल भएर आएका छन् कि त्यसको सही र वैज्ञानिक व्यवस्थापन गर्न वर्तमान क्रियाशील नेताहरूले नसक्ने हो भने नेपालको मौलिक अनुहार केही वर्षका राजनीतिक यात्रामा क्षतविक्षत भैसक्ने पक्का छ’ –त्रिविका एक प्राध्यापक खिन्नान्भूतिसहित भन्ने गर्छन् ।
–आइएनजिओहरू हरेक सहयोग र नाटकमा देशका भित्रि भागसम्म पुगिसके अब त्यसको एकपछि अर्को गर्दै असरहरू देखाउन थाल्ने छन् ।
–पिउने पानीदेखि बिजुलीसम्मका मुद्दाहरू यिनै संस्थाका मानिसहरूले पैरवी गर्ने गरेका छन् । संघीयता, प्राकृतिक स्रोतका बाँडफाँडका सवालहरू, नागरिक कर्तव्य, सामाजिक न्याय र समानाताका मुद्दाहरू साथै प्रदेश विभाजनका सन्दर्भमा विभिन्न राजनीतिक पार्टी र तिनका भात्रृसंगठनहरूलाई अनेक नामका मुद्दाहरू दिने काम पनि तिनैले जो गर्छन् । अनेक पदका आवरणमा तिनका प्रमुखहरू यहाँ विराजमान छन् । विदेशबाट पनि तिनीहरू ‘वाच’ गर्छन् । आफ्नो स्वार्थमा लविङ् गर्न र निर्णय गराउन तिनीहरू अकूत भारु, डलर, युरो र पाउण्डसमेत खर्चने हैसियत राख्न सक्छन् । कतिपय सवालमा यहीँका नेताहरू तिनीहरूका विश्वास पात्र भई काम गर्दछन् ।
–सचेत र देशको माया हुने नेपालीलाई एउटै चिन्ता र चासो छ । देशमा भएको यस्तो एनजिओकरण र आइएनजिओकरणले नेपालको समावेशी गणतन्त्र र न्याय तथा समानताका मुद्दा नेपालका दूरदराजका गाउँगाउँमा लैजान मद्दत गर्लान् या आफ्नै सफेद् पोसाकधारी मालिकहरूकै भलाइका लागि भनी तावेदारी गर्न थाल्लान् ।
–यसको असर आउँदा केही दसकभित्र मध्यान्नको घाम जत्तिकै छर्लङ्ग हुने छ । पढेलेखेको र प्रविधिमा चुस्त पुस्ताले यो सन्दर्भलाई नजरअन्दाज गर्नु हुँदैन । एनजिओ र आइएनजिओको भ्रष्टीकरण रोकौं । अहिलेको अहम् सवाल भनेको यत्ति नै हो ।
प्रतिक्रिया दिनुहोस्