
-इन्दिरा प्रसाई
गत वर्षको भूईँचालोको विकराल प्रकोप खेप्दाखेप्दै नेपाली जनताले नाकाबन्दीको मार खेप्नु पर्यो । त्यसपछिको कालाबजारी र मूल्यवृद्धिले नेपाली जनताले महामारीको पीडा भोग्दै आएका छन् । नेपाली जनताले भूईँचालो त प्राकृतिक प्रकोप हो भनेर सर्लक्कै बुझ्न सकेस तर नाकाबन्दी कसले, कसका लागि र किन गरेको हो रु त्यसको उत्तर पाएका छैनन् । त्यस्तै मुलुकमा कालोबजारी कसले, कसका लागि र किन गरिएको हो भन्ने प्रश्नको उत्तर पनि नेपाली जनतालाई खुलस्त भएको छैन् । यी प्रश्नको उत्तर पनि कमरेड मदन भण्डारीको हत्या र राजदरबारको हत्याजस्तै भएर रहस्यकै गर्भमा लुक्ने कुरामा भने सबैजसो नेपालीको एकै मत छ । हो अरू सबै कुराको जवाफ सरकारले दिन पनि नमिल्ला अथवा दिन पनि नसक्ला । तर देशमा सरकार नै छ भने मूल्य नियण्त्रणमा सरकारी चासो देखिनु पर्ने चाहिं हो ।
दण्डहीनताले पराकाष्ठा नाघेको नेपालको बजारमा व्यापारीद्वारा जथाभावी मूल्यवृद्धि गरेर, मिलावटयुक्त र नक्कली बस्तुको बिक्री वितरण भइरहेको छ । जनता क्रयशक्तिको अभावमा खास गरेर खाद्यजन्य बस्तुको खरिद गर्दा महङ्गीको मारले थलापरेका छन् । यस्तो महङ्गिएको बजारको मारमा नेपाली जनता पिरिएको बेला नयाँ बजेट ल्याउने तालमा नाचिरहेको सरकारलाई भने कर्मचारीको तलब बढाउनु पर्ने दवाव दिइँदैछ । कर्मचारीहरूका युनियनहरू चर्किँदै छन् तर आम नेपाली जनताका युनियन (सांसदहरू भत्ता पचाउने र बढाउने)विदेश भ्रमण वा कुनै पनि तरिकाले परिपञ्चमा मात्रै मस्त छन् ।
\अधिकाङ्श नेपाली जनता बेरोजगार भएको नेपालमा कर्मचारीको तलब चार दोब्बर बढाउँदा पनि नेपाली जनताले राहत होइन आहत पाउँने पक्का छ । सरकारले मूल्य नियन्त्रण गर्न पट्टि ध्यान दिएर मुलुकको अर्थतन्त्रले धान्ने गरी कर्मचारीको तलब वृद्धि गरे सोबाट स्वयम् कर्मचारी र सारा जनताले सरकारको जय मनाउने छन् । यस्तो महङ्गीको विकराल राक्षसले सम्पूर्ण नागरिकलाई निलिरहेको कुरा चाल नपाएको झै गरी सुविधाभोगी सरकार मौन बसेको छ ।
देश सरकार विहीन अवस्थामा हावामा चङ्गा उडिरहे झैँ स्वयम् चलिरहेको सबैले महसुस गरिरहेका छन् । यस्तो अवस्थामा सिर्फ कर्मचारीको तलब वृद्धिको नारा जताततै सुनिन लागेको छ । राष्ट्रसेवक कर्मचारीको तलबभत्ता र सुविधा पर्याप्त हुनु पर्छ । जसले गर्दा उनीहरूबाट हुने भ्रष्टाचार रोक्न सकियोस् र उनीहरूलाई उनीहरूका कर्तव्यप्रति थप जिम्मेवार बन्नका लागि उत्प्रेरणा दिन सकियोस् । तर नेपाली जनता भनेको केवल कर्मचारीमात्र पनि त होइनन् । बजारमा मूल्य नियन्त्रण विनाको कर्मचारी तलब वृद्धि भनेको आत्मघाती निर्णय हुने पक्का छ ।
कर्मचारीको तलबवृद्धिको समाचार फुकिनासाथ नियन्त्रण विहीन व्यापारीले मूल्यवृद्धि गर्ने बहाना पाउने छन् । महगीको चपेटाले मरेका नेपाली जनतामाथि थप मुक्का प्रहार गरिएको हुनेछ । जनतालाई निरीह ठानेर जनतालाई जिस्काउने काम नगरेस सरकार ! प्रायोजित नभएर स्वतस्फूर्त रूपमा नेपाली जनता जागे भने, दलाल नभएर कुनै सच्चा राष्ट्रवादी नेता नेपाल र नेपालीले पाए भने अबको आन्दोलन सिंहदरबारमूखी हुनेछ । त्यो आन्दोलन नेपाली जनताको रगत र पसिना खाएर मोटाएका नेताहरूलाई डाँढा कटाउने खाले हुनेछ । त्यसैले सावधान सरकार ! होसियार सरकार ! नेपाली जनतालाई सरकारको छत्रछाहरीमा बसेको अनुभूति दे सरकार ! सोझा नेपाली जनताको धैर्यको बाँध भत्कियो भने, अकल्पनीय घटना घट्न सक्छ र फेरि पनि नेपालमा नसोचेको इतिहास रचिन सक्छ ।
प्रतिक्रिया दिनुहोस्