
काठमाडौं, जेठ १२ । नेपाल प्रहरीले सांगीतिक आकासका उज्ज्वल नक्षत्र संगीतकार अम्मर गुरुङलाई सम्मान गरेको छ ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल बुधबार उनकै निवास बूढानीलकन्ठ पुगेर नगद रु पाँच लाखसहित सम्मानपत्रद्वारा सम्मान गरेका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाली सांगीतिक क्षेत्रमा गुरुङले पुर्याएको योगदानको कुनै रकमसँग तुलना गर्न नहुने बताउँदै उनको पूर्णस्वास्थ्यलाभको कामना गरे ।
उनले भने–‘गुरुङको परिवारलाई आवश्यक पर्ने कुनैपनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तयार छ ।’
नेपाल प्रहरीको जेठ ५ गते बसेको बैठकले संगीतकार गुरुङलाई सम्मान गर्ने निर्णय गरेअनुसार सम्मान गरिएको हो ।
लामो समयदेखि आफ्नो निरन्तर साधनाको माध्यमबाट नेपाली संगीतको क्षेत्रमा विशेष योगदान दिइ विभिन्न गीतिनाटक तथा कालजयी गीतलाई संगीतले सिंगारेका गुरुङले नेपालको राष्ट्रियधुन सिर्जना गरी नेपाली राष्ट्रियतालाई उचाइमा पु¥याउने दिशामा अतुलनीय योगदान पुर्याएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्