
-पेशल आचार्य
– भनिन्छ, हरेकलाई सपना देख्न छुट छ । तर सपनाहरू सार्थक हुनुपर्छ । सपना सुतेर होइन बिउँझो अवस्थामा देख्नुपर्छ । बिउँझो अवस्थामा देखिएका सपनाले मानिसलाई हुट्हुटी र उत्प्रेरणा दिन सक्नुपर्छ ।
– अहिलेको नेपाल सपनामय बनेको छ । लोकतन्त्र आएपछि कतिका सपनाहरू सार्थक बनेका छन् । कैयौंका सपनाहरू बयेलिएका पनि छन् । नेपालमा सत्तामा हुनेहरू थरीथरीका सपना देख्न थालेका छन् । कसैका सपनाहरू ‘ब्याकेन ह्वाइट’ छन् भने कसैका सपनाहरू ‘कलरफूल’ छन् । यस्ता सपनाहरूको जग भने यथार्थ रूपमा वास्तविकताको धरातलमा भने छन्/छैनन् सन्धान गरिएको छैन । सरकारमा बसेकाहरूले कस्ता खालका सपनाहरू देख्न पाउने या नपाउने ? बजेटले भ्याउने सपना देख्नै पर्ने या बजेटले नभ्याउने सपना पनि देख्न पाउने ? सामान्य जीवन पनि अति कहरमा बिताएका जनतालाई कस्ता सपनाको आस देखाउन हुने या नहुने यो सवालमा अब देशमा जनस्तरबाट बसहको थालनी हुनुपर्छ ।
– सबैभन्दा बढी सपना अहिलेका सरकारका प्रमुख याने प्रधानमन्त्री केपी ओलीजीले देख्ने गरेका छन् । उनले आफ्नो करिब नौ महिने सुयशले भरिएको कार्यकालमा अनेक सपनाका पिरामिडहरू आरोहण गरिसकेका छन् । आफ्नो खोपडीले देखका हुन् या सल्लाहकारका मथिङ्गलबाट सापट लिएइको हो ताजुबको कुरो त के छ भने यिनले देखेका सपनाहरू नेपालको वर्तमान वास्तविकतासँग मेल खान सक्ने खालका छैनन् ।
– हावाबाट बिजुली, पाएपबाट घरघरमा ग्यास, एक वर्षमा लोड सेडिङ् अन्त्य, पेट्रोलमा दुई वर्षमा आत्मनिर्भर हुँदाहुँदा अहिले आफ्नै पानी जहास चलाउने सपना । यहीनेर सपनाको मापन गर्न सकिन्छ कि यिनलाई यस्ता खालका सपनाहरू देख्न दवाव दिने पछिल्तिर कस्ता मानिसको लाम छ ? अहिले सर्वाधिक चासो र चिन्ताको विषय यही हो । आउँदो चुनावलाई मात्रै लक्षित गरेर यस्ता बेतुकका कुराहरू बोलिएका हुन् भने अब तिनीहरूको पनि न्यायिक छानविन हुने संस्कारको थालनी हुनै पर्छ ।
– एमाले नेता तथा साहित्यकार प्रदीप नेपालको केही हप्ताअघि ‘एभेन्यूज’ टेलिभिजनमा दिएको अन्तर्वार्तामा ‘प्रधानमन्त्री केपी ओलीलाई १० वर्षमा नेपालको लोड सेडिङ् हटाउन सकिने सुझाव दिएको र त्यसका लागि योजनाबद्ध किसिमले विद्युत् विकास गर्नु पर्ने कार्य प्रणालीको रोड म्याप दिँदा उनका वर्तमान सल्लाहकारहरूले दस वर्षको पछाडिएको सून्य अङ्क हटाएर ‘चिफ पपुल्यारीटी गेन’ गर्नका लागि एक वर्षको हौवा पिटाएको’ कुरा नेपालले सो र्वार्तामा बोेलेका थिए । टिभिमा लाइभ काष्ट गरिएको सो अन्तर्वार्ता हावा हो भनौं अझै ‘यु ट्युव’ मा अपलोड गरिरह्या छ ।
– केही दिनअघि मात्र एमाले वरिष्ठ नेता तथा भूपू प्रम माधव नेपालले ‘इतिहासमा भएका प्रधानमन्त्रीहरूमा सर्वाधिक हावा प्रधानमन्त्री’ भनेर केपी ओलीलाई भने । आफ्नै नेता र समकक्षीहरूबाट आलोचित ओली महोदयलाई यस्ता प्रकृतिका सपना देख्न लगाउने र सल्लाह दिने महान् मान्छेहरू (?) राष्ट्र, जनता र व्यवस्थाप्रति नै जोक गर्न लागिरहेको आभाष जो मिलेको छ, अहिले ।
देशले सपना देख्नै नपाउने भन्ने होइन तर वास्तविक र पुग्ने खालका सपना देख्नु सार्थक हुन्छ । ‘अहिले नेपालले रकेट बनाएर चन्द्रमामा जाने’ भन्यो भने कुनै नेपालीले पनि पत्याउँदैनन् । ‘बोलेर पुर्याउनु र पुर्याएर बोल्नु पर्छ’ भन्ने सामान्य ज्ञानको पनि अहिलेका नेताजीहरूलाई हेक्का छैन । यो कस्ले सिकाउने ? कस्ले भनिदिने ? फत्फत् गरिरहनुको कुनै तुक छैन । बेतुकको कुतर्कभन्दा झिनै सही तर लाग्ने तुकको काम गर । अहिले मुलुकले देख्नसक्ने केही सपनाका जुलुसहरूलाई एकै स्थानमा राखेर चाङ चलाउने हो भने यस्तो प्रकृतिको सपनाको पिरामिड देख्न सकिन्छ । गाउँबाट एक सामान्य नेपालीले देखेको सपनाका झलकहरू यस्ता हुन सक्छन् :
– सपना नं. १ : सबै नेपालीका हातहातमा राष्ट्रिय परिचयपत्रको एउटा त्यस्तो कार्ड होओस् जसले उसका सबै किसिमका परिचयहरू खुलाओस् । नागरिकतालाई पनि विस्थापन गर्न सक्ने सो कार्डमा नेपाल राज्यभर उसले सरकारी कार्यालयमा कामकाज गर्दा आउन सक्ने तथ्याङ्कीय समस्याको हल गरोस् । मालपोतमा जग्गा पास गर्दा, जिल्ला प्रशासनमा नागरिकता लिँदा वा सन्तानको जन्मदर्ता गराउँदा, टेलिफोन वा बिजुली जडान गर्दा, स्कुल क्याम्पसमा भर्ना गर्न जाँदा, बैङ्क वा वित्तीय संस्थाबाट ऋण लिँदा वा फर्यौट् गर्दा या सबै प्रकारका कर तिर्दा सो कार्ड व्यवहारिक रूपमा कामयावी होओस् ।
– सपना नं. २ : नेपालको स्कुल र क्याम्पसको शिक्षा अहिलेजस्तो कार्यकर्ता उत्पादनमुखी, परामुखापेक्षी, प्रमाणपत्रको भारी बोक्ने खालको र निरासावादी झुर प्रकृतिको नभएर हात हातमा सिप भएको होस् जसले क्याम्पस र स्कुलको शिक्षा सक्ने बित्तिकै मानिस कोही कसैको पछौटे नभएर आफ्नै सिपमा स्वावलम्बी होस् र स्वरोजगार निर्माणमा लागी पर्ने होस् ।
– सपना नं. ३ : हरेक नेपालीलाई राष्ट्रिय परिचय पत्रको आधारमा कर तिर्ने अठार या बीस डिजिटको नम्बर दिइयोस् जसका आधारमा नेपालीले आफ्नो आयव्यय पारदर्शी रूपमा राख्न सकोस् । जो कसैले पनि सो नम्बरबाट प्रत्येक कामकाजी श्रमशील नेपालीको वार्षिक आय देख्न सकोस् । कर तिर्नु बाध्यता होइन सम्मानको रूपमा हेर्ने संस्कारको विकास होस् । तिरिएको करबाट विविध सरकारी सेवा लिएर सम्मानित जीवन बाँच्ने संस्कारको विकास होस् ।
– सपना नं. ४ : आधारभूत स्वास्थ्य, शिक्षा, रोजगारीमा सरकारको ग्यारेन्टी होस् । विकास निर्माणमा राष्ट्रिय परियोजनाहरूमा सरकारको नीति र कार्यक्रमलाई पूर्ण रूपमा लागू गर्ने नियम अवलम्बन गरियोस् । जनताको सहभागिता हुने विकासमा जनताका प्रतिनिधिहरू राखेर विकास निर्माण गर्न सकिने उपभोक्ता समिति हुनै पर्ने संस्कार अवलम्बन होस् ।
– सपना नं. ५ : नेपालमा कृषि, लघु उद्योग, पर्यटन, पदयात्रा, र्याफ्टिङ्, होटल, ट्रेकिङ, निर्माण उद्योग र ससाना समूह बनाएर कृषिमा लाग्न ऋण प्रवाहको व्यवस्था होस् । नेपालीहरूले आफूलाई विदेशको आप्रवासी भिसामा विदेश जान लागेको सपना नदेखुन बरू त्यसको साटो नेपालमै केही नयाँ र आयमुखी काम गरेर बसेको कल्पना गरून ।
– सपना नं. ६ : अहिलेको जस्तो उम्रेदेखि खुम्रेसम्मका नेपालीहरूले अनावश्यक रूपमा राजनीतिमा चासो राखेर जतिखेर पनि राजनीतिका कुरा गर्ने गरेको संस्कारको अन्त्य भई कामकाजी र प्रोफेसनल मानिसलाई उसको सेवा प्रवेश, दक्षता र सिपका आधारमा विभिन्न तहका सिकारू, संघर्षशील र स्थापित आधारका परिचयपत्रहरू दिइयोस् । कलाकारिता, पत्रकारिता, नोकरी र निजी क्षेत्रका कामकाजमा पनि वर्ष, योग्यता र दक्षताका आधारमा पेन्सन, बढुवा र सेवा सुविधा क्रमशः बढ्ने नियम फलो गरियोस् । तलब वृद्धि सामयक र वैज्ञानिक प्रकृतिको होस् । सामूहिक पदोन्नति या सेवाका अवधिलाई घटाएर सेवामा १५ वर्ष र उमेरमा ५० वर्ष लागू हुने नियमको पालना होस् । ‘नयाँलाई काम र पुरानालाई सम्मान’ हुने पद्दति शीघ्र अवलम्बन गरियोस् ।
– सपना नं. ७ : पेन्सनमा राज्यलाई बढ्ने वर्षेनि भार कम गर्न सरकारी या निजी क्षेत्रमा समेत पेन्सन कोषको व्यवस्था होस् । युनियन गिरी र डिउटी टाइममा राजनीति गर्ने संस्कारको अन्त्य भई कानुन कडा रूपमा लागू हुने नियम लागू होस् । मुद्दामामिला र राज्यले नागरिकलाई दिने सेवा सुविधामा ‘अन द स्पट’ सेवा दिने संस्कारको थालनी होस् ।
– सपना नं. ८ : जुनसुकै प्रकारका चुनावहरू पनि आवधिक रूपमा भैरहने व्यवस्था होस् । अनावश्यक रूपले चुनाव रोकिने बेथितिको अन्त्य होस् । नागरिकका अधिकार र कर्तव्यहरू तोकियून । निश्चितरूपमा शिक्षा लिइसकेपछि केही महिना राज्यलाई निःशुल्क र अनिवार्य सेवा दिने कार्यनीति बनाइयोस् । ‘अन द जब’ या ‘अफ द जब’ सिस्टमको विकास होस् ।
– सपना नं. ९ : पूर्ण बेरोजगार र अति गरिबलाई बेग्लै प्रकारका परिचयपत्रको व्यवस्था होस् । जसका आधारमा उनीहरूले राज्यबाट सेवासुविधा प्राप्त गर्न कुनै प्रकृतिको झन्झन्ट उठाउन नपरोस् ।
– सपना नं. १० : नेपालका अल्पकालीन र दीर्घकालीन विकासका लक्ष्यहरू किटान गरेर जिल्ला, प्रदेश र राज्य स्तरका विकासका सूचकाङ्कहरू किट्ने ‘रेटिङ् स्केल’ को अवधारणा थालनी होस् । जिल्ला, नगरपालिका, गाउँपालिका र प्रदेशमा उच्च र स्वस्थ प्रतिस्पर्धाका आधारमा विकासका कार्यहरू गरिने र पुरस्कार अनि दन्ड संहिताको थालनी होस् ।
– सपना नं. ११: भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा नयाँनयाँ तकनिकी र सोचलाई प्रवद्र्धन गर्ने गराउने र वैज्ञानिक क्षेत्र र आविष्कारका मार्गमा लाग्ने युवा, जिज्ञासु र लगनशील व्यक्तित्वलाई उत्प्रेरणा हुने खालका कार्यक्रमको थालनी होस् ।
– सपना नं. १२: बहुराष्ट्रिय कम्पनीलाई देशमा स्वागत् गर्ने खालका कानुनहरू बनून । एनआरएनए र विदेशमा उच्च शिक्षा लिएका र सिप हासिल गरेर देश फर्कन चाहने नेपालीहरूलाई पउल सेवा सुविधाको व्यवस्था होस् । तिनीहरूलाई राष्ट्रलाई अहित नहुने गरी जुनसुकै खालका उद्योग खोल्न, बेपार प्रवद्र्धन गर्न र विक्रीवितरण गर्न यातायात, संचार र विद्युतीय सेवा उपभोग गर्न नयाँ, छरिता र सरल नीति अवलम्बन होस् । सेवा र सुविधाका कारण कुनै पनि विदेशी नागरिक या स्वदेशी नेपाली नागरिकले देश छोडेर विमुख हुनुपर्ने स्थिति नहोस् ।
– सपना नं. १३ : यी सपनाहरू तल्ला स्तरमा रहेर देख्नुभन्दा राज्यका माथिल्ला स्तरमा रहेर देख्न राज्यका संयन्त्र र सेवामुखी टुल्सहरूको पनि थप सहयोग हुने हुनाले सबै विचारका पार्टीका नेताहरू, राज्यका उपल्लो तहका कर्मचारीहरू र नीति निर्माताहरूले वार्षिक, दसक, दुई दसक, पचास वर्ष र शताब्दीका योजनाहरू आफ्नो संघसंस्था र पार्टीमा पनि अवलम्बन गर्ने संस्कारको विकास होस् ।
– अनि मात्र सपनाहरूको आरोहणबाट देश विकासका बाटामा लम्कन सक्छ । राज्यका सबै खाले ठूला र पावरदारहरूका चेत खुलोस् । अहिलेका लागि अहम् सवाल यही हो । सार्थक सपना देख्नेहरूको जय होस् ।
प्रतिक्रिया दिनुहोस्