
काठमाडौं, जेठ ७ । इजिप्ट एअरको बेपत्ता विमानको भग्नावशेष भेटिएको छ ।
भग्नावशेष भूमध्यसागरमा फेलापरेको इजिप्टको सेना र राष्ट्रिय विमान सेवाले दाबी गरेको छ ।
अलेक्जेन्ड्रियाबाट २९० किलोमिटर टाढा विमानको भग्नावशेष र यात्रुका सामान फेलापरेको सैनिक प्रवक्ताले जानकारी दिएका हुन् ।
इजिप्ट एअरले पनि विमान दुर्घटनाग्रस्त अवस्थामा फेलापरेको जनाएको छ ।
६६ जना यात्रु बोकेर फ्रान्सको पेरिसबाट इजिप्टको कायरोका लागि उडेको विमान विहीवारदेखि बेपत्ता थियो ।
कारापाथोस टापुनजिक ग्रीक, इजिप्ट, फ्रान्स र बेलायतका सेनाले विमानको खोजिरहेका छन् ।
यसअघि, फ्रान्सका राष्ट्रपति फ्रान्कोइस ओलान्दले विमान दुर्घटना भएको पुष्टि गर्दै यसबारे अनुसन्धान गरिने बताएका थिए ।
विमान भूमध्यसागरमा अचानक खस्नुअघि दुईचोटी छिटोछिटो मोड लिएको बताइएको थियो ।
विमान सागरमा खस्नुअघि देब्रेतिर ९० डिग्री र त्यसपछि दाहिनेतर्फ ३ सय ६० डिग्री मोडिएको जानकारी फ्रान्सका रक्षामन्त्री पानोस क्यामेनोसले दिएका थिए ।
विमान राडारबाट सम्पर्कविहीन हुनुअघि २५ हजार फिटभन्दा माथिबाट खसेको थियो ।
विमानमा रहेका ६६ जनामध्ये धेरैजसो इजिप्ट र फ्रान्सेली नागरिक छन् । ग्रिस टापु कारपाथोसको दक्षिणपट्टिको समुद्रमा ग्रीस र इजिप्टका जलसेनाले विमानको खोजी गरेका हुन् ।
विमानमा तीन बालबालिकासहित ५६ यात्रु, चालक दलका ७ सदस्य र ३ सुरक्षाकर्मी थिए ।
जसमध्ये ३० जना इजिप्टेली, १५ जना फ्रान्सेली र १ बेलायती छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्