
काठमाडौं, जेठ ७ । विभिन्न नेपाली फुटबल क्लबले बर्खास्त गरेका पदाधिकारी पुनर्बहाली गर्न विश्व फुटबल महासंघ (फिफा)ले, अखिल नेपाल फुटबल संघ (एन्फा)लाई दिएको निर्देशनको स्वागत् गरेका छन् ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विभिन्न श्रेणीका करिब दुई दर्जन क्लबले फिफाको कदमको स्वागत् गरेका हुन् ।
हिमालयन शेर्पा, मनाङ–मर्स्याङ्दी, आरसीटी, बाँसबारी, ब्वाइज युनियन, मच्छिन्द्र, जाउलाखेल, फ्रेन्ड्स, टुसाल, स्वयम्भू, सामाजिक, सानेपा, झम्सिखेल, युनाइटेडलगायत क्लबले फिफाको कदमले एन्फाको विवाद समाधान गर्न र समग्र नेपाली फुटबलको विकासकालागि मार्ग प्रशस्त गरेको बताए ।
केही दिनअघि विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले एन्फालाई बर्खास्त गरेका वरिष्ठ उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायत चार पदाधिकारीलाई पुनर्बहाली गरी साधारणसभा गर्न र रिक्त रहेको अध्यक्ष पदपूर्ति गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्