२१ चैत्र २०८१, बिहिबार | Thu Apr 3 2025


बादललाई अध्यक्ष बनाउनु पर्छ : गोपाल किराँती


0
Shares

माओवाद विचारधारा भएका दलहरुबीच एकता हुँदैछ । सँगै जनयुद्ध लडेर शान्ति प्रक्रियामा आइसकेपछि विभिन्न नेताको नेतृत्वमा माओवादीमा फुट आयो । अहिले तिनै फुटेका पार्टीबाट केही नेताहरु एमाओवादीमा फर्कदैछन् । फुट र जुटको यो राजनीतिक अध्यायभित्रका तीता–मीठा राजनीतिक बहसबारे एमाओवादीका नेता गोपाल किराँतीसँग ईमेजखबर डट कमका लागि ठाकुर बेलबासेसुदर्शन आचार्यले गरेको कुराकानी :

एकीकृत नेकपा माओवादीबाट फुटेर गएका पार्टीबाटै अहिले केही व्यक्तिहरु पुनः एकीकृत नेकपा माओवादीमै प्रवेश गर्दैछन्, यसलाई पार्टी एकीकरण त भन्न मिल्दैन होला । यो कस्तो एकीकरण हो ?

यो शत प्रतिशत एकीकरण नै हो । एकता, संघर्ष, रुपान्तरणको प्रक्रिया समाजमा हुन्छ । कम्यूनिस्ट आन्दोलनमा खासगरी यो प्रक्रियाको विधिको रुपमा चर्चा बढी स्थापित छ । मूख्यतः रुपान्तरणको आधारमा हामी एकीकृत हुँदैछौं । केही मानिस एमाओवादीमा प्रवेश गर्दैछन् भन्दा पनि वैद्य माओवादीको केन्द्रीय समितिको ७५ प्रतिशत नेताहरु रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा एकताको पक्षमा खडा भयो । यो प्रक्रियामा नेत्रविक्रम चन्दको पार्टी, मणि थापा, जयपुरी घर्ती लगायत अन्य विभिन्न पार्टीका प्रभावशाली नेताहरु पनि सामेल हुँदैछन् ।

तर फेरि पनि नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग छलफल नै गरी केही नेतासँगको छलफलको आधारमा एकता गर्नुलाई कसरी पार्टी एकीकरण भन्ने ?

वैद्य स्वयं छुट्नु भयो । वैद्यकै नेतृत्वमा एकताको पक्षमा प्रचण्ड र बादलले धेरै प्रयत्न गर्नुभयो । हामी पनि आफ्नो तहबाट धेरै लाग्यौं । उहाँ अहिले एकताको अभियानमा छुट्नु भयो । एकताका लागि कार्यदिशा सम्बन्धी समझदारी पनि आवश्यक हुन्छ । मोहनविक्रम सिंहको नयाँ जनवादी क्रान्तिको कार्यदिशा र मोहन वैद्यको नयाँ जनवादी क्रान्तिको कार्यदिशामा एकता छ । उहाँहरु २०४० तिरै विभाजित हुँदादेखि नै मोहनविक्रमले नयाँ जनवादी क्रान्तिकै कुरा गर्नु भएको हो, अहिले पनि उहाँ त्यही कार्यदिशा मै हुनुहुन्छ तर उहाँले कहिल्यै त्यस्तो क्रान्ति गर्नुभएन । मोहन वैद्य पनि गलत समझदारीमा हुनुहुन्छ । त्यसलाई हामी ‘जडसूत्रवाद’ भन्ने गर्छौं ।

तपाईहरु उहाँहरुलाई ‘जडसूत्रवाद’ भन्नुहुन्छ, उहाँहरु चाहीँ तपाईहरुलाई ‘दक्षिणपन्थी’ भन्नु हुन्छ, यो आरोप–प्रत्यारोपमात्र हो ?

यसलाई अर्को कोणबाट हेरौं, मुलुकमा क्रान्तिको आवश्यकता छ । तर बस्तुको विकास प्रक्रियालाई आत्मसात गर्न सक्नुपर्दछ । मार्क्सवादी दर्शन भनेको द्वन्द्वात्मकी भौतिकवादी दृष्टिकोण हो । द्वन्द्वात्मक भौतिकवादले बस्तुलाई बुझ्ने र बदल्ने कुरालाई मान्छ । अहिलेको नेपाली समाज, अन्तर्राष्ट्रिय परिस्थिती, सूचना प्रविधिमा आएको अभूतपूर्व क्रान्ति, अन्तरसाम्राज्यवादी युद्ध सुसुप्त रहेको, युद्ध वा मारामारको तहमा नभएको, वित्तीय पूँजीको तहमा भूमण्डलीकरण भएको स्थिति एकातिर छ भने अर्कोतिर वैद्यकै विश्लेषणमा नेपाल नवउपनिवेशिक मुलुक हो । तर नयाँ जनवादी क्रान्ति अर्द्ध सामन्ती मुलुकमा हुन्छ । आफैंले नव औपनिवेशिक मुलुक भनिसकेपछि यो मुलुकमा यो परिस्थितिमा नयाँ जनवादी क्रान्ति आवश्यक छैन ।

नयाँ जनवादी क्रान्ति गरिसकेपछि अन्ततः समाजवाद मै फर्कनुपर्छ, माओले त्यसै गर्नुभयो । नेपालमा जनयुद्ध र जनआन्दोलनको बलमा नयाँ जनवादी क्रान्ति भएन, पूँजीवादी क्रान्ति भयो । पूँजीवादी क्रान्तिको उपलब्धिको रुपमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको सिद्धान्त, आंशिक समानुपातिक प्रणाली, जनताको मौलिक अधिकार, समाजवाद उन्मुख संविधानको प्रस्तावनाको व्यवस्थाले पूँजीवादी क्रान्ति भयो तर नयाँ जनवादी क्रान्ति भएन । पूँजीवादी क्रान्तिमाथि टेकेर जसरी लेनिनले समाजवादी क्रान्ति रुसमा गर्नुभयो, नेपालमा त्यस्तै गर्नुपर्छ भन्ने प्रचण्डको कार्यदिशा रहिआएको छ । हामीले त्यसलाई समर्थन गरेका छौं ।

इतिहासको यो कुरालाई तपाईहरुले यसरी विश्लेषण गरिरहँदा आम जनता र कार्यकर्ताहरु तपाईहरुलाई नैतिक विचलनमा फसेको, विलासी भएको, कांग्रेस–एमाले भन्दा पनि माओवादीका नेताहरु भद्दा भइसके भनिरहेका छन् नि ?

सिद्धान्तको प्रश्नमा त्यसको इतिहास हुन्छ । मार्क्सवादी दर्शनलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी भनिन्छ । मानिस पनि बाँदरबाट विकसित भएर जंगली युग हुँदै यहाँसम्म आएको भनिन्छ । त्यस्तै वर्ग संघर्षको पनि इतिहास हुन्छ । त्यो इतिहासलाई हामीले विकसित गर्नुपर्छ र त्यहाँ टेकेर उभिनु पर्छ ।

नयाँ जनवादी क्रान्ति भनेको गाउँबाट सहर घेर्दै केन्द्रीय सत्ता कब्जा गर्ने दीर्घकालिन जनयुद्धको रणनीति अन्तर्गत हुन्छ । यस्तो क्रान्ति माओत्से तुङले चीनमा गर्नुभयो । नेपालमा गर्ने जमर्को गरियो तर राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिकुलताका कारण सकिएन । अब अहिले वैद्यको पनि पार्टी फुटाएर नेत्रविक्रम चन्द हिँडिरहनु भएको छ । जबकी उहाँलाई नै पार्टीले राजनीतिक कमिसारको जिम्मा दिएको थियो । दाङको घोराहीमा फौजी कारवाहीको सफलता माओवादी जनयुद्धको सबैभन्दा उच्च तहको फौजी सफलता हो, त्यो कम्पनीस्तरको थियो । त्यसपछि बटालियनस्तरको बेनी कारवाही गर्दा नेत्रविक्रमजी नै कमिसार हुनुहुन्थ्यो, उहाँले सफल पार्नुभएन । गाउँबाट सहर घेर्दै केन्द्रीय सत्ता कब्जा गर्ने भनिसकेपछि दाङको कम्पनी कब्जा गरिसकेपछि बेनी वा खाराको बटालियन कब्जा गर्न जरुरी थियो । त्यसपछि पोखराको पृतनाको पालो आउँथ्यो, पृतना जितिसकेपछि हेडक्वाटरको पालो आउँथ्यो । त्यो बेला मोहन वैद्य पूर्वको इन्चार्ज हुनुहुन्थ्यो, उहाँ इन्चार्ज हुँदा नै सल्लेरीमा आक्रमण भयो, सबै सुुरक्षा निकाय जनमुक्ति सेनाले कब्जा गरे पनि शाही नेपाली सेनाको ५५ जनाको प्लाटुन कब्जा गर्न सकेन ।

त्यसो त, जनयुद्धकालमा माओवादी र सेनाबीच साँठगाँठ थियो, एकले अर्कालाई हत्तपत्त आक्रमण नगर्ने रणनीति थियो पनि भनिन्छ नि ?

त्यस्तो होइन, त्यो त मान्छेले अनुमानको भरमा भन्ने कुरा हो । भन्नेले त प्रचण्ड भनेकै ज्ञानेन्द्र शाह हो पनि भनेका थिए । नेतृत्वको तहमा वार्ताका निम्ति समझदारी, छलफलहरु विभिन्न ढंगले भइरहेका थिए । त्यो आवश्यक पनि थियो । जसरी माओत्से तुङले एकातिर युद्ध गरिरहेका थिए भने अर्कोतिर संयुक्त मोर्चाको पहल पनि गरिरहेका थिए । त्यसकारण यस्ता कुरालाई अन्यथा मान्न जरुरी छैन । तर जनयुद्धमा सेना र माओवादीले समझदारीमा आपसमा नलडेको भन्ने सत्य होइन ।

जे होस्, पार्टी एकीकरण हुँदैछ, अब पार्टीको नेतृत्व कसले गर्ने ?

अहिले सुरुमा त प्रचण्ड नै अध्यक्ष रहनु हुन्छ । प्रचण्डपछि चाहीँ बादल अध्यक्ष हुनुपर्छ भनेर बादल समूहबाट स्वाभाविक रुपमा कुरा आएको छ, हामीले पनि त्यसलाई सकारात्मक रुपमा लिएका छौं । त्यो जरुरी पनि छ ।

पार्टी अध्यक्षमा बादल के कारणले ठिक हुनुहुन्छ ?

बादल अध्यक्ष हुनुपर्ने कारणचाहीँ १० वर्षको जनयुद्ध नै हो, जसको रचना र नेतृत्व गर्नमा उहाँको मूख्य भूमिका रह्यो । विचार र कार्यदिशा निर्माणमा प्रचण्डको जसरी महत्वपूर्ण भूमिका रह्यो, त्यसलाई संगठनमा लागू गर्ने काममा बादलको उत्तिकै महत्वपूर्ण भूमिका थियो । त्यसको आधारमा प्रचण्डपछि बादल नै पार्टीको अध्यक्ष बन्नुपर्छ ।

जनयुद्धमा निर्वाह गरेको भूमिकाका आधारमा अहिले जिम्मेवारी दिनु सान्दर्भिक हुन्छ र ?

७० सालको निर्वाचनमा भारी पराजयपछि मैले विश्लेषण गर्दै आएको कुरा यहाँ उल्लेख गर्नु जरुरी ठान्छु । प्रचण्डजी के हो भन्नेमा धेरै सोचियो, प्रचण्ड २१ औं शताब्दीको लेनिन हो । उहाँका पनि कमजोरी हुन्छन् । मान्छे भएपछि कमजोरी पनि हुन्छन् । तर उहाँको प्रधानपक्ष क्रान्तिकारी नै हो । उहाँलाई महान सहायकको अभाव खट्कियो । जसरी एंगेल्सको अभावमा मार्क्स सफल हुँदैनथे, जसरी स्टालिनको अभावमा लेनिन सफल हुँदैनथे, चाओको अभावमा माओ सफल हुँदैनथे, ती सहायक महान थिए । प्रचण्डसँग त्यस्तो महान सहायकको अभाव भयो । उहाँका जति पनि सहायक भए, ती सबै तुच्छ भए । अब पार्टी एकतापछि बादलले त्यो महान सहायकको भूमिका निर्वाह गर्नुहुन्छ भन्ने मेरो विश्लेषण हो । उहाँको शैली, काम गर्ने तरिका, विचार हेर्दा हामी यो निष्कर्षमा पुग्न सक्छौं ।

बादललाई कहिले अध्यक्ष बनाउने त ?

समय, परिस्थिति अनुसार निर्धारण हुन्छ । पहिला त यो कुरालाई टुंगो लगाउनु पर्छ । पार्टी एकताका क्रममै टुंग्याइनु पर्छ भन्ने मेरो कुरा हो । अहिले हुन सकेन भने पनि महाधिवेशनसम्ममा त्यो व्यवस्था हुनुपर्छ ।

एमाओवादीमा अहिलेसम्म प्रचण्डले आफ्नो सहायक बनाउन किन नसकेको होला ?

संरचनागत नेताहरु त थुप्रै हुनुहुन्छ, मभन्दा माथि पनि हुनुहुन्छ । तर गुण, क्षमताको हिसाबले हामी महान सहायक हुन नसकेर तुच्छ भयौं ।

एमाओवादीमै नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा लगायतका नेताहरु पनि अध्यक्षको दाबेदारीमा छन् नि, बादललाई अध्यक्ष बनाउन उहाँहरु तयार हुनुहुन्छ ?

अहिले नभए पनि पछि सबैले मान्नुपर्छ । नारायणकाजी श्रेष्ठको कुरा गर्नुभयो, व्यवहारको कुरा गर्नुपर्छ । जनयुद्ध लड्ने कि नलड्ने भन्दा उहाँ नलड्ने लाइनमा हुनुहुन्थ्यो । उहाँले जनयुद्ध लड्नु भएन । भोलि नेतृत्वको ठाउँमा पुग्नुअघि कार्यकर्ताहरुले प्रश्न गर्छन् । हामीले सशस्त्र आन्दोलन बिसर्जन गर्दैगर्दा उहाँहरुसँग एकता भएको हो । यो पार्टीको नेता भइसकेपछि धोविघाट गठबन्धनमा सक्रियतापूर्वक लाग्नु भयो । त्यसको प्रतिफलमा उहाँले १३ दिने गृहमन्त्री पद पाउनु भयो । कृष्णबहादुर महराजस्तो संयमित भद्र नेतालाई विस्थापित गरेर केवल १३ दिनका लागि उपप्रधानमन्त्री, गृहमन्त्री बन्नु भयो, त्यसमा नारायणकाजीप्रति पार्टी पंक्तिमा धेरै कार्यकर्ताको चित्तदुखाइ छ । संरचनाले त उहाँ अध्यक्ष हुन पनि सक्नु हुन्छ, तर यी र यस्ता व्यवहारिक कारणले उहाँको नेतृत्वमा माओवादी आन्दोलन पुनर्गठन र पुनर्संगठन सम्भव छैन ।

तर बादलले प्रचण्डलाई ‘लालगद्दार’ भन्नु भएको बिर्सिनु भयो ? उहाँ कसरी अहिले प्रचण्डको सहायक वा पार्टीको अध्यक्ष बन्न सक्नुहुन्छ ?

त्यो त एकता संघर्ष र रुपान्तरणको सुरुमा भनियो, त्यो संघर्षको क्रममै भएको हो । एकता संघर्ष अब संघर्ष एकता भयो । सबैले आत्मसमीक्षा गर्ने, हिजो कसैले कसैलाई धेरै पो भनियो कि, तत्कालिन एजेण्डामा ठिकै भनियो कि भनेर समीक्षा गर्ने ।

एमाओवादीमा नेतृत्व विकास यसरी किन अवरुद्ध भयो ?

पहिलो त वित्तीय पूँजीको चरम भूमण्डलीकरण नै हो । वित्तीय पूँजीवादको भूमण्डलीकरणको विरुद्धमा वैज्ञानिक समाजवादको भूमण्डलीकरण जरुरी छ । दोस्रो चाहीँ नेपाली समाजको स्थिति पनि एउटा कारण हो । तेस्रोमा निम्न पूँजीवाद, अवसरवाद, व्यक्तिवाद, आत्मकेन्द्रीत पनि कारक हो । प्रचण्डजस्तो विलक्षण तहको नेताको सहायक हुन सकिएन । बाबुरामजी हुनुहुन्थ्यो, उहाँ निस्किएर गइहाल्नु भयो ।

अहिले यो एकीकरणमा बाबुराम भट्टराईलाई ल्याउने प्रयास किन गर्नुभएन ?

उहाँ आउनु हुन्न र ल्याउन खोज्नु हुँदैन ।

किन ?

किनभने कम्यूनिस्ट आन्दोलन नै छोडिसकेपछि ल्याउने कुरै आउँदैन ।

त्यसो त, विप्लवहरुलाई पनि त तपाईहरु विचलनवादी भनिरहनु भएको छ नि, होइन र ?

पार्टी छुट्नका लागि हिँड्न खुट्टा नमिलेपछि, हेर्नमा आँखा नमिलेपछि विमती हुन्छ भनेजस्तै हो । हँसिया, हथौडाको झण्डा त हामी पनि बोक्छौं । सबैले बोकिएको छ । अब बाबुराम भट्टराईले त्यो झण्डा मिल्काएर जानु भएको हो, त्यसैले उहाँ आउनुपर्छ भन्नुको अर्थ छैन ।

उहाँ आउन चाहनु भयो भने नि ?

उहाँ आउने हो भने रुपान्तरित भएर आउनु पर्छ । मैले मार्क्सवाद, लेनिनवाद, माओवाद छोडेर गल्ती गरेँ भनेर गल्ती स्वीकार्दै फेरि त्यही बिचारमा आउँछु भन्नु पर्दछ ।

बादललाई अध्यक्ष दिने हो भने पार्टीमा नारायणकाजीको भूमिका के हुन्छ ?

उपाध्यक्ष स्वतः हुन्छ । उहाँको यो पद खोसिदैंन ।

पार्टी एकीकरण भएसँगै फुटको निरन्तरता पनि हुन्छ कि कसो ?

त्यस्तो सम्भावना अहिले देखिएको छैन । विभाजन हुने कुरालाई सैद्धान्तिक रुपमा अस्वीकार गर्न सकिदैंन । तर अहिले त्यस्तो देखा परेको छैन । प्रचण्डपछिको दोस्रो नेता हुन नपाएकै कारण भनेर कोही हिँड्छन् भने त्यो बेला हामीले बोल्नुपर्ने हुन्छ, अहिले त्यस्तो देखिएको छैन ।