
वासिङ्टन, जेठ ५ । प्राकृतिक प्रकोपले वर्षेनि विश्वमा कयौं जनधनको क्षति हुने गरेको छ । बाढी, पहिरो, आँधी, चट्याङ, भूकम्प लगायतले कहाँ र कहिले कति क्षति हुन्छ भन्ने कसैले पत्तो पाउन सक्दैन ।
यस्ता प्रकोप कसैले पनि चाहँदैन । तर विश्वमा केही यस्ता व्यक्ति पनि छन्, जो यस्ता प्रकोपका सम्भावित स्थानमा पुगेर कहिले प्राकृतिक प्रकोप आउला र आफ्ना क्यामेरामा दृष्य कैद गरौंला भनेर प्रतिक्षा गरेर बस्छन् ।
मार्को कोरोसेक त्यस्तै व्यक्तिमध्ये एक हुन् । ३४ वर्षीय यी फोटोग्राफरले सयौं माइल दुरी पार गर्दै अमेरिकाका केही स्थानमा आँधीको प्रतिक्षामा समय बिताए । अन्ततः उनले केही यस्ता तस्वीर आफ्नो क्यामेरामा कैद गरे, जो अहिले विश्वमा चर्चित भइरहेको छ ।
उनले भुमरीयुक्त आँधीलाई मुस्किलले पाँचसय मिटरको दुरीबाट आफ्नो क्यामेरामा कैद गरेका छन् । त्यस्तो आँधी निकै खतरनाक मानिन्छ । निश्चित क्षेत्रमा निकै शक्तिशाली हुने उक्त आँधीले आफ्नो केन्द्रबिन्दुमा रहेका सबैजसो सामान/बस्तु धुजाधुजा बनाएर उडाउँछ ।
मध्यपश्चिम अमेरिकामा उनले पाँच साता बिताएर प्रकृतिका विनाशक रुपलाई तस्वीरमा कैद गरेका हुन् । टेक्सास, ओक्लहोमा, कन्सास, कोलोराडोलगायतका सहरमा चहार्दै उनले प्रकृतिको विनाशक रुपलाई तस्वीरमार्फत सार्वजनिक गरेका छन् ।
उनले चट्याङको दृष्यलाई पनि क्यामेरामा कैद गरेका छन् ।
(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्