
-आदित्यमान श्रेष्ठ
करिब २४०० वर्ष अगाडि भारत जुन अवस्थामा थियो त्यसतै अवस्थामा आज नेपाल पुगेको छ । त्यस बखत ग्रीक सम्राट अलेक्जान्दरले साम्राज्य बढाउँदै भारत आइपुगे । भारत माहाद्विपमा अनेक राजा महाराजाको राज्य थियो । राजनैतिक रुपले भारत एक राष्ट्र भइसकेको थिएन । भारत अनेक राज्यमा विभाजित थियो । भारतको कुनै पनि राज्य एक्लै अलेक्जान्दरको आक्रमणको सामना गर्न समर्थ थिएन । त्यस समय चाणक्यको उदय भयो र उनले सबै राज्यहरुलाई संगठित गर्न कोशिस गरे ताकि विदेशी आक्रमणकारीलाई हराउन सकियोस् र भारतलाई जोगाइराख्न सकियोस् ।
विदेशीको आक्रमण, हस्तक्षेप र प्रभावबाट देशलाई जोगाई राख्नु पर्छ भत्रे सन्देश आज नेपाललाई चाहिएको छ । विदेशीको चलखेल र निर्देशनबाट चलिरहेको आजको नेपाललाई एउटा राष्ट्रको रुपमा कसरी स्वतन्त्र, स्वावलम्बि, बलियो राख्ने बुद्धि र बिचार चाहिएको छ । उनै चाणक्यका केही उक्तिको अनुसरण गरे पनि नेपाललाई बचाउन सहयोगी हुने छ ।
सर्वं परवशं दुखं सर्वमात्मवशं सुखम् ।
एतद्विद्यात्समासेन लक्षणं सुखदुःखयोः ।।
पराधिन दुःख र स्वाधिन सुख हो । यही नै सुखदुःखको लक्षण हो । हुन त यो मानिसको व्यक्तिगत सुखदुःखको सम्बन्धमा भनिएको कुरा हो तर यो एउटा राष्ट्रको अवस्थामा पनि लागु हुन्छ । खासगरी हामीले हाम्रो देशमा जसरी विदेशी हस्तक्षेप भइरहेको र दिनानुदिन बढिरहेको देखेका छौं त्यसले यो सूक्तिलाई अरु चरितार्थ गर्दछ । यसको वास्तविकता बुझ्न धेरै टाढा जानु पर्दैन । केही महिना अगाडि मात्र नेपालमा नयाँ संविधान घोषणा भएको उदाहरण लिए पुग्छ । हुन त यो नेपालीहरुले विधिपुर्वक बनाएको हो तर सबैलाई थाहा छ यसमा कति विदेशीको प्रभाव परेको छ । नेपालीहरुले नमागेको, नरुचाएको र नस्वीकारेको कुराहरु समावेश गरिएका छन् ।
उदाहरणका लागि धर्म निरपेक्षताको मुद्दालाई हेरौं । यो केही विदेशीहरुको दबाबमा, विदेशीबाट आर्थिक लाभ पाएर र सभासदहरुलाई झुक्यायर ल्याइएको हो । दोस्रो जन आन्दोलनमा यसको नारा लगाइएको थिएन, न यसबारेमा सार्वजनिक चर्चा नै चलेको थियो । यति सम्म त नेपालीहरुले सहे र नरुचाएपनि स्विकार गरे । तर यही कुराले अर्को विदेशी शक्ति रिसायो र यसलाई हटाउन कोशिस गर्यो तर सकेन् । त्यसैको रिसमा नेपालले ६ महिना सम्म नाकाबन्दीको कष्ट भोग्नु पर्योे । अरुको वशमा काम गर्दा र अरुको भरमा बस्दा कति कष्ट हुने रहे छ भत्रे नेपालीहरुले थाहा पाए । यसबाट हामीलाई ठुलो शिक्षा मिलेको छ कि सुख पाउनको लागि नेपालीहरु स्वाबलम्बी र आत्मनिर्भर हुनु पर्दो रहेछ । तर के हामीहरु त्यस दिशातिर उन्मुख भएका छौं ? यदि भएका छैनौं भने यो सूक्तिलाई मनन् गरेर त्यतातिर लाग्नु पर्यो । होइनभने हामी बारम्बार दुःखको भुमरीमा परिरहने छौं । यसै सिलसिलामा हामीलाई सुहाउँदो र मननयोग्य अर्को श्लोक छ जसले हामीलाई हमेशा सजग रहन प्रेरित गर्द छ । त्यो हो-
आत्मवर्गं परित्यज्य परवर्गं समाश्रयेत् ।
स्वयमेव लयं याति यथा राज्यमधर्मतः ।।
आफन्तलाई त्यागेर अरुसित सहारा लिने व्यक्तिले स्वयंको नास गर्द छ । त्यसै गरी अन्याय र अधर्मले राज्यको नास हुन्छ । हाम्रो देश पनि आज जुन खतरामा परेको छ त्यसको कारण बुझ्न यसले सहायता गर्दछ । हामीले सुनिआएको र बुझि आएको कुरा हो कसरी हाम्रा नेताहरुले सत्तामा आउनका लागि विदेशीको चाकरी गर्दै हिंड्द छन् । उनीहरुले आफ्नो देशका जनता भन्दा विदेशी सरकार र नेताहरुको मद्दत र समर्थन लिन जाने गरेका छन् । यसरी सत्तामा आएका नेताहरुले विगत ५०/६० वर्ष देखि राष्ट्रिय स्वार्थलाई एकातिर पन्छाएर विदेशीको स्वार्थ पुरा गरेका छन् ।
आज पनि त्यसता नेताहरु हाम्रो सामु छन् । नेपालमा कुनै ठुला काम र विकास नेपालीले गर्न सक्दैनन् त्यसता कामहरु विदेशीलाई सुम्पनु पर्दछ भनेर निर्धक्क बोल्छन् । यिनीहरुले आफ्नो मर्यादा र इज्जतको नाश आफैं गरिरहेका छन् । त्यसको साथै देशको नै नाश गर्न तम्सेका छन् । यो सूक्तिको राम्ररी मनन गर्न सकियो भने हाम्रो देश किन अस्तित्वको खतरामा परेको रहेछ भनेर बुझ्न सक्दछौं । यस समस्याको गहिराइमा जाने हो भने तलको सूक्तिले अरु मद्दत गर्दछ ।
येनात्मा पण्यतां नीतः स एवान्विष्यते जनैः ।
हस्ति हेम सहश्रेण क्रियते न मृगाधिपः ।।
जसले आफूलाई बेचिन समर्पण गर्दछ त्यसलाई मानिसले खोज्दछ । हजार असर्फीले हात्ती किनिन्छ तर सिंहको किनबेच हुंदैन । हरेक राष्ट्रले आफ्नो शक्ति र प्रभाव बढाउन कोशिस गर्दछ । त्यसै गरी हामीले पनि त्यो बाटोको अनुशरण गर्नु पर्दथ्यो । तर त्यसको उल्टा हाम्रा नेताहरुले आफुलाई विदेशीको हातमा बेची दिन्छन् । विदेशीले कसैलाई पैसा दिएर, कसैलाई मन्त्री या प्रधानमन्त्री बनाई दिएर र कसैलाई औषधी उपचार गराई दिएर र कसैका छोराछोरीलाई पढाइदिएर कित्रे गरेका छन् । हाम्रा नेताहरु, प्रशासकहरु, ठुला अधिकारीहरु र निर्णयकर्ताहरु विदेशीको हातमा विक्री भइरहेका छन् । यी मानिसहरु आफ्नै इच्छा, विवेक र निर्णयबाट विक्रि हुने गरेका छन् । यदि कोई विकाउमा जान मानेनन् भने उनीहरुलाई कसैले कर गर्न सक्दैनन् । यस्ता मानिसहरु पनि हाम्रो देशमा छन् । तर विक्री नहुने भन्दा विक्री हुने मानिसहरु धेरै देखिएका छन् । सूक्तिमा भनिए जस्तै हाथीले बजारमा विकाउ हुन मञ्जुर गर्ने हुनाले विक्री हुने गर्दछ । तर सिंह जस्तो भएर बाँचे भने कसैले त्यसको मूल्य सोध्दैनन् । त्यसैले देश र आफ्नै इज्जत बचाएर राख्न विकाउमा जान हुँदैन । यति कुरालाई मनन गरिदिए नेपाल र नेपालीहरुको अवस्था बेग्लै हुने थियो र जीवन सुखमय हुने थियो भत्रे विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्