६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अमेरिकाद्वारा आतंकवादको प्रायोजकविरुद्ध मुद्दा हाल्नसक्ने विधेयक पारित


0
Shares

काठमाडौं, जेठ ५ । अमेरिकाको माथिल्लो सदन सीनेटले आतंकवादको प्रायोजकविरुद्ध मुद्दा हाल्नसक्ने प्रावधानसहितको विधेयक पारित गरेको छ ।

आतंकवादको प्रायोजकबिरुद्धको न्यायसम्बन्धी यस विधेयक अब तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटीभमा पठाइने छ । प्रतिनिधिसभाबाट पनि पारित भएमा यसले कानूनको रुप लिनेछ ।

तर संसदले विधेयक पारित गरेपनि राष्ट्रपति बाराक ओबामाले यसविरुद्ध भीटो अधिकार प्रयोग गर्न सक्ने बताइएको छ । यद्यपि, डेमोक्रेट सांसदले भने राष्ट्रपतिलाई भीटो प्रयोग गर्नबाट रोकिने दावी गरेका छन् ।

विधेयकले कानूनको रुप लिएमा सेप्टेम्बर ११, सन् २००१ को आतंकवादी आक्रमणमा पीडित भएकाले सउदी सरकारबिरुद्ध अदालतमा मुद्दा हाल्न सक्ने छन् ।

सेप्टेम्बर ११ को घटनामा पीडित भएकाहरुले घटनामा संलग्न रहेको सउदी सरकारका कुनै पनि सदस्यबिरुद्ध मुद्दा हाल्न सक्ने अधिकार यस कानूनले दिनेछ ।

यता सउदी अरबका विदेश मन्त्रीले अमेरिकाले यो कानून पारित गरे अमेरिकासँगको आफ्नो लगानी फिर्ता गर्ने चेतावनी दिएका छन् । सउदी अरबले उक्त घटनामा आफूहरुको कुनै भूमिका नरहेको प्रष्टीकरण दिँदै आएको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा ओसामा बिन लादेन नेतृत्वको अलकायदाले अमेरिकाको न्यूयोर्कस्थित जुम्ल्याहा भवन र पेन्टागनमा आक्रमण गर्दा तीन हजार मानिस मारिएका थिए । जसमा प्रयोग गरिएको बिमान अपहरण गर्ने १९ मध्ये १५ जना सउदी नागरिक थिए । (एजेन्सी)