८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


हङकङमा बृहत प्रजातान्त्रिक आन्दोलनपछि चिनियाँ नेताको भ्रमण


0
Shares

काठमाडौं, जेठ ४ । हङकङमा सन् २०१४ को बृहत प्रजातान्त्रिक आन्दोलनपछि पहिलो पटक उच्च चिनियाँ अधिकारीले भ्रमण गरेका छन् ।

यसैका लागि सुरक्षा व्यवस्था अत्यन्तै कडा बनाइएको छ । प्रजातन्त्र समर्थक समूहको प्रदर्शन गर्ने योजनापछि शहरमा ६ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

हङकङ मामिलाका लागि बेइजिङका मुख्य जिम्मेवार व्यक्ति झाङ डेजियाङले हङकङ ओर्लिएलगत्तै समाजका सबै क्षेत्रका भनाइ सुन्ने बताएका छन् ।

चिनियाँ नेशनल कंग्रेसका स्थायी समितिका अध्यक्ष झाङ चिनियाँ शीर्ष तेस्रो तहका नेता छन् । उनले हङकङका प्रजातन्त्रवादी सांसदहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।

हङकङमा एक मुलुक दुई व्यवस्थाको सिद्धान्त लागु गर्न आवश्यक पर्ने पक्षमा छलफल गरिने झाङको भनाइ छ ।

सन् २०१४ मा हङकङको कार्यकारी प्रमुखका लागि मूल भूमि चीनले छानेका उम्मेदवार नभई पूर्ण स्वतन्त्र निर्वाचनको माग गर्दै व्यापक प्रदर्शन भएको थियो ।

सन् १९९७ मा ब्रिटेनले हङकङ चीनलाई हस्तान्तरण गरेपछि त्यहाँ एक मुलुक दुई व्यवस्था अनुसार शासन व्यवस्था सञ्चालित छ । (एजेन्सी)