
काठमाडौं, जेठ १ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले नाइजेरियाको विद्रोही संगठन बोको हराम र इस्लामिक स्टेट आइएसबीच सम्बन्ध रहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
सिरिया तथा इराकसहितका देशमा हिंसात्मक गतिविधि गरिरहेको आइएससँग बोको हरामले सहकार्य गरेको र यो मानवीय सुरक्षा र शान्ति स्थापनाका लागि ठूलो खतरा रहेको भन्दै सुरक्षा परिषद्ले चिन्ता व्यक्त गरेको हो ।
गत वर्ष आइएससँग सम्बद्ध बोको हरामका लडाकुले पश्चिम तथा मध्यअफ्रिकामा शान्ति स्थापनामा बाधा पुर्याएको सुरक्षा परिषदले जारी गरेको वक्तव्यमा उल्लेख छ
एक उच्च अमेरिकी अधिकारीले बोको हरामका लडाकु लिबियामा गएर आइएसमा सामेल भएको जनाएका छन् ।
नाइजेरियामा आज बोको हरामविरुद्धको कारबाही अभियानलाई प्रभावकारी बनाउने विषयमा सम्मेलन हुँदैछ । सम्मेलनमा नाइजेरियाका राष्ट्रपतिसहित छिमेकी मुलुकहरु बेनिन, क्यामरुन, चाड तथा नाइजरका राष्ट्रपति सहभागी हुनेछन् ।
सम्मेलनमा फ्रान्सका राष्ट्रपति फ्रांस्वा ओलान्ड, बेलायती विदेशमन्त्री फिलिप हेमान्ड तथा अमेरिकी विदेश उपमन्त्री एन्टोनी ब्लिन्केन पनि सहभागी हुने छन् ।
नाइजेरिया तथा छिमेकी मुलुकमा गएको वर्ष बोको हरामको आक्रमणमा २० हजारको ज्यान गएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्