२१ चैत्र २०८१, बिहिबार | Thu Apr 3 2025


आफैं ‘लालगद्दार’ भन्ने, आफैं अंकमाल गर्न जाने ! : सिपी गजुरेल


0
Shares

नेकपा क्रान्तिकारी माओवादी र एकीकृत नेकपा माओवादीबीच एकता प्रक्रियाका लागि अनौपचारिक छलफल भइरहेकै समयमा क्रान्तिकारी माओवादीबाट रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा केही नेता–कार्यकर्ता एमाओवादीमा प्रवेश गर्ने चर्चा राजनीतिक बृत्तमा व्याप्त छ । एमाओवादीबाट छुट्टिएर बनेको नेकपा क्रान्तिकारी माओवादीमा दोस्रो पटक राजनीतिक पहिरो जान लागेकै हो त ? यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा एउटा समूह बाहिरिएको थियो । नेता–कार्यकर्ताको समूह किन यसरी बाहिरिन थाले ? एमाओवादीसँगको एकता कति सम्भव छ ? प्रस्तुत छ, यी र यस्तै जिज्ञासा लिएर नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सिपी गजुरेलसँग इमेजखबर डट कमका लागि ठाकुर बेलबासेसुदर्शन आचार्यले गरेको कुराकानी :

एनेकपा माओवादी र नेकपा क्रान्तिकारी पार्टीबीच एकीकरणको कुरा चलिरहेको छ, कहाँ पुग्यो एकीकरण प्रक्रिया ?

एकीकरणको प्रक्रिया अनौपचारिक छलफलमा सीमित छ, एकताका लागि पुग्नुपर्ने वास्तविक चरणमा पुगेकै छैन । अनौपचारिक रुपमा हाम्रा अध्यक्ष मोहन वैद्य ‘किरण’ र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जीको बीचमा छलफल भएकै हो । तर औपचारिक रुपमा त्यसका निम्ति वार्ता अघि बढ्नका लागि कमसे कम एकताका आधार के–के हुनुपर्छ भन्ने तय हुन जरुरी छ । एकताको आधार तय भइसकेपछि वार्ता टोली बन्नु पर्छ । त्यो वार्ता टोलीले पार्टीले दिएको म्यान्डेटका आधारमा वार्ता गरेर पार्टीको केन्द्रीय समितिले पारित गर्नुपर्ने औपचारिक प्रक्रिया हो ।

एनेकपा माओवादीभित्रका कतिपय नेताले वैद्यजीसँग फाइनल कुरा गर्न बाँकीमात्र हो, पार्टी एकीकरणको माहोल बनिसकेको छ भन्दैछन्, तपाईको नजरमा वास्तविकता के हो ?

उहाँहरुको सोच होला त्यो । तर हामीले त्यसरी हेरेका छैनौं, उहाँहरु एकताका लागि जसरी अघि बढिरहनु भएको छ र जुन प्रक्रिया अघि बढाउँदै हुनुहुन्छ, त्यो गलत छ । त्यो प्रक्रियाले पार्टी एकता नै हुँदैन । एकताको प्रक्रिया माथिबाट हुने हो, तलबाट होइन । त्यहाँ सिद्धान्त, विचार, रणनीति, कार्यनीतिको कुरा आउँछ । त्यसकारण एकताका लागि माथिल्लो तहबाट छलफल र वहस सुरु हुन्छ । तर अहिले हाम्रो अध्यक्ष नै त्यो प्रक्रियामा सामेल हुनुभएको छैन, कसरी एकता प्रक्रिया अघि बढ्छ ?

तर तपाईकै पार्टीबाट केही नेताले एकता प्रक्रियामा खुट्टा उचालिसकेका छन् नि ?

केही मान्छेहरुले खुट्टा उचालिसकेका छन्, उनीहरुले १२ बुँदे सहमति पनि गरिसकेका छन् । प्रचण्डजीले यो कुरा कसरी मान्नुभयो भन्नेमा चाहीँ मलाई अनौठो लागिरहेको छ । जबकी उहाँले ‘किरणजी मेरो गुरु हो, म उहाँको नेतृत्वलाई मान्छु’ भनिसक्नु भएको थियो । त्यो कुरालाई क्रस गरेर बादलजीको टिमसँग वार्ता गर्न उहाँले कसरी स्वीकृती दिनुभयो र १२ बुँदे सहमति कसरी गर्नुभयो ? मैले बुझ्न सकेको छैन । मेरो विचारमा यो त ठूलो अवसरवाद हो ।

त्यसो हो भने पार्टी एकताका नाममा मोहन वैद्य, तपाई लगायतका केही साथीहरु छुट्ने र केही साथीहरु एनेकपा माओवादीमा सामेल हुन्छन् कि कसो ?

हामी छुट्ने भन्ने कुरै भएन । संख्या कति हुने भन्ने कुरै भएन । तर पार्टी एकता भनेको त एउटा प्रक्रिया पनि हो । एउटा पार्टीको अध्यक्ष नै यो प्रक्रियामा नभएको अवस्थामा यसलाई पार्टी एकता नै भन्न मिल्दैन । केही व्यक्ति जाने भन्ने कुरा हो । यसलाई आत्मसमर्पण भन्न सकिन्छ । केही व्यक्तिलाई हतारो लाग्यो, जान इच्छा लाग्यो वा यस्तै अन्य कारणले उहाँहरु जान लाग्नु भएको हो ।

तपाईहरुको पार्टीभित्र अर्को एउटा फुट आयो भनेर बुझ्दा हुन्छ त ?

फुट आएकै भन्नु पर्ला । किनभने एउटा खण्ड त गयो नि, आकारमा जत्रो भए पनि ।

सैद्धान्तिक कारणले नै पार्टीमा फुट आएको हो ?

उहाँहरुमा आएको सैद्धान्तिक, वैचारिक विचलन कै कारण उहाँहरु जान लाग्नु भएको हो । क्रान्तिप्रति विश्वास गुम्दै गएको र लामो समय क्रान्तिमा हिँडेका कारण थकानवस् क्रान्ति छाडेर जान लागेको भनेर पनि बुझ्न सकिन्छ । अहिले नेपालमा जसरी जनयुद्ध पराजित भएर प्रतिक्रान्ति भयो, त्यसबाट जनतामा त निराशा थियो नै, नेताहरुमा पनि देखिन थालेको उदाहरण हो । त्यसैले पनि उहाँहरु एकता गर्नुपर्छ भन्ने सोचसम्म पुग्नु भयो ।

तपाईहरुलाई याद नै होला, हामीले पार्टी पुनर्गठन गरेपछि बादलजीले नै प्रचण्डजीलाई ‘लालगद्दार’ भन्नु भएको थियो । पार्टीले त त्यसो भनेको थिएन ! अहिले उहाँ आफैं ‘लालगद्दार’ सँग गएर अंकमाल गर्न थाल्नुभयो । आफैं ‘लालगद्दार’ भन्ने, आफैं अंकमाल गर्न जाने, यो त विचलन नै हो नि ।

पुुष्पकमल दाहालले पनि क्रान्तिको कुरा गर्न त छोड्नु भएको छैन नि, उहाँको क्रान्तिको कुरा के हो त ?

पुष्पकमलजीमात्र होइन, ओलीजी पनि क्रान्तिको कुरा गर्दैहुनुहुन्छ । क्रान्तिको कुरा नगर्ने त को छ र ? क्रान्तिको कुरा नगरी न क्रान्तिकारीको समर्थन पाइन्छ, न जनताको समर्थन पाइन्छ । क्रान्तिका कुरा त सबैले गरिरहन्छन् । विचारमा त्यो क्रान्तिलाई तिनीहरुले ग्रहण गर्छन् कि गर्दैनन्, व्यवहारमा लागू गर्छन् कि गर्दैनन्, मूख्य कुरा यही हो ।

नेपालका राजनीतिक दलहरुलाई फुटाउन र जुटाउन विदेशी शक्तिको चलखेल नै मूख्य कारकका रुपमा लिइन्छ, माओवादीको फुटमा र अहिले चलिरहेको जुटको प्रक्रियामा विदेशी शक्तिको चलखेल छ कि छैन ?

अब यो जुटमा कुनै न कुनै रुपमा विदेशी शक्तिको चलखेल भएको हामी देखिरहेका छौं । क्रान्तिकारी माओवादीलाई जसरी नवसंशोधनवादी कित्तामा लगेर जसरी मिसाउन खोजिएको छ, यही संविधान मान्ने शक्तिमा लगेर जसरी मिसाउन खोजिएको छ, संसदीय व्यवस्था मान्ने पार्टीसँग जसरी विलय गराउन खोजिएको छ, एउटा ठूलै डिजाइनमा भएको हामी पाउँछौं । एकाएक एकता गर्नुपर्छ भनेर जसरी तीब्रतापूर्वक यो प्रक्रिया अघि बढ्यो, यो माहोल दुई÷चारजनाले गरेर खडा भएकै होइन । ठूला शक्तिहरु लागेका छन् ।

ती शक्ति कहाँका हुन् ?

हामीले त यसमा साम्राज्यवादी शक्ति हुन सक्छन् भन्दै आएका छौं । भारतीयलाई विस्तारवाद भन्छौं, देशभित्रका दलाल, नोकरशाही र पूँजीपतिवादी शक्तिहरु हुन सक्छन्, जसले सँधैभरी नेपालमा क्रान्ति नभईदियोस् भन्ने चाहन्छन् । तिनका लागि हाम्रो पार्टी पुनर्गठन हुनु भनेको टाउको दुखाइको कुरा हो ।

तपाईले संसदीय राजनीतिक भासको कुरा गर्नुभयो, योसँगै तपाई आफैं पनि त यही संसदीय व्यवस्थालाई आत्मसात गर्दै यहाँसम्म आउनु भएको हो नि त ?

होइन नि, किनभने संविधानसभा भनेको त संसद थिएन ।

पुनर्स्थापित प्रतिनिधिसभामा तपाईहरुको प्रतिनिधित्व भएकै हो नि, होइन र ?

हामीले संसदीय अभ्यासलाई राम्रो भनेका छैनौं । संसदीय अभ्यासमा गएपछि हामी अलग्गै भएका छौं । त्यसकारण हामीले संसदीय व्यवस्थालाई अंगीकार गरेर संविधानसभामा भाग लिएको होइन, संविधानसभा बेग्लै संस्था हो । कुन प्रकारको राज्य व्यवस्था स्थापना गर्ने भन्ने परिभाषित नै त्यो संस्थाले गर्नेवाला थियो । त्यो व्यवस्थामा हामी गयौं । र, जनताले पनि हामीलाई भारी मतका साथ विजयी गराउनु भयो । धेरै कुरा हामीले त्यतिबेलै जनताको पक्षमा बनाउन सक्ने सम्भावना पनि थियो तर संविधानसभा विघटन गरियो ।

तपाईहरु कहाँ चिप्लिनु भयो त ?

खाशगरी त्यतिबेला हाम्रो नेतृत्वमा रहनु भएको प्रचण्डजी र बाबुरामजी यसमा जिम्मेवार हुनुहुन्छ । वार्ता गर्ने जिम्मेवारी त उहाँहरुमै थियो । आफ्ना एजेण्डा छोड्दै गएर संविधानसभालाई नै विघटन गर्न उहाँहरु नै तम्सिनु भयो ।

तपाईले आफ्ना सिद्धान्तलाई यसरी व्याख्या गरिरहे पनि तपाईकै पार्टीबाट पहिला विप्लवजीले एउटा समूह लिएर बाहिरिनु भयो, अहिले बादलजी अर्को समूह लिएर जाँदै हुनुहुन्छ, आफ्नो पार्टीमा केही कमी–कमजोरी देख्नुहुन्न तपाई ?

हामीमा पनि केही कमी–कमजोरी छन् । पार्टी पुनर्गठन गरेर पनि हामीले धेरै ठूलो उथलपुथल ल्याउन सकेनौं । त्यो एउटा परिस्थितिजन्य कुरा हो । अर्कोकुरा हामीमै पनि क्षमता रहेन छ कि त ! त्यो हामीले महसुस गरिरहेका छौं ।

अथवा, तपाईहरुले परिकल्पना गरेको क्रान्ति नै मुलुकमा आवश्यक नरहेको पो रहेछ कि ?

त्यो चाहीँ होइन । किनभने क्रान्तिको एउटा कार्यभार हुन्छ । अहिलेको नेपाली समाज अद्र्धसामन्ती र नवउपनिवेशवादको अवस्थामा छ । यो त फेरिएको छैन नि । जबसम्म यो फेरिदैंन, तबसम्म क्रान्तिको आवश्यकता परिरहन्छ ।

१० वर्ष युद्ध लड्नु भयो, १७ हजारभन्दा बढी मानिस मरे, तपाईहरुले अहिले खोजेको क्रान्ति कस्तो हो ?

हामीले गर्ने क्रान्ति अब जनयुद्धजस्तो हुँदैन भन्ने हाम्रो मान्यता छ । किनभने ०५२ सालमा जनयुद्ध गर्दा नेपालको जुन परिस्थिति थियो, अहिले त्यो छैन । अन्तर्राष्ट्रिय परिस्थितिमा पनि धेरै ठूलो हेरफेर आएको छ, नेपालकै आफ्नो परिस्थितिमा पनि धेरै ठूलो हेरफेर आएको छ । त्यसकारण त्यही तरिकाले अब जनयुद्ध हुँदैन । अब नयाँ ढंगले जनविद्रोह हुन्छ ।

नयाँ ढंग भनेको कस्तो ?

पहिले हतियार उठाएर सानो समूहले छापामार युद्ध गर्दै फौज निर्माण गर्ने र ग्रामिण इलाका विस्तार गर्दै गएर सहरलाई गाउँले घेर्ने रणनीतिबाट जनयुद्ध भयो । अहिले त्यो सम्भव छैन । सहरीकरण पनि अहिले व्यापक विस्तार भएको छ, सडक विस्तार भएको छ । अब विद्रोहात्मक ढंगले अघि बढ्नुपर्छ ।

माओवाद सिद्धान्तमै विचलन देखिएकोजस्तो पनि देखिन्छ, एउटै पार्टीमा रहेर, सँगै बसेर जनयुद्ध गरेकाहरु अहिले विभिन्न पार्टी गठन गरेर राजनीतिमा लागेका छन्, हरेकका आ–आफ्नै रणनीति र कार्यनीति छ, यसलाई कसरी बुझ्ने ?

विचलन त हो । तर अब लामो समय यस्तो अवस्था रहँदैन । अब ध्रुवीकरण हुन्छ । दक्षिणपन्थीहरुको ठूलो ध्रुवीकरण हुँदैछ । हामीभित्रका केही दक्षिणपन्थीहरु र अन्य पार्टीका दक्षिणपन्थीहरु, प्रचण्डजीको त समूह नै हाम्रो विचारमा नवसंशोधनवादी हो । छरिएर रहेका यी सबै एकै ठाउँमा ध्रुवीकरण हुने प्रक्रिया अघि बढेको छ ।

मलाई एउटा कुरा याद आयो, मदन भण्डारीसँग मेरो कुरा हुँदा उहाँले मलाई त्यतिबेला भन्नु भएको थियो– तपाईहरु र हाम्रोबीचमा दुरी धेरै नै बढी छ, त्यसैले हामी दुईको पार्टी एकीकरण हुँदैन, यसमा प्रयास पनि नगरौं तर तपाईहरुले दक्षिणपन्थी भनेर आरोप लगाएकाजतिलाई हामी संगठित गर्छौं, हामीले उग्रवामपन्थी भनेका जतिलाई तपाईहरु संगठित गर्नुस्, त्यो पनि नेपालका लागि आवश्यक छ किनकि दुईवटा मात्र कम्यूनिष्ट पार्टी भए भने जनतालाई कुरा बुझाउन पनि सजिलो हुन्छ र हामी आफैं पनि ठूलो शक्ति बन्न सक्छौं ।’

त्यसैगरी अहिले दक्षिणपन्थीहरु संगठित हुँदैछन् । अब केहीपछि वामपन्थी भनेकाहरु पनि ध्रुवीकरण हुन्छन् ।

तपाईहरुलाई उग्रवामपन्थी भन्न मिल्छ कि मिल्दैन ?

दक्षिणपन्थी आँखाले हेर्ने हो भने हामी उग्रवामपन्थी नै हो ।

मदन भण्डारीले उहिल्यै भनेझैं अहिले एमाओवादीसहितका दक्षिणपन्थीहरु एमालेमा जाने र उग्रवामपन्थीहरु एउटा पार्टीमा आउने सम्भावना देख्नुहुन्छ ?

त्यो सम्भावना बढि छ । मदन भण्डारीले मसँग त्यसो भनेपछि नै एमाले बनेको हो । हामीले पनि एकता केन्द्र हुँदै माओवादी बनायौं । अहिले पनि त्यो सम्भावना फेरि आयोजस्तो लाग्दैछ ।

एमाले र एमाओवादी एकै ठाउँमा गाभिन सक्छन् ?

त्यो सम्भावनालाई इन्कार गर्न सकिदैंन । किनभने एमाले र एमाओवादीका बीचमा वैचारिक राजनीतिक अन्तर धेरै कम हुँदै गइरहेको छ । प्रचण्डजीले त प्रस्ताव पनि राख्नु भएको छ । अलिकता समय लाग्ला, तर अन्तिममा गएर हुने कुरा चाहीँ त त्यही हो ।

जनयुद्धको समयमा दक्षिणपन्थी र उग्रवामपन्थी सँगै बसेर काम गर्न कति सहज थियो ?

त्यो त सजिलो थिएन । जब हामीले जनयुद्ध अघि बढाउँदै गयौं, एमालेमा ठूलो विभाजन आयो । एमालेबाट माले बन्यो ।

तपाईकै भनाईअनुसार प्रचण्डजी दक्षिणपन्थी नेता, तपाईले आफूलाई उग्रवामपन्थी स्वीकार गरिसक्नु भयो, तर जनयुद्धमा तपाई पनि त प्रचण्डजीसँगै हुनुहुन्थ्यो, सहकार्य भयो होइन र ?

प्रचण्डजी त्यतिबेला क्रान्तिकारी नै हुनुहुन्थ्यो ।

त्यसको आधार तपाईसँग के छ ? प्रचण्डजी त्यतिबेला दिल्लीमै बस्नु भयो, तपाई र किरणजी भने भारतकै जेलमा हुनुहुन्थ्यो, होइन र ?

यो पछिल्लो चरणमा प्रकाशमा आएका कुरा हुन्, सुरुमा त्यस्तो थिएन । यी कुराहरु पछि उदघाटित भए । जब उहाँले दक्षिणपन्थी बाटो समाउनु भयो, हामीले सुध्रन आग्रह गरेका हौं, मौका पनि दिएकै हो, उहाँ सुध्रिनु भएन, अनिमात्र हामीले पार्टी पुनर्गठन गरेका हौं ।

पदीय भागवण्डा नमिलेर तपाईहरु दाहालसँग छुट्टिनु भएको भन्ने विश्लेषकहरुको भनाई सत्य होइन र ?

त्यो त होइन । हाम्रो एजेण्डामा पदीय कुरा थिएन । वैचारिक राजनीतिक विषयमै हाम्रो मतभेद भएको हो । प्रतिक्रान्तिका लागि सिंगो पार्टीलाई उहाँले होम्ने भएपछि हामीले त्यहाँबाट विद्रोह गरेका हौं ।

तपाईहरुले दाहालजीसँग विद्रोह गर्नुभयो, तपाईहरुसँग पनि धमाधम विद्रोह भइरहेको देखिन्छ, यो क्रम त चलिरहने रहेछ नि ?

हामीले विचार लिएर विद्रोह गरेका थियौं । हामीलाई त्यतिबेला धेरैले पत्याएका थिएनन् । तर तपाइहरुले देखिहाल्नु भयो, प्रचण्डजीसँग अलग भइसकेपछि हामीबाट विप्लवजीहरु फुटेर जानुभयो । त्यतिबेला हामीले यसबाट केही फरक पर्दैन भनेका थियौं, फरक परेन पनि । अहिले बादलजीहरु जाँदैछन्, हामी भन्दैछौं, त्यसबाट पनि केही फरक पर्दैन । यसबाटै बुझिन्छ कि हामीले त बलियो पार्टी बनाएका रहेछौं । वास्तवमा हाम्रो यो पार्टीमा फुट नआएको भए प्रचण्डजी र बाबुरामजी अलग भइसकेपछि त हाम्रै पार्टी मूलधार हुने थियो । तर दुर्भाग्य नै भन्नुपर्छ, विप्लव, बादलजीहरु यहाँ बस्न सक्नु भएन ।

बस्न सक्ने वातावरण पनि त बनाउन सक्नुपर्दो हो नि ?

हाम्रो नेतृत्व गरिरहनु भएको अध्यक्ष किरण सोझो र इमानदार भएका कारण केहीले फाइदा लिएका हुन् । उहाँले सबैलाई अवसर दिनुहुन्छ, धेरै शंका गर्नुहुन्न । त्यसैले उनीहरुले त्यसको लाभ उठाए ।

यही क्रम रहने हो भने त तपाईहरुको पार्टीमा अध्यक्ष र उपाध्यक्षमात्रै रहनु हुन्छ कि ?

बहुमत केन्द्रीय सदस्य आफूसँग रहेको दाबी गर्दै बादलजीहरुले मिडियालाई पनि भ्रममा पार्नुभएको छ । उहाँहरुसँग बहुमत भएको भए त औपचारिक बैठक बोलाएर निर्णय नै गरिहाल्नु हुन्थ्यो नि, अस्तिको बैठकलाई पनि उहाँहरुले अनौपचारिक भन्नु भयो ।

पार्टी अध्यक्ष किरण कै नेतृत्वमा एमाओवादीसँग पार्टी एकता गर्ने आधार बाँकी छ कि छैन ?

तत्काल त्यो छैन । किनकि उहाँहरुले अध्यक्षलाई समेत जानकारी नगराई छुट्टै वार्ता गरेर कार्यदल बनाएर १२ बुँदे सहमति गर्नुभयो ।

एकताको विषयमा त किरणजी र प्रचण्डजीबीच पनि छलफल त भएकै हो नि ?

अनौपचारिक कुरा त धेरै अघिदेखि भएको हो । औपचारिक वार्ताका लागि चाहीँ केही आधार तयार हुनु पर्दछ । तर अनौपचारिक वार्ता जहिले पनि हुन सक्छ । तर पछिल्लो समय जसरी बादलजीहरुले वार्ता र सहमति गर्नुभयो, त्यस्तो त कुनै पनि पार्टीमा हुँदैन । एकताका लागि वार्ता गर्दा, सहमति गर्दा पार्टीको मूख्य नेताले नै सहभागिता जनाउने हो, तर अहिले त्यस्तो भएको छैन ।

किरणजी र प्रचण्डजीबीच भएको अनौपचारिक वार्ताले औपचारिक वार्ता सुरु गर्न नसक्नुको मूख्य कारण चाहीँ भागवण्डा नै हो ?

हामी त्यो एजेण्डामा पुगेकै थिएनौं । वैचारिक र राजनीतिक विषयमै छलफल हुन पाएकै थिएन । हाम्रो पार्टीभित्रै ती एजेण्डा टुंगिन सकेको थिएन । त्यसमा बादलजीले भिन्न मत राख्नु भयो ।