
काठमाडौं, वैशाख ३० । सृष्टिको सुरुदेखि नै प्रकृति र मानिसबीच अत्यन्त रोचक सम्बन्ध छ । कहिले प्रकृति त कहिले मानिसले गरेको अन्वेषण अगाडि–पछाडि हुनेक्रम लुकामारीझैं चलिरहेछ ।
एकार्कामा मानवीय आविष्कार र प्रकृतिका चुनौती नङ मासुझैं छ । पछिल्लोपटक विश्व स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै देखिएको छ । प्रकृतिले खडा गरेका एक–एक स्वास्थ्य चुनौतीलाई चिर्दै सुरक्षित बन्ने दाउमा लागेको मानवसंसारमा ‘जिका’ नामक अर्को एउटा यस्तो भाइरस देखिएको छ, जसले स्वास्थ्य क्षेत्रमा त्यस्तै चुनौती थपेर समग्र विश्वलाई हैरानी थपी दिएको छ ।
यसबाट नेपाल जस्ता देशमा त्रास बढेको छ । अफ्रिकीमुलुक युगान्डाको जिका जंगलमा करिब ७० वर्ष अगाडि पत्ता लागेको यो भाइरस अहिले भने अमेरिकी मुलुकमा महामारीकारुपमा संक्रमित भएपछि चर्चामा आएको हो ।
सन् २०१४ बाट प्रशान्त महासागर पार गर्दै विश्व विचरणमा निस्केको यस भाइरस पहिलोपटक मानिसमा सन् १९५२ मा नाइजेरियामा फेलापरेको हो ।
दक्षिण अमेरिकीमुलुकमा हावागतिमा प्रशारित भइरहेको जिका भाइरस हाल एसियामा नदेखिएपनि केही गरी एसिया प्रवेश गरे यसले सिर्जना गर्ने भयावहप्रति सबैजसो एसियालीमुलुक सचेत देखिएका छन् ।
नेपालमा पनि सरकारले यसबारे सचेतता अपनाउन थालेको छ । मानव आविष्कारलाई चुनौती दिने यस्ताखाले संक्रामक रोग अनेक नाममा विश्वमा देखापर्ने गरेको छ ।
प्लेग, एचआइभी एड्स, डेंगु, स्वाइन फ्लु, बर्डफ्लु, इबोला जस्ता भाइरसको हैरानी व्यहोरेको मानवजगत्मा जिका नयाँ चुनौतीकारुपमा आएको हो ।
विशेषगरी लामखुट्टेको टोकाइबाट एकार्कामा सर्ने गरेको यो रोग यौन सम्पर्कबाट पनि सर्ने तथ्य खुलेपछि झन् कोलाहलको अवस्था बनेको छ ।
असुरक्षित यौनसम्पर्ककै माध्यमबाट सर्ने एचआईभी/एड्स जस्तो रोगको औषधि विकास भएको केही समय नहुँदै त्यसलाई पनि चुनौती दिने गरी जिका भाइरस देखिएको छ । जसकाकारण यतिबेला विश्व स्वास्थ्यमा नयाँ संकट बनेको छ ।
हल्का ज्वरो आउने, आँखामा संक्रमण देखिने प्रारम्भिक लक्षण रहेको यस भाइरसको औषधि र खोपसमेत आविश्कार भएको छैन भने औषधि परीक्षण हुनै दुई वर्ष लाग्ने तथा सर्वसाधारणमा उक्त औषधि पुग्न अरु १० वर्ष लाग्ने चिकित्सकहरुले बताएका छन् । यसले झन् त्रास र चुनौती दुबै थपिदिएको छ ।
मध्यअफ्रिकी देशबाट फैलिएको यो रोग ब्राजिल हुँदै कालोम्बियाका नागरिकमा संक्रमित भइसकेको छ । विशेषगरी गर्भवती महिलामा देखापर्ने यो रोगका कारण नवजात शिशु संक्रमित हुने गरेकाले कतिपय मुलुकले आफ्ना महिला नागरिकलाई केही समय गर्भवती नबन्न अपील गरेका छन् ।
विश्वमा यसबाट बच्न गर्भपतन गर्नेको लामो लाम नै देख्नुपर्यो । नवजात शिशुको विकास नहुने, शरीरको तुलनामा टाउको सानो हुने र मस्तिष्क नै विकसित नहुने यसका लक्षण हुन् ।
विकसित राष्ट्रहरु सावधानीमा जुटेकाबेला नेपाल जस्ता मुलुक चाहिँ के गर्दैछन् त ?
एकार्कामा सर्ने माध्यम लामखुट्टेसमेत भएकाले नेपाल जस्ता देशमा यसको जोखिम अझ बढी हुनसक्ने भएकाले यसको प्रवेश नै रोक्न सबैखाले कदम चालिनु जरुरी छ । –एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्