
काठमाडौं, वैशाख ३० । भारतका शशांक मनोहर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । उनले अब दुई वर्ष आइसीसीको मुख्य जिम्मेवारी सम्हाल्नेछन् ।
आइसीसीको नयाँ नियमअनुसार आइसीसीका वर्तमान वा पूर्वनिर्देशकहरुलेमात्रै उम्मेदवारी दिन पाउँछन् ।
अध्यक्षको उम्मेदवार बन्न प्रत्याशीले कम्तिमा दुईजना निर्देशकको सहमति जुटाउनुपर्नेमा शशांक मनोहरमात्रैले उम्मेदवारी दर्ता गराएपछि उनी निर्विरोध चयन भएका हुन् ।
भारतका प्रख्यात कानुन व्यवसायी मनोहरले भारतीय क्रिकेट बोर्डको अध्यक्षकारुपमा दुई कार्यकाल व्यतित गरिसकेका छन् । शशांक मनोहर आइसीसीको पहिलो स्वतन्त्र अध्यक्ष बनेका हुन् ।
कुनैपनि देशको क्रिकेट बोर्डको कुनैपनि पदमा बहालवाला व्यक्ति अध्यक्ष बन्न नपाउने प्रावधानअनुसार मनोहरले दुई दिनअघिमात्रै भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)को अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
आइसीसीका १० पूर्णसदस्य राष्ट्र, ३८ एसोसिएट राष्ट्र तथा ५७ एफिलीएट राष्ट्रले हालैमात्र नयाँ नियमावली पारित गरेपछि त्यसैको प्रावधानअनुसार अध्यक्ष चयन गरिएको हो ।
‘अन्तर्राष्ट्रिय क्रिकेटलाई ठूला राष्ट्रहरुको पकडबाट बाहिर ल्याउनुपर्छ’ भन्ने मान्यता राख्ने मनोहर नेपाल जस्ता एसोसिएट र एफिलीएट सदस्य राष्ट्रको पक्षमा सकारात्मक छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्