
काठमाडौं, वैशाख २८ । संयुक्त अरब इमाइरेट्स (युएई)ले नेपालमा राजदूतावास स्थापना गरेको छ ।
राजधानीको लाजिम्पाट, पानीपोखरीमा कार्यालय रहेको दूतावासको परराष्ट्रमन्त्री कमल थापा र युएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्लाह बिन जायद अल न्याहेनले मंगलबार संयुक्तरुपमा उद्घाटन गरे ।
यसअघि, भारतको दिल्लीमा रहेको युएईको गैरआवासासीय दूतावासले नेपाललाईसमेत हेर्दै आएको थियो ।
नेपालमा युएईको दूतावास स्थापना भएपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास परराष्ट्रमन्त्री थापाले व्यक्त गरे ।
मन्त्री थापाले सन् २०१० मा नेपाल र युएईको परराष्ट्र मन्त्रालयस्तरीय संयुक्त कमिटी निर्माण भएको स्मरण गर्दै नेपालमा दूतावास स्थापना भएपछि अब सो कमिटीमार्फत् दुई देशका साझा चासोका विषयहरु सम्बोधन गरिने बताए ।
यस्तै, युएईका परराष्ट्रमन्त्री शेख अब्दुल्लाहले नेपालमा दूतावास स्थापना हुँदा यसले दुई देशबीचको पारस्परिक सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
यसअघि, मंगलबारै युएईका परराष्ट्रमन्त्री शेख अब्दुल्लाह र परराष्ट्रमन्त्री थापासहित दुई देशको परराष्ट्र मन्त्रालयस्तरीय छलफल भएको थियो ।
नेपालमा युएईले दूतावास स्थापना गर्दा विशेष गरी युएई जाने नेपाली कामदारका समस्या समाधानमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्