
-अनिल तिवारी, ईमेज
वीरगन्ज, बैशाख २७ । माथिलो तामाकोशी जलबिद्युत आयोजनाका लागि भनेर ल्याइएका करोडौं रुपैयाँ मूल्यका उपकरण वीरगन्जमा एक वर्षयता अलपत्र अवस्थामा छन् ।
रक्सौलबाट भित्र्याइएका उपकरण एक महिनादेखि अलपत्र अवस्थामा रहेका हुन् । यी सामान वीरगन्जको रामगढवा, रजतजयन्ती चोक, सिमराका निजी गोदाम, भन्सार क्षेत्र, सिर्सिया सुक्खा बन्दरगाह एरिया र बहुअरीका सडकमा अलपत्र अवस्थामा देखिन्छन् ।
वीरगन्जमै एक बर्षदेखि ९ वटा ट्रकमा सामान लोड गरिएकै अवस्थामा राखिएका छन् । भारी सामानका कारण गाडीका टायरहरु धसिसके पनि सरोकारवालाले मतलव नगरेपछि ढुवानी ब्यवसायी भने चिन्तित बनेका छन् ।
भाडा र बिलम्ब अवधीको क्षतिको भपाई असुलीका लागि व्यवसायी प्रयासरत रहे पनि सरोकारवालाले वेवास्ता गरेका कारण आफुहरु मारमा परेको वीरगन्जका ढुवानी ब्यवसायी उमेश पचौरी बताउँछन् ।
आयोजनाले मगाएका यि सामान गत वर्ष बैशाख १२ गतेको भूकम्पका वीरगन्जमै अलपत्र परेका हुन् । भूकम्पपछि बाटो र राख्ने स्थानको समस्या देखाउँदै आयोजनाले ती सामान लैजान सकेको थिएन ।
त्यस लगतै भएको नाकाबन्दीले अर्को समस्या थप्यो । आयोजनाले सामान फिर्ता लान भने पनि नेपाल भित्रिसकेपछि समस्या भएका कारण अलपत्र अवस्थामै राखिएको व्यवसायी पचौरीको गुनासो छ ।
योजनाका लागि बिद्युतीय उपकरण, योजना निर्माणमा लाग्ने मेशिन र अरु बिभिन्न खाले सामान आपुर्तीको लागि फेब्रुअरी २०१२ मा माथिल्लो तामाकोशी आयोजनासँग सम्झौता गरेको कम्पनी एण्ड्रिज हाइड्रोले यि सामानहरु पठाएको हो ।
भारतको हरियाणा, प्रिथलाबाट एक बर्ष अगाडी पुनाको एस ई फ्रेड ढुवानी कम्पनीमार्फत् नेपालका लागि सामान पठाइएको हो ।
अहिले भूकम्पको जोखिम कम भइसकेको र मधेस आन्दोलन पनि रोकिएको अवस्थामा समेत सामान निर्यात या आयातकर्ताले कुनै चासो देखाएका छैनन् ।
तामाकोशी आयोजनाले भूकम्पको कारण राख्ने ठाउँ नभएको भन्दै नेपाल भित्रिसकेका सामान लिन आनाकानी गरेपछि भारतबाट सामान लिएर आएका दुई सय वटा ट्रकले अलपत्र अवस्थामा सिमरामै सामान झारेर फर्किएका छन् भने ५० ट्रक बीरगञ्जकै बिभिन्न स्थानमा राखिएको छ । यसतर्फ सम्बन्धित निकायले बेलैमा पहल नगरे ठूलो क्षति हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्