
-हरिविनोद अधिकारी
सरकार परिवर्तन र टिकाउने नाममा एउटा कलाविहीन नाटकको पटाक्षेप भएको छ । एनेकपा माओबादीका अध्यक्ष प्रचण्डको यस नाटकले मुलुकमा जनयुद्धभन्दा पनि नराम्रो गरी मुलुकको लोकतान्त्रिक प्रक्रियालाई थिलथिलो बनाएको छ । सरकार परिवर्तन या अपरिवर्तन एउटा नियमित प्रक्रिया हो र त्यसमा कलाविहीन नाटकको सहारा नै लिनु पर्छ भन्ने थिएन । यसले एमाले र माओवादीमा आउनु पर्ने अन्तरकलह एमाले र काँग्रेसमा सरेको छ ,त्यसैलाई यो कलाविहीन नाटकको रुपमा परिभाषित हुन गएको छ । जसले सहयोग माग्यो र विज्ञप्ति दियो ऊ सरकारको प्रिय रह्यो र सरकारमा नै रह्यो , अनि जसले उसको प्रयासलाई मूर्त रुप दिनका लागि सहयोग गर्यो, ऊसँग प्रतिशोधपूर्ण सम्बन्ध सुरु भयो ।
अहिले ओली सरकार टिकेको छ । संसदबाट नै बनेको थियो र भोलि बन्ने सरकार पनि संसदबाट नै बन्ने छ । तर यो षडयन्त्र र धोखामा अडिएको पहिलो प्रयासले दिने परिणाम लोकतन्त्रको स्वास्थ्यलाई नै अचिन्त्य दुःखद हुने अनुमान गरिएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको शरणमा सरकार परिवर्तन गर्नका लागि एमाओबादी सहयोग माग्न आउँछ । कुनै पनि हालतमा एमालेसँग मिलेर जान नसकिने दोहोरी गाउँछ । काँग्रेसले बहुमतको सरकार कसरी हटाउने भनेर वास्ता गर्दैन । तर जसले बहुमत पुर्याएको हो ,उसैले सरकारका विरुद्धमा सहयोग माग्छ भने र सांसद गणितको पूर्ण संख्या लिएर आएको छ भने त्यहाँँ कुरो अघि बढेको देखिन्छ । काँग्रेसले स्वाभाविकरुपमा आफ्नो नेतृत्वको सरकार हुनुपर्ने भन्यो होला तर कुनै पनि प्रतिपक्षीले सरकार गिराउने कुरामा सहयोग गर्छ भन्नेभने संसारमा भएका लोकतान्त्रिक मुलुकमा सरकार परिवर्तनका लागि त्यो समय कसैले पनि बित्न दिँदैन । झन सरकारमा रहेको प्रमुख सहयोगीले नै सरकार परिवर्तनका लागि संसदको ठूलो दलसँग नै भन्न आयो भने त्यसमा माग बमोजिमको बचन दिने परम्परा हुन्छ । हाम्रो देशमा हालै त्यसो भयो । त्यसो भयो मात्र होइन, एनेकपा माओबादीले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि विज्ञप्ति समेत प्रकाशित गरेर सरकार प्रमुखलाई बुझायो । अनि सरकारमा बसेका व्यक्तिहरुका बिचमा व्यापका छलफल भयो , नयाँ सहमति बन्यो र सरकार बच्यो । यत्ति हो नाटकको एउटा सृङ्खला । तर यसले प्रतिशोधको राजनीतिलाई उग्रता प्रदान गरेको छ र भुसको आगोझैँ नेपाली राजनीतिमा घात प्रतिघातको निरन्तर सृङ्खला सुरु भएको छ । यो सृङखला रोकिएको होइन कि सुरु पो भएको छ ।
माओबादीका बिचमा, एमालेका बिचमा, काँग्रेसका बिचमा र अन्तर दलीय विवादको सृङ्खला सुरु भएको छ । कोही पनि चुपचाप बस्ने छैनन् । सरकारका प्रमुख प्रधानमन्त्री केपी ओलीले भारत जान लाग्नु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण रद्द गरेर र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाएर आफ्नो प्रतिशोध सुरु गरेका छन् । भारत र नेपाली काँग्रेसलाई एउटै डुङ्गामा राखेर तरल राजनीतिको नदीमा बहाना चलाउनु थालेका छन् । आफ्ना विरुद्ध लागेको माओबादीका विरुद्ध होइन । एमाले भित्रका उनका प्रतिस्पर्धी पनि अब उनका प्रतिशोधका निशानामा पर्नेछन् । माओबादी भित्रका महरा, अनन्त प्रभाकरहरु पनि निशानामा पर्नेछन् । वामपन्थी एकताको नाममा नेपालमा फेरि विदेशीहरुको चलखेल बढेको छ । फेरि लोकतन्त्रवादीका लागि अन्य लोकतन्त्रवादी देशहरुको चलखेल सुरु भयो भने ??
एकातिर राष्ट्रिय सहमतिको जप गर्ने र अर्कोतिर महेन्द्रीय पद्धतिको सूत्रपात गर्ने कुराले मुलुक नयाँ भीडन्तमा प्रवेश गरेको छ । यसको प्रत्यक्ष प्रभाव अब सत्य निरुपण तथा मेलमिलाप आयोगका काम कार्बाहीमा पर्ने छ किनभने अदालत र आयोगका बिचमा नयाँ विभाजन जुन सुरु भएको छ न्याय निरुपणका वारेमा । अनि एमाओबादीभित्रैको एकतामा यसले नयाँ कोणबाट प्रतिक्रिया आउन थाल्ने छ । खासगरी एमालेभित्रको अन्तद्र्वन्द्व र माओबादीभित्रको अन्तद्र्वन्द्वले नयाँ स्वरुप ग्रहण गर्नेछ । काँग्रेसभित्रको अन्तद्र्वन्द्वले पनि यसलाई मलजल प्रदान गर्नेछ । विदेशीहरुलाई निम्त्याइएको यस प्रसङ्गमा अब सम्माननीय राष्ट्रपतिको पदीय उँचाइले पनि काम गर्न थाल्नेछ ।
यो सरकार टिक्नु वा नटिक्नु हाम्रो आन्तरिक मामिला थियो तर यसलाई अन्ताराष्ट्रियकरण गर्नाले हुने बेफाइदाले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने छ ।प्रचण्डको अलोकतान्त्रिक सोचले र अदूरदर्शिताले मुलुकलाई फेरि विदेशीको चलखेलको ठाउँ हुन मलजल गरेको छ । कलाविहीन नाटकको परिणामले अस्थिरताको पारदर्शी परिणाम अपेक्षित छ ।
प्रतिक्रिया दिनुहोस्