
काठमाडौं, वैशाख २५ । गत वर्ष वैशाखमा आएको भूकम्पले मानिसको मृत्यु, भौतिक संरचनाको क्षति र पशुधनको नोक्सानीले गरिबीलाई झन् बढाएको एक अध्ययनले देखाएको छ ।
गरिबी निवारण कोषले आफ्ना कार्यक्रम लागू भएका रसुवा, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा गरेको अध्ययनमा भूकम्पपछि करिब १५ देखि २० प्रतिशत घरपरिवार गरिबीको अवस्थामा पुगेको जनाएको छ ।
भूकम्पलगायत प्राकृतिक विपत्को सामना र व्यवस्थापनमा सामुदायिक संस्थाहरुको भूमिकासम्बन्धी अध्ययन प्रतिवेदनमा गरिबीको अवस्थामा पुगेका परिवारको जीवनस्तरमा सुधार ल्याउन कोषले अन्य संस्थाहरुसँग सहकार्य गर्नुपर्ने सुझाव दिएको छ ।
अध्ययन टोलीका प्रमुख विपद् विशेषज्ञ मानबहादुर थापाले कोषले ती विपन्न परिवारलाई माथि उठाउन पशुबिमा कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कोषको कार्यक्रम लागू भएका जिल्लामा स्थापना गरेको घुम्तीकोष परिचालन, सहरी र गाउँको बजारबीच समन्वय, विपद् जोखिम न्यूनीकरणमा ध्यान दिन सकेमा गरिबीको अवस्थामा सुधार लयाउन सकिने अध्ययनको निस्कर्ष छ ।
विपद्ले गरिबीलाई झन् गरिब बनाएकाले विपद् जोखिम न्यूनीकरण नभएसम्म गरिबी निवारण हुन नसक्ने थापाले बताए ।
विपद् जोखिम न्यूनीकरणमा गरिने लगानीभन्दा विपद्पछिको प्रतिकार्य धेरै गुणा महँगो भएकाले यसतर्फ सरकार, गैरसरकारी र दातृ संस्थाहरुले उपयुक्त संरचना र रणनीति बनाउनुपर्ने उनको सुझाव छ ।
हरेक वर्ष नेपालमा प्राकृतिक विपद्बाट औसतमा २०० देखि ३०० को मृत्यु, अढाइ लाख मानिस प्रत्यक्ष प्रभावित र तीन अर्बभन्दा बढी क्षति हुने गरेको छ ।
अध्ययनका निस्कर्ष सार्वजनिक गर्न आयोजित कार्यक्रममा कोषका उपाध्यक्ष युवराज पाण्डले जनताको सहभागिताबिना विकास असम्भव रहेकाले कोषले जनसहभागितामूलक कार्यक्रममा जोड दिएको उल्लेख गरे ।
कोषका कार्यकारी निर्देशक नहकुल केसीले विपद् र गरिबीको विषयलाई कोषले महत्व दिएको बताउँदै गोरखा भूकम्प प्रभावित क्षेत्रका लागि विशेष कार्यक्रम सन्चालन गरिएको जानकारी दिए । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्