
काठमाडौं, बैशाख २५ । पानामा कागजात चुहावट गर्ने स्रोतले कानुन कार्यान्वयन गर्ने निकायसँग सहयोगमा लागि अपिल गरेको छ ।
अहिलेसम्म पहिचान हुन नसकेको पानामा कागजात चुहावट गर्ने स्रोतले आफूलाई कारबाही नहुने शर्तमा सहयोग गर्न कानुन कार्यान्वयन गर्ने निकायसँग अपिल गरेको हो ।
द रिवोल्युशन विल भी डिजिटाइज्ड नामबाट सार्वजनिक गरिएको १८ सय शब्दको बयानमा आफूले अहिलेसम्म कुनै पनि गुप्तचर निकायका लागि काम नगरेको उल्लेख छ ।
पानामा कागजात चुहावट गर्नुको एक मात्र कारण भनेको आयको असमानता नै रहेको उल्लेख गरिएको छ ।
गएको महिना चुहावट भएको पानामा कागजातबाट विश्वका उच्च पदस्थ राजनीतिक तथा कूटनीतिक व्यक्ति, व्यवसायी र धनाढ्य व्यक्तिले कर छलिका लागि विदेशी कम्पनीको प्रयोग गर्ने गरेको खुलासा भएको थियो ।
पानामाको मोस्याक फोनसेका कानूनी फर्मका कागजात चुहावट भएका हुन् । मोस्याकले भने आफूले कुनै पनि गलत काम नगरेको र आफू ह्याकिङको शिकार भएको बताउँदै आएको छ ।
बयानमा जोन डो नामको प्रयोग गरिएको भएपनि स्रोतको लिंक भने दिइएको छैन । द रिवोल्युशन विल भी डिजिटाइज्ड नामबाट जारी बयानमा जोन डोले आयमा रहेको असमानता अहिलेको सबैभन्दा ठूलो समस्या रहेको जिकीर गरेका छन् ।
कानूनी निकायले सक्कल कागजात फेला पारेर त्यसको अनुसन्धान गर्ने हो भने पानामा कागजात मार्फत हजारौंलाई कारवाही गर्न सक्ने उल्लेख छ ।
कानून कार्यान्वयन गर्ने निकायलाई आफूले सक्नेसम्म सहयोग गर्न तयार रहेको ती व्यक्तिले बताएका छन् । साँचो कुरा सार्वजनिक गर्ने जो कोही भएपनि सरकारी कारबाहीबाट माफी पाउनु पर्ने बयानमा उल्लेख छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्