
काठमाडौं, वैशाख २४ । नेपालमा पछिल्लो समय कृषि बिमाले गति लिन थालेको बिमा समितिले जनाएको छ ।
बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले मुलुकमा कृषि बिमाले गति लिन थालेको एवं समितिले कृषि बिमालाई प्राथमिकतामा राखी बिमा कम्पनीहरुलाई जिल्ला तोकेर काम गर्न खटाएको बताएका हुन् ।
आगामी वैशाख ३० र ३१ गते काठमाडौंमा दक्षिण एसियाली देशहरुको नियमनकारी निकायहरुको तेस्रो सम्मेलन एवं अन्तर्राष्ट्रिय बिमा सम्मेलन २०१६ आयोजना हुन गैरहेको छ ।
समितिले यसबारे जानकारी दिन शुक्रबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष केसीले कृषि बिमामा प्रगति भैरहेको दाबी गरेका हुन् ।
उक्त सम्मेलनको अवसरमा दक्षिण एसियाली देशहरुको नियमनकारी निकायहरुको अध्यक्षता नेपालको बिमा समितिका अध्यक्षलाई हस्तान्तरण गरिनेछ ।
सम्मेलनमा बिमाको पहुँच बढाउन बिमा नियमनको भूमिका, जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने विनाशकारी सम्भाव्य जोखिम तथा गत वर्षको भूकम्पले पारेको असर एवं अपनाउनुपर्ने उपायहरुबारे प्रस्तुति रहने छ ।
सम्मेलनबाट विश्व बिमाको बजारमा नेपालको पहिचान हुने, बिमा क्षेत्रमा समसामयिक नयाँ धारणाको पहिचान हुनुकासाथै बिमामा समावेशिताको क्षेत्र तथा सोको कार्यान्वयनको लागि मार्ग प्रशस्त हुने विश्वास समितिको रहेको छ ।
प्रतिक्रिया दिनुहोस्