
कन्चनपुर, वैशाख २४ । महेन्द्रनगरस्थित एक होटेलमा दुईजनाको हत्या भएको विषयलाई लिएर पूर्व–पश्चिम राजमार्गअन्तर्गत् सुडा–लालपुर क्षेत्रमा सडक अवरुद्ध गरिएको छ ।
घटनास्थलमा मृतकका आफन्तलाई जान नदिइ प्रहरीले गुपचुपरुपमा पोस्टमार्टम गर्न खोजेको भन्दै पीडित परिवार र स्थानीयले सडक अवरुद्ध गरेका हुन् ।
होटल व्यवसायी र प्रहरीले मिलेमतोमा घटना लुकाउन खोजेको आरोप पनि आफन्तजनले लगाएका छन् ।
महेन्द्रनगरको गल्ली नम्बर–४ स्थित संगम होटेलमा विहीबार राति होटेलका कामदारद्वय ४५ वर्षीय कृष्णसिंह विष्ट र २० वर्षीय भीम रोकायाको हत्या भएको थियो भने ४२ वर्षीय पदमराज जोशी घाइते भएका छन् । घाइते जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
कन्चपुरका प्रहरी प्रमुख तुलसीप्रसाद अधिकारीले हत्याबारे छानबिन भइरहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्