
काठमाडौं, वैशाख २४ । संसदमा आर्थिक वर्ष २०७३/०७४ का लागि सरकारले पेश गर्ने विनियोजन विधेयकको तयारीबारे पूर्वबजेट छलफल शुरु गरिएको छ ।
संसदको आजको बैठकमा सभामुख आनेसरी घर्तीमगरले दलीय आधारमा सांसदहरुलाई बोल्न समय दिएकी छन् ।
प्रस्तावित बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै कांग्रेससहितका विपक्षी सांसदहरुले न्यून आर्थिक वृद्धिदर भएको अवस्थामा सरकारले अत्यन्त महत्वाकांक्षी बजेट ल्याउन लागेको भन्दै आलोचना गरेका छन् ।
उत्पादनमुखी बजेट ल्याई लगानीमैत्री वातावरण बनाउन उनीहरुको सुझाव छ । सामाजिक सुरक्षा खर्चको व्यवस्थित वितरण हुन सकेन भने त्यसबाट लक्ष्य हासिल हुन नसक्ने उनीहरुको भनाइ छ ।
सत्तारुढ एमालेसहित सत्तापक्षीय दलका नेताहरुले भने अर्थमन्त्रीले संसदमा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकता सकारात्मक रहेकाले त्यसले मुलुकको अर्थतन्त्रमा आशालाग्दो सुधार आउने दाबी गरेका छन् ।
बजेटले विकासका पूर्व शर्त मानिने सडक, विद्युत र संचारमा महत्व दिएर अगाडि बढ्नुपर्ने उनीहरुको सुझाव छ ।
एमाले सांसद एवं पूर्व प्रधानमन्त्री माधव नेपालले बजेटले बायुपंखी घोडाको गतिमा निश्चित समयमा राम्रो सुधार ल्याउने दाबी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्